Popular Posts

Followers

‘द काइट रनर’का पासविक कथाहरु

Friday, February 17, 2012

  • राजेश नतांश
कथा काबुलको वाहिर अकबर खान जिल्लाको हो । सोभियत संघले अफगानी राजाको सत्ताच्यूत गरेपछि कथा सुरु हुन्छ । कथाको प्रमुख पात्र अमिर पास्तुन (अफगानका बहुसंख्यक जाति) केटा हो र उसको साथी(नोकरको छोरा) हजारा (मंगोल वर्णका मुस्लिम जाति, अल्पसंख्यक जाति) केटा हो । उनीहरुका दैनादिन क्रियाकलापहरु चङ्गा लडाइँमा भाग लिदै व्यतित भइरहेको हुन्छ । उनीहरु दुवै मातृस्नेहबाट बञ्चित हुन्छन् । अमिरका बाबा धनाढ्य व्यापारी हुन्छन्, उनलाई कथाको प्रमुख पात्र अमिरले ‘बाबा’ भनेर सम्बोधन गरेको छ । उनी हसन र अमिर दुवैलाई माया गर्छन् । तथापि उनी अमिरको कमजोरी र डरपोक मनस्थितिको जहिल्यै आलोचना गर्दछन् । यता बाबाको साथी रहिम खाना भने अमिरलाई मन पराउँछन् । उनी अमिरको मनोभावना बुझ्ने र प्रतिभालाई चिन्ने भएकोले उनीहरु साथी जस्ता हुन्छन् । असिफ कुख्यात पीडक हुन्छ । ऊ समुदायमा हजारा केटा पास्तुनीसँग मिलेर बसेको मन पराउँदैन । अमिर र हसनको दोस्ती टुक्र्याउन चाहन्छ । एकदिन, ऊ अमिरलाई काँडाको औंठीले हान्न हात सोझ्याउँछ तर हसन साहसिक तरिकाले त्यसको प्रतिकार गर्छ । गुलेली आँखा फुटाइदिने चेतावनी दिन्छ । असिफ पछाडि हच्किन्छ तर कुनैदिन बदला लिने चेतावनी दिन्छ ।


हसन चट् भएको चङ्गा समात्न सिपालु हुन्छ । ऊ चङ्गालाई नहेरिकन कहाँ खस्छ भनेर थाहा पाउने हुन्छ । एकदिन स्थानीय रुपमा आयोजित ‘चङ्गा चट्’ प्रतियोगिता अमिरले जित्छ । हसन "For you, a thousand times over." भन्दै चङ्गा समात्न दौडन्छ । तर दूर्भाग्यवश हसन चङ्गा समातेपछि असिफको जालोमा फस्छ । उसले अमिरले चट् पारेको चङ्गा माग्छ । हसन अमिरले खसालेको चङ्गा दिन इन्कार गर्छ । असिफ उसलाई पाठ सिकाउने निर्णय लिन्छ । उसले हसनलाई निर्घात कुटपीट गर्छ र मलद्वारमा बलात्कार गरेर रगतपच्छे बनाइदिन्छ । यता, अमिर मुकदर्शक बन्छ, ऊ धेरै डराएको हुन्छ । असिफको बन्धनबाट हसनलाई छोडाउन विफल भएकोमा अमिर पतित र आत्मनिष्ठूर बन्छ । आफ्नो लागि ज्यान दिने, उसका सबै निर्देशनहरुका परिपालन गर्ने हसनलाई बचाउन नसकेकोमा ऊ भित्रभित्रै कुडिन्छ । आफ्नो नामर्दीपना पर्दाफास हुने डर, खिन्नता तथा बाबाको छविमा दाग लाग्ने गुप्त डरले त्यो घटना कसैलाई सुनाउँदैन । त्यसपछि अमिर हसनसँग दूरी बढाउन विवश हुन्छ । बाबाले हसनलाई गरेको मायाभाव र कृतज्ञताप्रति एकप्रकारको इष्र्या भाव राख्छ । त्यसैले ऊ बाबाको त्यो माया र कृतज्ञता सधैको लागि मेटाइदिन योजना बनाउँछ ।

अमिर आफ्नो जन्मदिनमा पनि पतितपनाले भरिन्छ र हसन र उसका बाबा(अली)ले दिएको उपहारप्रति रमाउन सक्दैन । त्यो एकान्तिक समयमा रहिम खानले दिएको रातो डायरीमा कथाहरु लेखिरहन्छ । हसनलाई आफ्नो घरबाट डाँडा कटाउन उसको ओछ्यानमुनि महँगो घडी र केही रुपैयाँ पैसा लुकाइदिन्छ ताकि बाबाले उसलाई घरबाट निकालीदिऊन् । यता आफूले गर्दै नगरेको गल्तीमा पनि हसनले आत्मसमर्पण गर्छ । आफूले ती सामान चोरको भनेर अमिरलाई दोषमुक्त पारिदिन्छ । बाबा हसनले चोरी गरेको थाहा पाएर पनि उसको दोष माफ गरिदिन्छन् । त्यो परिदृश्य एकदमै दुःखदायी हुन्छ । बाबा हसन र अलि विषम दुःखमा पर्छन् कारण उनीहरु ४० वर्षभन्दा बढी समय बसेका हुन्छन् । अलिलाई आफ्नो छोरो बलात्कृत भएको, अमिरसँग खटपटी मच्चिएको थाहा हुन्छ तर ति अभिव्यजनाहरुलाई उनी छायाँमा पार्छन् र घरबाट निस्किन जिद्दी गर्छन् ।
पाँच वर्षपछि सोभियत संघको अफगानस्तानमा आक्रमण पछि अमिर र उनका बाबा पेशावर, पाकिस्तान हुँदै क्यालिफोर्निया पुग्छन् र विलासी जीवन सुरुवात गर्छन् । अमेरिकामा सेटल हुन बाबा ग्यास स्टेशनमा काम गर्छन् र अमिर चाहीँ स्थानिय सामुदायिक स्कुलमा पढ्न थाल्छ र आफ्नो लेखकीय क्षमतालाई निर्खान थाल्छ । अमिर २० वर्षको उमेरमा हाइस्कुलबाट ग्राजुएसन गरेपछि बाबासँग मिलेर प्रत्येक आइतबार सेकेड ह्याण्ड मार्केटको काम सुरु गर्छ । सन जोसेमा उसले मित्रका रुपमा सोराया ताहेरी र उनका बुवा जनरल ताहेरीलाई भेट्टाउँछ । जनरल ताहेरी कुनै समय (राजा अपदस्त हुनुभन्दा अघि) आफगानस्तानका उच्च पदस्थ अफिसर थिए । उनीसँगको भेटघाटसँगै उसको साहित्यिक यात्रा पनि फल्दै–फूल्दै, वृद्धिहुँदै जान्छ । यता, अमिरका बाबा दिनानुदिन अशक्त, असाहय र कमजोर हुँदै जान्छन्, अमिरले सोरायाप्रतिको आफ्नो भावना बाबालाई भनेपश्चात् उनी जनरल ताहेरीलाई छोरीको हात माग्छन् । जनरल ताहेरीकी छोरी पहिल्यै विवाह भइसकेको हुन्छ, उनी छुट्टिएर बसेकी हुन्छिन् । जनरल ताहेरी छोरीको विवाह प्रस्तावले खुसामत हुन्छन् र छोराछोरीको विवाह धुमधामसँग गरिदिन्छन् । विवाह भएको केहीसमयमा बाबाको निधन हुन्छ ।
अमिर र सोराया वैवाहिक उत्सर्गमा रमाउँदै हुन्छन् तर उनी बच्चा जन्माउन असर्थ हुन्छन् । गुप्त बाँझोपनाले उनीहरुलाई गाँजेको हुन्छ । अमिर आफूलाई सफल उपन्यासकारका रुपमा उभ्याउँछ । उपन्यासबाटै आएको आम्दानीले उसले अपार्टमेन्ट खरीद गर्छ, सोराया शिक्षिका बन्छिन् ।

विवाह भएको १५ वर्षपछि अमिरले रहिम खानको फोन प्राप्त गर्छ जो बिरामी भएर अन्तिम अवस्थामा हुन्छन् । रहिम खान अमिरलाई "There is a way to be good again." भन्दै पेशावर बोलाउँछन् । अमिर पेशावर जान्छ । पेशावरमा रहिम खानबाट अली र हसनको नियति थाहा पाउँछ । अली एक साम्प्रदायिक हिंसामा ल्याण्डमाइनबाट मरेको हुन्छ । हसनले फर्जाना नामकी केटी विवाह गरेको हुन्छ । उसको सोहरब नाम गरेको छोरा पनि हुन्छ । उनीहरु बामियान भन्ने गाउँमा बसेका हुन्छन् तर रहिम खानको विशेष अनुरोधमा अमिरको घरमा फर्किआएका हुन्छन् । उनीहरु त्यहाँ बसिरहँदा हसनीका ‘भागौटी आमा’ सानाउबार उसलाई खोज्दै आइपुगेकी हुन्छिन् । उनी चारवर्षपछि पश्चतापको अग्नीमा जल्दै मर्छिन्, हसनले उनलाई माफ गरिदिन्छ । रहिम खान पाकिस्तान फर्किआएको एक वर्षपछि तालीबानीहरुले हसनलाई त्यो घर छोड्न धम्की दिन्छन् तर हसनले त्यो कुरालाई इन्कार गर्छ । त्यसको बदला ऊ श्रीमतिसँगै एन्काउन्टरमा मारिन्छ ।
रहिम खानले यौटा गुप्त रहस्योउद्घाटन गर्छन् । अमिरलाई हसन अलीको छोरो नभएको बताउँछन् । अली नपुसङ्क हुन्छ । हसन अमिरको बाबाको छोरा हुन्छ । उसको सौतेनी भाइ पनि हुन्छ । अमिरका बाबाले अलीकी श्रीमतिसँग अपाच्य सम्बन्ध राख्दै आएका हुन्छन् । समाजमा आफ्नो व्यक्तित्वमा दाग लाग्ने डरले उनले ठूलो रहस्यलाई गर्भमै तुहाएका हुन्छन् । अमिर छाँगाबाट खसेको हुन्छ, हसन आफ्नो सौतेनी भाइ हो भन्ने कुराले उसलाई त्राहीमाही परिदिन्छ । एक्कासी ऊ पश्चातापको रागमा सेकिन थाल्छ ।

अन्त्यमा रहिम खानले अमिरलाई हसनको छोरा सोहरबलाई काबुलमा रहेको अनाथालयको च्याम्बरबाट छुटाएर ल्याउन आग्रह गर्छन् । अमिर सौतेनी भतिज सोहरबलाई छुटाउन काबूल जाने निर्णय लिन्छ । जहाँ तालीबानीहरुले अखडा जमाएर बसेका हुन्छन्, जनताहरु भोक, युद्ध र दण्डहीनताको मुग्रोले खाँदिएर सिन्की बनेका हुन्छन् । ऊ ट्याक्सीमा फरिद नाम गरेको ड्राइभरसँग अफगान यात्रामा निस्कन्छ । एवम् फरिदको दाजुको घरमा पाहुना भएर बस्छ । अनाथलयमा सोहरबलाई खोज्न र तालीबानी क्षेत्रमा छिर्न उसले नक्कली दाह्री बनाउँछ तर सोहरब सो अनाथलयमा हुँदैन । तालीबानीहरुले पैसामा बालिकाहरुलाई किनेर लगेझैँ सोहरबलाई पनि यौटा मान्छेले किनेर लगेको हुन्छ । अनाथालयको निर्देशकले अमिरलाई फुटबल म्याचमा जान र त्यहाँ त्यो मान्छेलाई भेट्न सल्लाह दिन्छ । अमिरले सो मान्छेलाई भेट्टाउँछ जो पीडक असिफ हुन्छ । अमिरले नक्कली दाह्री लगाए पनि असिफले चिन्छ तर अमिरले अली, हसन र बाबाको बारेमा कुरा ननिकालेन्जेल उसलाई चिन्न सक्दैन । असिफले सोहरबलाई आफ्नो घरमा आइमाईको लुगा लगाएर नचाउन लगेको हुन्छ । उसले सोहरबलाई बलात्कार गर्ने गरेको सोहरबको "I'm so dirty and full of sin, The badman and other two did things to me." आशय व्यक्त गरेपछि पुष्टि गर्छ ।

असिफ सोहरबलाई छोडन तयार हुन्छ तर त्यसको बदला लाप्पा खेलेपछि मात्र । उनीहरु घमासाम लडाइँ गर्छन् । अमिर पूर्णतः घाइते हुन्छ । सोहरबले गुलेली हानेर असिफको आँखा फुटाइदिन्छ । अमिरलाई असिफको बन्धनबाट छुटाइदिन्छ, त्यहाँबाट तिनीहरु कुलेलम ठोक्छन् । अस्पतालमा अमिरको सघन उपचार हुँदै गर्दा ड्राइभर फरिदले अनाथाश्रमका मान्छे खोज्न थाल्छ तर दूर्भाग्यवश उसले कसैलाई भेट्टाउँदैन । सोहरबलाई अमिरले अमेरिका लगेर धर्मपुत्र बनाउन चाहेको कुरा बताउँछ । र कहिल्यै अनाथाश्रममा नराख्ने प्रतिबद्धता जनाउँछ । अमेरिकी अधिकारीहरुले सोहरबलाई अनाथ भएको प्रमाण पेश गर्न माग्छन् । ऊ सोहरबलाई अनाथ भएको प्रमाणित गर्न अस्थायी रुपमा आश्रममा राख्न खोज्छ । तर सोहरबले अनाथाश्रमजस्तो नर्कमा जानुपर्ने ठानेर आत्महत्या गर्न खोज्छ । अन्त्यमा विभिन्न सोर्सफोर्स लगाएर सोहरबलाई अमेरिका लगेरै छाड्छ । जहाँ उसले आफ्नो श्रीमति सोरायालाई सोहरबको परिचय गराउँछ, उनले सोहरबलाई आफ्नो पुत्र बनाएर अनेकन सपना सजाइसकेकी हुन्छिन् । तर सोहरब सोरायालाई हेरेर निशब्द बन्छ । वर्षौदेखि महिलाको सामिप्यता नपाएको सोहरब एकप्रकारको अप्ठ्यारोपनाले सेकिन्छ । अमिरले सोहरबलाई हसनसँग चङ्गा उडाउँदाका अनुभवहरु सुनाउँछ । सोहरब असन्तुलित हाँसो हाँस्छ । अमिर सोहरबका लागि चङ्गा समात्न "For you, a thousand times over." भन्दै दौडन्छ ।

२० लाखप्रतिभन्दा बढी बिक्री भइसकेको खालिद हुसेनीको यो उपन्यासले साउथ अफ्रिकन बोइक जस्ता प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ । समालोचकहरुले यो उपन्यासलाई शक्तिशाली..विनाशक, आधुनिक अफगानस्तानको चलिरहने पोट्रेट चित्र भनेर समालोचना गरेका छन् । यो ५ वर्षदेखि द न्यूर्योक टाइम्स बेस्ट सेलर लिस्टमा परेको छ र ५५ वटा बढी भाषामा अनुवाद भएको छ । तथापि द काइट रनले तालिबानीहरुलाई पश्चिमी परिभाषामा फासिस्ट, लागुपदार्थको दुरुपयोगी र परपीडकको रुपमा चित्रण गरेको भन्दै सर्वत्र आरोप खेपेको छ । यो उपन्यासलाई चुनौतिदिने किताबका रुपमा लिइन्छ । कतिपय पुस्तकालयहरुमा यसलाई आक्रमक भाषा भएको, अश्लिल व्याख्या गरिएको र सबै उमेर समुहलाई पढ्न नसुहाउने भनेर पुस्तकसंग्रहबाट हटाउन प्रयास पनि गरिएको बताइन्छ । अफगानी सरकारले यसबाट बनेको फिल्मलाई पनि प्रतिबन्ध लगाएको छ । 



Read Post | Comments

महिला शौचालय नहुँदा

Friday, February 03, 2012

भनिन्छ, विद्यालय ज्ञान पाउने मन्दिर हो जहाँ जातपात र लिङ्गबीच कुनै विभेद हुँदैन । उक्ति र भनाइमा जे भए पनि ज्ञान पाउने मन्दिर विद्यालय लैङ्गिक विभेदमुक्त हुन भने सकेका छैनन् । विद्यालयमा शिक्षा दिने तरिका, बसाइ, प्रोत्साहन गर्ने शैली र सुविधालगायतमा अझै पनि लैङ्गिक विभेद कायमै छ । छात्राका लागि छुट्टै शौचालयसमेत नबनाइदिँदा धेरै छात्रा अझै पनि विद्यालय जान सकेका छैनन् । आएका पनि विद्यालय तह पूरा नगरी बीचमै कक्षा छोड्न बाध्य छन् । उदाहरणका लागि रूपन्देहीका सामुदायिक विद्यालयलाई लिऊँ । जहाँ ३० प्रतिशत विद्यालय शौचालयविहीन छन् । छात्रामैत्री अर्थात् छात्राका लागि छुट्टै शौचालय त मुस्किलले १५ प्रतिशत मात्रै छन् ।
शारीरिक असहजता र सामाजिक लोकलाजका कारण खुला रूपमा दिसापिसाब गर्नका लागि केटाभन्दा केटीमा बढी समस्या हुने गर्छ । खुला रूपमा दिसापिसाब गर्ने प्रचलन रहेका रूपन्देहीका ग्रामीण भेगका धेरै विद्यालयले यो कुरा बुझ्न सकेका छैनन् । शौचालय भएका विद्यालयमा पनि छात्राका लागि छुट्टै शौचालय बनाइएका छैनन् । शौचालय नभएपछि विद्यालय आएका छात्रा दिसापिसाब गर्न कहाँ र कसरी जाने भन्ने समस्यामा छन् । सरस्वती निमावि सिक्टहनकी कक्षा आठकी विद्यार्थी रीताकुमारी गुप्ता भन्छिन्, ‘केटाजस्तो जहाँ पायो त्यहाँ बस्न पनि मिल्दैन । नजिकमा रूख र झाडी पनि छैन । विद्यालयमा शौचालय नै नभएपछि हामीहरूलाई साह्रै समस्या पर्छ ।’ शौचालय नभएपछि विद्यालय आएदेखि धेरैजसो दिसापिसाब च्यापेर बस्ने र नसके कक्षा छोडेरै घर जाने गरेको उनले सुनाइन् ।

विद्यालयमा शौचालय नहुने र नजिकमा शौच गर्न मिल्ने स्थान पनि नहुने । यही कारण पनि रूपन्देहीका धेरै केटी अझै पनि विद्यालय आउन सकेका छैनन् । विद्यालय आएकामा पनि महिनावारी सुरु भएपछि बीचमै कक्षा छोड्ने र नियमित विद्यालय नआउने समस्या बढी छ । विद्यालयमा शौचालय नभएकै कारण गाउँका साफिया, मारिया, गुडिया, सलमा, रीतालगायतका १३ जना साथी कक्षा पाँचपछि पढ्न नगएको सिक्टहनको सुक्रौलीकी सामाजिक कार्यकर्ता जानकी हरिजनले बताइन् । अरू समयमा जसोतसो निर्वाह गरे पनि महिनावारीको समयमा रगतको व्यवस्थापनका लागि कपडा फेर्नुपर्ने, पटक–पटक सफाइ गर्नुपर्ने र सुरक्षित शौचालय चाहिने भएकाले विद्यालयको पढाइ बिगारेर घरमै बस्नुपरेको अधिकांश छात्रा गुनासो गर्छन् । प्रगति निमावि रूपन्देहीकी कक्षा सातकी छात्रा निशा खान छात्राका लागि छुट्टै शौचालय नभएकाले महिनावारीमा सबैजसो छात्रा विद्यालय नआउने बताउँछिन् । ‘परीक्षामा मात्र जसोतसो आउँछौँ, अरू बेला खुल्ला ठाउँमा शौच गरे पनि महिनावारीमा पटकपटक शौचालय जानुपर्ने भएकाले पढाइ छुटे पनि घरमै बस्छौँ, विद्यालय जाँदैनौँ,’ निशाले भनिन् ।

छात्रा शौचालय नभएकै कारण महिनावारीको समयमा महिनामा चार दिन विद्यालय नआउँदा मात्रै छात्राहरूको वर्षमा झण्डै एक महिना पढाइ छुट्ने गरेको छ । यसले गर्दा छात्राहरूले बीचमै पढाइ छोड्ने, अनुत्तीर्ण हुने, प्रतिस्पर्धामा पछाडि पर्ने गरेका छन् । यति मात्रै होइन, समग्रमा यस्ता विद्यालयका छात्राकोे शैक्षिक गुणस्तर नै छात्रको तुलनामा धेरै पछाडि रहेको शिक्षकहरूको समेत अनुभव छ । सिक्टहन निमावि सिक्टहनका प्रधानाध्यापक दूधनाथ कुँवरका अनुसार नियमित विद्यालय आउन नसकेकै कारण छात्राको बारम्बार पढाइ छुट्ने गरेको छ । ‘यसले गर्दा उनीहरूले प्रायः राम्रो स्थान ल्याउन सक्दैनन्, सानो कक्षामा राम्रा रहेका विद्यार्थी पनि ठूलो कक्षामा पुग्दा पढाइमा पछाडि धकेलिँदै जान्छन्,’ उनले भने ।
छात्रा शौचालयको समस्या बढी उठेपछि दुई वर्षअघि जिल्ला शिक्षा कार्यालयले छात्रा पढाउने दर २० प्रतिशतभन्दा कम भएका तथा कक्षा छोड्ने दर बढी भएका रूपन्देहीका दक्षिणी भेगका २३ गाविसका ४८ विद्यालयमा अध्ययन नै गरेको थियो । अध्ययनमा विद्यालयमा छात्रामैत्री शौचालय नहँुदा छात्राहरू विद्यालय नआउने र आए पनि नटिक्ने गरेको तथ्य भेटिएको छ । त्यसपछि ती विद्यालयमा छात्रामैत्री शौचालय बनाउने र छात्रामैत्री विद्यालय बनाउन अभियान थालिएको कार्यालयका उपसचिव तथा छात्रा शिक्षा संयोजक थानेश्वर ज्ञवालीले बताए ।
विद्यालयमा छात्रामैत्री शौचालय नभएकै कारण पनि विद्यालयमा केटीहरूको पहुँच नपुगेको, बीचमै कक्षा छोडेको र पढाइमा नियमितता नभएको भन्दै महिला हिंसाविरुद्धको वर्षको अवसरमा राज्यले सन् २०१० मा छात्रामैत्री शौचालय बनाउने अभियान नै थालेको थियो । जसअन्तर्गत रूपन्देहीका ६९ सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय बनाइएका छन् । छात्रामैत्री शौचालय भएपछि ती विद्यालयमा सकारात्मक लक्षणसमेत देखिएको छात्रा शिक्षा संयोजक ज्ञवालीको अनुभव छ । बढेको छात्राको सङ्ख्या र नियमिततालाई देखेर यो वर्ष पनि शौचालय नभएका विद्यालयमा शौचालय बनाउने र भएकामा छात्राका लागि लुगा फेर्न मिल्नेगरी छुट्टै शौचालय बनाउन अभियान थालेको उनले जनाए ।
शौचालय बनाउने अभियान नै थाले पनि रूपन्देहीका करिब ३० प्रतिशत विद्यालय अझै पनि शौचालयविहीन छन् । शौचालय भएकामध्ये २० प्रतिशतमा मात्र छात्रामैत्री शौचालय बनेका छन् । छात्रामैत्री बने पनि कतिपयको व्यवस्थापन नहँुदा प्रयोगविहीन भएका छन् । यसले गर्दा ग्रामीण क्षेत्रका धेरैजसो छात्रा अझै पनि महिनावारीको समयमा विद्यालय जान सकेका छैनन् । यसले गर्दा अपेक्षित रूपमा केटीलाई विद्यालय ल्याउन र आधारभूत तह उत्तीर्ण नगरी विद्यालय छोड्ने दर घटाउन र बीचमै कक्षा छोडेकालाई पुनः विद्यालयमा ल्याउन नसकिएको जिल्ला शिक्षा कार्यालयको स्वीकारोक्ति छ ।

रूपन्देहीमा जस्तै नेपालका अन्य जिल्लामा पनि छात्रामैत्री शौचालय नहुँदा छोरीहरू विद्यालय नआउने र नटिक्ने समस्या छ । दिसापिसाब च्यापेर बस्दा स्वास्थ्यमा असर पर्ने सम्भावना पनि त्यत्तिकै छ । यसको अध्ययन गरेका महिला सभासद्हरू छात्रामैत्री शौचालय नहुने हो भने सबै छोरीको पहुँचमा शिक्षा पु¥याउन नसकिने ठोकुवा गर्छन् । यही ठोकुवासहित सन् २०१० मा विद्यालयमा लैङ्गिकमैत्री शौचालय बनाउन दबाब दिएर विद्यालयमा लैङ्गिक विभेद रोक्ने अभियान थालेको उनीहरू बताउँछन् । सभासद् राधा ज्ञवालीले पटकपटक दबाब दिएर यो वर्ष पनि विद्यालयलाई लैङ्गिकमैत्री बनाउन सबै विद्यालयमा छात्रा शौचालय बनाउन योजना नै पारित गराएको बताइन् । ‘योजना त पारित भयो छात्राहरूलाई विद्यालयमा टिकाउन अब छात्रा शौचालयको निर्माण र सञ्चालन कसरी हुन्छ त्यसको अनुगमन गर्नुपर्नेछ,’ उनले भनिन् । लैङ्गिक विभेद अन्त्य मात्र होइन विद्यालय सुधार कार्यक्रमअन्तर्गत राखिएको छात्रामैत्री शौचालयलाई व्यवहारमा कार्यान्वयन गर्न दाता र शिक्षाविद्हरूले पनि दबाब दिनुपर्छ । नत्र सन् २०१५ सम्ममा न त सबैको पहुँचमा शिक्षा पुग्नेछ न त ज्ञान पाउने मन्दिरमा लैङ्गिक विभेद घट्नेछ ।
Read Post | Comments (1)

इटली (Italy) बन्दैछ इटहरी

Thursday, January 26, 2012

  • टेकनाथ सापकोटा
सहरी क्षेत्रको तीव्र विकास हुँदै गरेको विकासोन्मुख देश नेपालका विभिन्न बजार केन्द्रहरु क्रमशः आज सहरीकरणतर्पm उन्मुख हुँदै गएका छन । यसै क्रममा २०५३ सालको माघ महिनामा तत्ककालीन श्री ५ को सरकारको निर्णय अनुसार नगरपालिकामा रुपान्तरण भएको इटहरीले २०५४ साल श्रावण महिना देखि सहरी सेवा प्रवाहको शुरुवात गरी हाल एक तीव्र सहरीकरण भएको नगरको रुपमा परिचित रहेको छ । ४२ दशमलव ३७ हेक्टर क्षेत्रफलमा पैmलिएर रहेको यो नगर पूर्वाञ्चलको व्यापारिक केन्द्रको रुपमा विकसीत हुँदै गएको छ । २०४८ सालमा २१ हजारको हाराहारीमा मानिस बसोबास गर्ने यस स्थानलाई २०५८ सम्म आइ पुग्दा ४१ हजार मानिसले उचित बासस्थानको रुपमा लिएको र पछिल्लो २०६८ को जनगणनाको आधारमा यो नगर ८० हजार नगरबासीको साझा नगरको रुपमा स्थापित भएको छ ।

भौगोलिक हिसाबले समथर भूमी भएको इटहरी समद्री सतहबाट ११६ देखि १६४ मिटरसम्मको उचाईमा रहेको छ भने यहाँको अधिकांस जमिन कृषि उर्वर जमिनको रुपमा रहेको भए पनि पछिल्लो सहरीकरणको लहरसँगै आवास प्रयोजनका लागि यहाँको भूमी अधिकतम प्रयोग हुन थालेको छ । पूर्वमा बुढी खोला मोरङ जिल्ला, पश्चिममा हर्दिया खोला हाँसपोसा र पकली गाबिस सुनसरी, उत्तरमा चारकोसे झाडी धरान नगरपालिका सुनसरी, तथा दक्षिणमा खनार र एकम्बा गा.वि.स. सुनसरीले घेरिएर रहेको इटहरी पूर्व पश्चिम र उत्तर दक्षिण दौडिएका राष्ट्रिय राजमार्गले आपसमा मिलनविन्दू बनाएर गएको स्थानमा रहेको छ । जम्मा नौ वटा वडामा विभाजित यो सहर भौतिक पूर्वाधार निर्माणमा नै लगानीलाई केन्द्रिकृत गरेको अवस्थामा रहेको छ । विभिन्न २१ जातजातिको बसोबास रहेको इटहरी मिस्रित जातजातिको साझा थलो हो । शिक्षा, स्वास्थ्य, रोजगारको सहज पहुँच भएको सहरको रुपमा पनि यो सहरलाई लिन सकिन्छ । इटहरी बाट १८ किलोमिटर उत्तरमा रहेको धरानमा विज्ञान, इन्जिनियरिंङ तथा व्यवस्थापन लागायत अन्य विषयको स्नातक तथा स्नातकोत्तर सम्मको शिक्षा इटहरीमा नै बसेर लिन सकिन्छ भने २२ कि.मि. दक्षिणमा रहेको विराटनगर पनि स्नात्तकोत्तर सम्मको शिक्षा हासील गर्न सकिने स्थानको रुपमा रहेको छ । त्यसै गरी पछिल्लो विकास क्रमसँगै स्नातक तथा स्नाकोत्तर तह सम्मको उच्च शिक्षा प्रदान गर्ने गरी इटहरीमा नै पनि सामुदायिक तथा निजी शैक्षिक संस्थाहरु सञ्चालनमा रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी अञ्चल अस्पतालको सेवा इटहरीले सहजै लिन सक्दछ भने इटहरीसँगै जोडिएर विराटनगर सम्म पैmलिएको औद्योगिक करिडरले हजारौको संख्यामा रोजगारीको अवसर प्रदान गरिरहेको छ ।
पूर्व पश्चिम तथा उत्तर दक्षिण राष्ट्रिय राजमार्गको मिलनविन्दूमा रहेको सहर इटहरीबाट नेपाल भरी स्थल मार्गबाट यात्रा गर्नका लागि सार्वजनिक यातायातको साधनको सहज पहुँच रहेको छ भने १८ कि.मि.को दूरीमा रहेको विमान स्थलको प्रयोग गरी पूर्वी पहाडका विभिन्न स्थान र काठमाण्डौको यात्रा गर्न सकिन्छ जहाँबाट दैनिक विभिन्न जहाज कम्पनीले लगभग २५ वटा उडान भर्ने गर्दछन । यातायातको सहज पहुँच भएबाट यो सहर बसोबास योग्य सहरको रुपमा स्थापित हुँदै गएको तथ्य यहाँको तीव्र जनसंख्या वृदिदरले पनि पुष्टि गर्दछ । यस आधारमा बसोबास योग्य सहर यसको प्रमुख विशेषता रहेको छ भने विस्तारीत औद्योगिक करिडरले सिर्जना गरेको रोजगारीको अवसरले रोजगार मुलक सहरको रुपमा पनि इटहरीलाई लिन सकिन्छ । त्यसैगरी मिश्रित जातजातिको थलोको रुपमा रहेको इटहरी जन परिचालन र सहभागिताको सहरको रुपमा समेत स्थापित हुँदै गएको छ । यहाँका अधिकांस आर्थिक भौतिक पूर्वाधार विकास कार्यहरु स्थानीयबासीको प्रत्यक्ष र सक्रिय सहभागितामा हुने गरेकाले नै यहाँको भौतिक पूर्वाधार विकासमा तीव्रता रहेको छ । स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले नगरबासीको मागलाई सम्बोधन गर्नका लागि सदैव स्रोत अभाव रहेको कुरा व्यक्त गरिरहेको छ भने जन सहभागितामा सञ्चालन गरिने भौतिक पूर्वाधारका कार्यक्रमहरुको लामै सूची नगरपालिकामा पालो पर्खाइमा बसीरहेका छन । यसरी हेर्दा यातायातको सहज पहुँच, रोजगारीको अवसर तथा सक्रिय जन सहभागिता नगरका प्रमुख विशेषताका रुपमा रहेका छन् । अर्को लुकेर बसेको इटहरीको विशेषतामा पूर्वाञ्चल पर्यटनको आधार क्षेत्रको रुपमा समेत इटहरी रहेको छ । यसको पुष्टि चाहे काव्यको सिर्जनाका लागि तयार गरिएको काव्यवाटिका होस् वा सीमसार तथा पार्कको रुपमा स्थापित गरिएको तालतलैया क्षेत्र होस या त इटहरीमा बढदै गएको होटल व्यवसाय र यहाँबाट यात्रा गर्ने र इटहरीमा रात बसी अन्य क्षेत्रको भ्रमण गर्ने जनसंख्या होस् सबै पर्यटनको विकासले निम्त्याएको पूर्वाधारहरु हुन । इटहरीबाट पूर्वमा इलामको चिया बगान हुँदै भारतको दार्जेलिङ तथा सिक्किम सम्म, उत्तरमा भेडेटार, धनकुटा, तेह्रथुम, संखुवासभा तथा गुराँसको राजधानी तिनजुरे मिल्के सम्मको दृश्यावलोकन गर्न तथा पश्चिममा कोशीटप्पु वन्य जन्तु आरक्षणको अवलोकन गर्न इटहरीमा नै बसेर सम्भव छ । यस आधारमा इटहरी पूर्वको पर्यटकीय आधार क्षेत्रको रुपमा समेत रहेको छ ।
विकासोन्मुख मुलुकहरुको पहिलो विकासको मुद्दा नै भौतिक पूर्वाधार हो भौतिक विकासलाइ नै विकासको प्रमुख सूचक मान्ने हाम्रो समुदायमा अन्य विकासका पाटाहरु ओझलमा पर्ने नै भए किनकी विकास भनेको जनताको माग हो । त्यसैले इटहरीले पनि वर्तमान अवस्थामा भौतिक विकासलाई प्रमुख मुद्दा बनाएको छ । भौतिक विकासमा साझेदारीताको रणनीति नगरपालिकाले अवलम्वन गरेको पाइन्छ भने नगरबासीले पनि यस रणनीतिमा साथ दिएको पाइन्छ । तुलनात्मक रुपमा केन्द्रिय लगानी न्यून रहेको इटहरीमा स्थानीय लगानी उच्चतम् रहेको छ । परिणामतः इटहरीका सडकहरु बिस्तारै उच्चस्तरमा परिणत हुँदै गएका छन चाहे कालो पत्रे निर्माण बाट होस् या त व्यवस्थित उच्च स्तरीय ग्राभेल गर्ने कार्य गरेर नै होस् ।

सहरी सेवाका लागि न्यूनतम आधाभूत पूर्वाधार विकसित हुँदै गएको इटहरी औद्योगिक अवसर पनि बोकेको सहर भए बाटै पनि होला यो सहरलाई वर्षेनी बासस्थानको रुपमा रोज्ने जनसंख्या वृद्विदर उच्च रहेको छ । एकातिर ठूलो सहरको सूचकको रुपमा जनसंख्या धेरै हुनुलाई लिइन्छ भने विकासका दृष्टिकोणले यो नकारात्मक सूचक हो तथापी अधिकतम जनसंख्या वृद्विले इटहरीलाई बसोबास योग्य सहरको रुपमा स्थापित गर्दै गएको छ । यहाँ बाट पूर्वाञ्चलका १६ वटै जिल्लामा व्यवसायिक कारोवार सञ्चालन गर्न सकिने भएकोले पनि यो नगर व्यापारिक तथा बसोबास योग्य नगरको रुपमा आज स्थापित हुँदै आएको छ ।

लगभग डेढ दशकको सहरी विकासको इतिहास बोकेको इटहरीले विकासलाई तीव्र गतिमा अगाडी बढाइरहेको भए पनि यसका सामु केही चुनौतिहरु पनि रहेका छन् । इटहरीको प्रमुख चुनौतिको रुपमा योजनावद्ध विकासको अभाव नै रहेको छ । इटहरीलाई भविष्यमा कुन रुपमा स्थापित गर्ने ? यसको भूउपयोगको स्थित कस्तो हुने ? इटहरीको पहिचान के हुने ? भौतिक पूर्वाधार विकासलाई कसरी अगाडी बढाउने ? नगर र नगरबासीको आयलाई कसरी वृद्धि गर्ने ? नगर बासीको लागि सामाजिक सुरक्षाका कार्यक्रमहरु कसरी सञ्चालन गर्ने ? अधिकतम सहरी सुविधा कसरी प्रदान गर्ने ? जस्ता अनगिन्ती प्रश्नको उत्तर आज पनि इटहरीसँग छैन । हामी इटहरीबासीहरु र इटहरीलाई विकास गर्नका लागि प्रमुख जिम्मेवारी लिएका स्थानीय राजनीतिक दलहरु कसैसँग पनि यसको स्पष्ट जवाफ र कार्यायोजना नभएको स्पष्ट छ । हामी वर्तमानमा जे आउँछ त्यसको समाधान गर्दै अगाडी बढिरहेका छौं जसले योजना वृद्वि–विकासलाई पुष्टि गर्दैन । योजनबद्ध विकास नहुँदा भविष्यको आवश्यकता नहेरी भौतिक पूर्वाधार तयार हुने र भविष्यमा उक्त पूर्वाधार अभाव हुँदा त्यसले आवश्यकता अनुसारको सेवा दिन नसक्ने भइ निकम्मा हुन सक्ने भएकोले आजको लगानी भोलि निरर्थक हुन सक्ने सम्भावना इटहरीको सामु रहेको छ । भावीपिँढीले नधिक्कार्ने गरी पूर्वाधार निर्माण गर्न सकिएमा मात्र दिर्घकालीन र दिगो हुने भएकोले इटहरीले योजनाबद्ध विकासलाई अँगाल्नु पर्ने समय सीमा आरम्भ भइसकेको छ । पछिल्लो कालमा विकसित भएको सहर भएकोले पनि यो सहर योजनाबद्ध सहर हुन आवश्यक छ । इटहरीको प्रमुख समस्या या चुनौतिको रुपमा योजनाबद्ध विकास प्रणाली नहुनु नै रहेको छ ।

इटहरी पूर्वको उदियमान नगर हुनुको साथै यो उत्तरमा धरान र दक्षिणमा विराटनगर जस्ता पूराना सहरहरुकोबीचमा रहेको नवसहर पनि हो यो यथार्थतालाई इटहरीले महसुस गर्नै पर्छ । त्यसैगरी पूर्वाञ्चलको आवागमनको प्रमुख स्थलको रुपमा समेत इटहरी रहेको तथ्यलाई हृदयङ्गम गरी इटहरीले आफ्नो पहिचान स्थापित गर्नेतर्पm आजैका मितिबाट कार्य थालनी गर्नु जरुरी छ । जुन कुरा इटहरीको योजनाबद्ध विकासले आगाडी सारोस् र कार्यान्वयनको सफलता समेत मिलोस । यसरी योजना निर्माण गर्दा वर्तमानमा इटहरीले सोचेको बसोबासयोग्य नगर होस् वा पर्यटनको आधार क्षेत्र, या त व्यापारिक केन्द्र वा कृषि–गैर कृषि उद्यमीको सहर वा साँस्कृतिक विविधताको सहर के बनाउने हो त्यसतर्पm ध्यान जान जरुरी छ । इटहरीले आपूmलाई समुन्नत सहर निर्माण गर्ने हो भने आर्थिक विकासका क्षेत्रमा अत्यधिक कार्य गर्नुपर्ने हुन्छ । फलफूल तथा जडिबुटीको भण्डार साथै जैविक उत्पादन क्षेत्रको रुपमा रहेको पूर्वी पहाड र हिमालसँग इटहरीको सहज पहुँच रहेको अवस्थामा त्यसतर्पm योजनाबद्ध ढङ्गले लाग्ने हो भने इटहरीको विकासमा छिटो र उल्लेख्य कार्य गर्न सकिन्छ ।

वर्तमानमा इटहरी अव्यवस्थित सहरको रुपमा दिन प्रतिदिन परिचित हुने सूचकहरु बृद्धि हुँदै गएको अवस्था एकातर्पm रहेको छ भने अर्को जटिलताको रुपमा योजनाबद्ध विकासको पूर्ण अभाव इटहरीमा रहेको छ । यी दुवै कुराहरु इटहरीको भविष्यका लागि नकारात्मक, अव्यवस्थित र चुनौति पूर्ण विषय हुन । वास्तवमा इटहरी भौगोलिक रुपमा सहज स्थान, स्थानीयबासीको विकास प्रतिको तीव्र चाहना भएको सहर भए पनि यसले त्यस्ता विकासका संवाहकलाई पूँजीको रुपमा उपयोग गर्न सकेको छैन । पछिल्लो समयमा विकास भएको राजनैतिक अस्थिरताको असर स्थानीय निकायहरुमा सोझै परेको अवस्था छ । सिद्धान्तः जनप्रतिनिधीले सञ्चालन गर्नुपर्ने निकाय विगत दश वर्ष देखि जन प्रतिनिधीविहीन अवस्थाबाट गुज्रिरहेको छ । यसको परिणाम पनि योजनाबद्ध विकास प्रणालीको स्थापना हुन नसकेको हो तथापी समयले कसैलाई पनि पर्खदैन स्थानीय स्तरमा गर्न सकिने कार्यहरु सञ्चालनमा सबैको ध्यान जान जरुरी छ ।

सुशासनको एक आधारको रुपमा योजनाबद्ध विकास पनि हो । योजनाबद्ध विकासले नगरको भविष्यलाई वर्तमानमा नै चित्रण गर्ने भएको हुनाले कार्यसम्पादन प्रति उच्च मनोबल सिर्जना गर्दछ साथै मापन योग्य विकास हुने भएकोले यसले नगरबासीमा थप उर्जा र उत्साह समेत थप्दछ परिणामत विकासका मार्गहरु अझ प्रशस्त भएर जाने भएको हुनाले यसलाई इटहरीले प्राथमिकतामा राख्नै पर्दछ ।

इटहरीले आधारभूत सहरी सेवा खानेपानी, ढल, सरसफाईका क्षेत्रमा कार्य गर्दै आर्थिक सक्रियताको सहरको रुपमा आफूलाई उभ्याउनको लागि उद्यमशीलताको सहरको रुपमा विकसित गराउन जरुरी छ । किनकी इटहरीले अब शैक्षिक संस्था वा अस्पतालको सहरको रुपमा आफूलाई निर्माण गर्न कठिन छ । यसले त व्यापारिक र व्यवसायिक सहरको रुपमा आफूलाई स्थापित गर्नेतर्पm ध्यान दिन सकेको अवस्थामा नगरले चाडै विकास गर्न सक्नेछ । यसका लागि नगरपालिकाको योजनाहरु पनि औद्योगिक विकासतर्पm उन्मुख गराई नीजि तथा सामुदायिक लगानीलाई समेत यस तर्पm लान जरुरी छ । यसले समग्र इटहरी र इटहरी बासीको उज्यालो भविष्य स्थापित गर्न सहयोग गर्न सक्छ ।
Read Post | Comments

धरानको रंगकर्म : विगतदेखि वर्तमानसम्म

Saturday, January 21, 2012

  • राजेन्द्र रिमाल
गएको वर्ष धरानले नगरपालिका स्थापना भएको स्वर्ण महोत्सव मनायो, अर्थात् धरान नगरपालिकाको पचासौं वार्षिकोत्सव । तर धरानको विगत त्यति मात्र होइन । पौराणिककाल देखि नै यसको अस्तित्व रहेको छ । भारतवर्ष स्थापना हुनुभन्दा अघि रुद्राक्षारण्यको रुपमा दुनियाँमा प्रख्यात रहेको स्कन्द पुराणमा यसका बारेमा लेखिएका श्लोकहरुले त्यहीँ कुरा प्रमाणित गर्दछ । इतिहासमा पनि धरानको उल्लेखनीय स्थान रहेको छ । सेनवंशी राज्य विजयपुरको राजधानीको रुपमा पनि इतिहासमा यसले आफ्नो वर्चश्व राखेको कुरा त हामीले पढ्दै आइरहेका छौं । त्यसो त आधुनिक धरान स्थापना भएको नै सय वर्ष पुगेकोमा धरानले एक दशक अघि नै शतवार्षिक महोत्सव मनाइसकेको छ ।
धरानले रंगमञ्चमा नाटक गर्न थालेको नै झण्डै ७० वर्ष पुग्न लागेछ । तर धरानमा साँस्कृतिक गतिविधि हुन थालेको भने ९० साल भन्दा अघि देखि नै हो । पूर्वी पहाडको मुख्य बजारको रुपमा रहेको धरानमा पहाडका विभिन्न स्थानबाट किन्न र बेच्न आउने मानिसहरुले दिनभरी बजार भरेपछि साँझमा भानुचोकमा बसेर पालम, हाक्पारे, संगीनी, साकेला आदिको भाकामा रात बिताउने गरेको विगत हामीले कथा जस्तै सुन्ने गरेकै हौं । खासगरी चाडपर्वमा साँस्कृतिक गतिविधिहरु हुने गरेको थियो । धरानको प्रसिद्ध लाखे नाच ऊ बेला देखि नै परम्परागत रुपमा गरिदै आएको हो । त्यसैबेला जनैपुर्णिमा देखि कृष्ण अष्ठमी सम्म पुरुषलाई महिलाको भेष लगाएर ‘छौडा नाच’ गर्ने प्रचलन थियो ।

त्यो बेला नेपाली नाटक लेखनको परम्परा नभएको तथा भएको भए पनि उपलब्ध नहुनुले प्रारम्भमा हिन्दी नाटक मञ्चन गरिएको पाइएको छ । जसलाई भारतीय उपमहाद्वीपको प्रभावको रुपमा पनि बुभ्mन सकिन्छ । सात साल भन्दा अघि सम्म धरानमा हिन्दी नाटकहरुको मञ्चन भएको पाइन्छ । वि.सं. २००४ साल देखि धरानमा धार्मिक नाटकहरु हिन्दी भाषामा मञ्चन भएका थिए । जसमा ध्रुव, सत्यवान सावित्री, कलियुग जस्ता नाटकहरु थिए । सातसालको क्रान्तिपछि आएको ‘राष्ट्रवादी चेत’ ले धरानको रंगकर्मलाई पनि असर गरेको पाइन्छ । त्यसो त राजनैतिक दलहरुको अहिले पनि उत्तिकै ताजा विषय रहेको ‘१९५० को सन्धी’ लाई सारा देशले जयजयकार गरिरहेको बेला धरानले ‘दिल्ली सम्झौता धोका हो’ भनेर त्यहीबेला विद्रोह गरेकै हो । त्यसबेला राजा त्रिभुवनलाई कालो झण्डा देखाएर आफ्नो राजनैतिक चेतना र चरित्रको प्रदर्शन गर्दै राष्ट्रको पक्षमा उभिएकै हो ।


सातसालको क्रान्तिपछि धरानमा नेपाली नाटक मञ्चनको परम्परा सुरु भएको हो । २००८ सालमा आएर भिमनिधि तिवारीद्वारा लिखित नाटक ‘जीवन ज्योति’ को मञ्चन भएको थियो । चन्द्रशेखर श्रेष्ठले निर्देशन गर्नुभएको सो नाटकको सफल मञ्चनपछि धरानमा नाटक मञ्चनको बाढी नै आएको थियो । त्यसबेला किसान, सत्य हरिश्चन्द्र जस्ता नाटकहरुको मञ्चन भएका थिए । सातसाल अघिका अग्रज रंगकर्मीहरुमा सूर्यमान पलिखे, मोहन उदास, गुञ्जमान श्रेष्ठ, केदारनाथ श्रेष्ठ, किर्तिमान शाक्य, बाबुकाजी श्रेष्ठ, रमाकान्त खनाल, आदि हुनुहुन्थ्यो ।

सातसाल पछि धरानको रंगमञ्चमा शिलान्यास, भक्त प्रल्हाद, दोभान, जीवन ज्योति, अनमेल विवाह, मसान, भक्त भानुभक्त, पालो आउला, शंकर गर्जना, कृषिबाला, फाँसीबाट, पचास रुपैयाँको तमसुक, नायब राइटर जस्ता नाटक देखाइएका थिए । त्यसबेलाका अग्रज रंगकर्मीहरुमा चन्द्रशेखर श्रेष्ठ, मानबहादुर शाक्य, विष्णुकुमार ठकुरी (बिकेटी), जगदिश नेपाली, गोपालराज खनाल, रामचन्द्र नेपाली, राधा उदास, जगन्नाथ श्रेष्ठ, मोतीराज ताम्राकार, भीमराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, कृष्णबहादुर ताम्राकार, टिकाराज जोशी, यमबहादुर राई आदि हुनुहुन्छ । धरानको रंगकर्मले २००८ सालमै महिला रंगकर्मीहरु प्रस्तुत गरेको थियो । यहीँ अहिलेको भानुचोक मै मञ्च बनाएर गरिएको कार्यक्रममा सर्वप्रथम सुलोचना राई र कलावती राईले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

धरानको रंगकर्मको त्यो गति निकै समय निरन्तर भइरह्यो । त्यसबेला मञ्चन गरिएको ‘शिलान्यास’ नाटक यति चर्चित रह्यो कि बालकृष्ण सम धरान आएर सो नाटक हेर्नुभएको थियो । उक्त नाटकमा महिला कलाकारहरु देवकला शर्मा, नैनकला शर्मा, चन्द्रकला, र सीता शर्माले समेत अभिनय गर्नुभएको थियो । देशमै महिला कलाकारहरुको अभाव भएको बेला धरानमा प्रशस्त महिला कलाकारको सक्रियतालाई बालकृष्ण समले प्रशंसा गर्नुभएको नाटकका निर्देशक चन्दशेखर श्रेष्ठ स्मरण गर्नुहुन्छ । नाटकमा चन्दशेखर तथा मानबहादुर शाक्य, बिकेटी, पुरुषोत्तम खरेल, ईश्वर थापा, विष्णुमोहन पलिखे, हेमन्त अर्याल लगायतले अभिनय गर्नुभएको थियो । उक्त नाटकको चर्चा भएपछि काठमाण्डौमा समेत मञ्चन गराइयो । वि.सं. २०२२ पौष १ गते राष्ट्रिय नाचघरमा मञ्चन गरिएको सो नाटक जहाँ स्वयं राजा महेन्द्र आएर नाटक हेर्नुभएको थियो । त्यसबेला सरकारबाट यस्ता साँस्कृतिक समुहहरुलाई वार्षिक रुपमा १८ सय रुपैयाँ दिने गरिएको सम्झना गर्नुहुन्छ, चन्द्रशेखर श्रेष्ठ ।

त्यसपछि २०२३ साल पछि भने धरानको रंगकर्म सुस्ताएको देखिन्छ । बीचमा गोविन्द विकल, बसन्त थापा, लीला सुब्बा, आदि रंगकर्मीहरुले केही समय नाटक मञ्चनलाई निरन्तरता दिएको देखिन्छ । धराने रंगकर्मको विकास काल मानिएको यो समयमा गंगालालको चिता, मध्यरातको सडक, सारंगीको गीत, बौलाहाकाजीको सपना, मृत्यु पछिको चिहान, दोभान, अभाव र प्रभाव, भिन्नता, लंगडो मान्छे, तुवाँलोले ढाकेको बस्ती आदि जस्ता नाटक भएको पाइन्छ । यसले करिब २०३३ साल सम्म निरन्तरता पाएको देखिन्छ ।

त्यसपछि २०४१ सालमा आएर शारदा सुब्बाद्वारा लिखित नाटक ‘देउरालीमा एक थुंगा पूmल’ मञ्चन भएपछि धरानको रंगकर्मको आधुनिककाल शुरु भएको मानिन्छ । त्यसबेला सम्म असंगठित रुपमा रहेको धराने रंगकर्म २०४४ सालमा अनाम नाट्य जमातको स्थापना पछि भने एउटा गम्भीर ‘टर्निङ प्वाईन्ट’ मा पुगेको देखिन्छ । त्यसपछि रंगकर्मले संस्थागत स्वरुप पाएको थियो भने नाटकमा गम्भीरता, विचारको खोजी गर्न थालिएको थियो । नाटकको शैली, शिल्प, प्राविधिक दक्षता आदि जस्ता कुरामा राष्ट्रिय र अन्र्तराष्ट्रिय अनुभवको खोजी हुन थाल्यो । जसले धरानलाई आजको अवस्था सम्म आइपुग्न मद्दत पु¥यायो । त्यसपछि धरानमा दर्जनभन्दा बढी नाट्य तथा साँस्कृतिक समुहहरुले धरानलाई साँस्कृतिक रुपमा समृद्ध शहरको रुपमा छुट्टै परिचय स्थापित गराएका छन् ।

यो अवधिमा गरिएका म, प्रियसी, नानीहरु मिसाईल .०, नाटकहरुको नाटक, समानान्तर, नीलो पीडा, सारा मेरा सन्तान, दमनको राप, उसको कवितामा अब को रुदैन, रामायणको अर्को पृष्ठ, परिवन्द, सन्ध्या सारस, अतिथि यातना, कालचक्र, आदि विनाको अन्त्य, यिनीहरु देश खोजिरहेका छन्, फेरि अर्को लंका ध्वस्त हुँदैछ, गोलाद्र्धको कालो आकाश, अनादिक्रम, अघोषित, अन्धाको हात्ती जस्ता सयौं नाटकको हजारौं प्रदर्शन गरिएका छन् । यो कालखण्डमा राजकुमार मादेन, प्रेम सुब्बा, राज थापा, मधुकर खडका, दीपक बस्नेत, विसन मानन्धर, तपन सरकार, साज सिंह, जे.बी. सुब्बा, नवीन सुब्बा, राम क्षितिज, मिलन राई, शारदा शाक्य, भुमा सुब्बा, शिवानी राई, सरस्वती राई, मालती राई, शोभा सुब्बा, शारदा सुब्बा, शशी सुब्बा, विनोद श्रेष्ठ, राजेन्द्र रिमाल, विशाल भण्डारी, सन्तोष थेबे, सुवास थापा, अल्पना कर्माचार्य, विजय सुब्बा, वीरेन भुजेल ‘रिकी’, गोपाल देवान, ऋतिका सुब्बा, समीप हाङबाङ, संगीता लामा, संगीता शाही, अप्सरा खड्का, आशा मगराती, सरस्वती महन्त, उषा थापा, प्रवीण राई, सुवास अधिकारी, सोमा अधिकारी, नवीन मेयाङबो, सौगात रिजाल, सुवर्ण पलिखे आदि महत्वपूर्ण छन् । त्यसो त यो नामावली धेरै लामो हुन सक्छ, म सहकर्मी साथीहरुसँग क्षमायाचना गर्न चाहन्छु ।

धरान नगरपालिका ‘खोल्न’ (स्थापना) का लागि भागवतगोविन्द श्रेष्ठको नेतृत्वमा भएको पहलको सहयात्रीहरुमा त्यसबेलाका रंगकर्मीहरुको पनि महत्वपूर्ण योगदान रहेको छ । जसमा विष्णुकुमार ठकुरी (बिकेटी), माणिकलाल श्रेष्ठ, चन्द्रशेखर श्रेष्ठ आदि उल्लेख्य नामहरु हुन् ।
स्थापनाको हिसाबले धराने रंगकर्म धरान नगरपालिका भन्दा प्राचीन हो । अझ कला, साहित्य, संस्कृति, शिक्षा, आदि लगायतको सक्रियताले नै धरानलाई नगरपालिका घोषणा गर्न थप मद्दत मिलेको भन्दा अत्युक्ति नहोला ।

धरानले आफ्नो उन्नति आफै गरेको छ । सफलताको उचाई सम्म पुग्न आवश्यक खुडकिलो आफैँ तयार गरेको छ । यसलाई राज्यको तर्फबाट प्रदान गर्नुपर्ने केही प्राप्त भएको छैन भन्दा पनि हुन्छ । ठीक त्यसैगरि धरानको रंगकर्मले पनि आफ्नो उचाई आफँै प्राप्त गरेको छ । त्यो सफलता प्राप्त गर्नका लागि अगाडि आइपर्ने पीडालाई सर्लक्कै पिएको छ, आगो माथिबाट हिँडेको छ, नदीको सतहबाट बगेको छ । तर त्यसका लागि यहाँका रंगकर्मीहरुले ‘उफ्’ सम्म गरेका छैनन् ।
क्रिस्टोफर कोलम्बस अथवा भास्को डिगामाले जस्तै धराने रंगकर्मले पनि यही भूगोल मात्र होइन धेरै टाढा टाढा सम्म आफ्नो पाइला टेकेको छ । त्यो पाइला सँगसँगै सुवास पनि फैलाएको छ । जसको सुगन्धमा हामी सबै धराने लुटुपुटु हुने गरेका पनि छौं । र सदा गौरव पनि गर्दछौं ।

रंगकर्म, संस्कृतिकर्मको क्यानभास अत्यन्तै विशाल हुने भएकोले त्यसको विशालता, त्यसको गम्भीरता, त्यसको प्रभावकारितालाई धरान नगरपालिका लगायत स्थानीय निकायले बुझ्नै नसकेको भान हुन्छ अहिले सम्म । र, त्यो हामीले होइन वार्षिक रुपमा विनियोजन हुने स्थानीय बजेटले नै जगजाहेर गर्ने गरेको छ । रंगकर्म, कला, साहित्य, संस्कृति नभएको मानिस सिङ र पुच्छर नभएको जनावर बराबर हो भनेर भन्ने गरिएको छ । अतः नीति तथा कार्यक्रम र बजेटले उपरोक्त कुरालाई प्रमाणित नगरोस भन्ने तर्फ सबै सचेत हुन जरुरी छ ।

धरान जानेर नजानेर पूर्वाञ्चलको केन्द्र रहदै आएको छ । कला, संस्कृतिकर्म, रंगकर्म, साहित्यकर्म, चलचित्रकर्म, खेलकुद जस्ता राष्ट्रलाई विश्वसामु गौरवपूर्ण इज्जत दिलाउने क्षेत्रलाई नजरअन्दाज नगर्ने हो भने हाम्रो शहरको उत्कृष्टतालाई कसैले खोसेर लैजान सक्ने छैन ।
(लेखक अनाम धरानको अध्यक्ष हुन् ।)
Read Post | Comments

पागल–बस्तीमा प्रेम र अहमको युद्ध

Saturday, January 14, 2012

सरुभक्तद्वारा उत्पादित उपन्यास ‘पागल–बस्ती’ प्रेम र युद्धको रणभूमि भनिदिए हुन्छ । उपन्यासभरि प्रेम र अहमइतरका कथा, उपकथा, दर्शन, कथोपकथनहरु आइरहन्छन् । उपन्यासमा सिर्जित घटनाक्रमहरुले पाठकलाई त्राहीमाही पारिदिन्छ । वि.सं. २०३९ सालमा रचना आरम्भ गरेका सरुभक्तले करिब ६ वर्षपछि मात्र पूरा गर्न सके, यो उपन्यास । पागल–बस्तीमा एउटा स्वतन्त्र पत्रकार जो काठमाण्डूबाट पोखरासम्मको यात्रामा निस्कन्छ । यात्राबाट फर्किएपछि ऊ यात्रा संस्मरण लेख्ने दाउमा हुन्छ । यात्राको क्रममा उसको भेट मार्थासँग हुन्छ । मार्था कथित पागल–बस्त सभ्यताकी एकमात्र जिउँदी सबूत हुन्छिन् । सुरुमा त उसले पत्रकारलाई केही भन्न रुचाउँदिन तर पत्रकारले हरेक अनुनय–विनय गरेपछि उनी भन्न तत्पर हुन्छिन् । उनी एक सफल चित्रकार पनि हुन्छिन्, उनीसँग चित्रबाटै डायरी लेख्न सक्ने खुबी हुन्छ । यौटा ठूलो क्यानभासमा उनी आफ्नो अन्तिम चित्र कोर्छिन । चित्रबाट नै सम्पूर्ण घटनाक्रमहरु भन्छिन् । अर्थात् यौटा प्रागऐतिहासिक सभ्यताको अभ्यूदय हुन्छ ।

उपन्यासको प्रमुख पात्र प्रशान्त अन्र्तमुखी स्वभावको हुन्छ । ऊ कलेजमा मार्थालाई प्रेम गर्छ । तर किञ्चित् ऊ मार्थाको नजिक पुग्दैन । उसको प्रेम एकतर्फी हुन्छ । यसै पनि किशोरावस्थाको प्रेम अत्यन्त कोमल हुन्छ, भावुक हुन्छ, समर्पण सहितको हुन्छ । अर्थात निश्चलता र पवित्रतामा हुन्छ । अन्ततः उसले मार्थालाई प्रेमपत्र लेख्छ । तर मार्थाले स्वीकार गर्दिनन् । उसको प्रेमप्रस्तावलाई उपेक्षा गरिदिन्छिन् । उनको परिकल्पना भनेको सुन्दर जीवन साथीको हुन्छ, न कि प्रशान्तजस्तो बदसुरत पुरुषमा ।
प्रशान्तसँग उसको सपनाको व्यक्तित्व मिलान हुँदैन । प्रशान्तमा यौटा अहमको सिर्जना हुन्छ । उसको नजरमा प्रेम नै सबथोक थियो । प्रेमलाई नै धन सम्झन्थ्यो । प्रेमलाई नै ऊ आफ्नो चारित्रिक विशेषता मान्थ्यो । मार्थाको उपहासजनक ढङ्गको उपेक्षा पछि ऊभित्र अहम् विकसित हुन्छ । अर्थात ऊ कङ्कालमा परिणत हुन्छ । उसले आफ्नो जीवनको आराध्य, लक्ष्य, मूल्यमान्यता सबै गुमाउँछ । अन्त्यमा गौतम बुद्धको जस्तै अहम ज्ञान प्राप्त गरेर ऊ गृहत्याग गर्छ । अहम् ज्ञानको प्रचार गर्न ऊ यौटा छुट्टै सभ्यताको विनिर्माण गर्छ । ऊ प्रशान्तबाट ‘आदिगुरु’मा परिवर्तित हुन्छ । उसका अनुयायी र चेलाचेली पनि हुन्छन् ।

एकदिन मार्था पश्चतापको अग्नीमा जल्दै, क्षमायाचना गर्ने एक मात्र अभिप्राय लिएर प्रशान्त उर्फ आदिगुरुलाई भेट्न जान्छिन् । प्रशान्तले मार्थाको भेटपछि अचाक्ली सम्मान दिन्छ । सबैले मार्थालाई ‘आदिमाता’ भनेर सम्बोधन गर्छन । मार्थालाई सबैले आदरणीय बनाउँछन् । उनको नाममा छुट्टै सुन्दरकलाकृतिले सजाइएको ‘आदिमन्दिर’मा उनलाई लगिन्छ ।
केहीदिनको सहवासपछि उनीहरुमा वाकपटुता भैरहन्छ । विभिन्न सिद्धान्त, विधिविधान, धर्मसंस्कृति तथा ग्रन्थहरुका वादविवाद भैरहन्छन् । मार्था प्रशान्तलाई प्रेम गर्न थाल्छिन् । प्रशान्तले आदिगुरु र आदिमाताबीच प्रेम सम्भव छैन भन्छ । त्यसपछि विभिन्न घटनासँगै प्रेम र अहमको युद्ध भैरहन्छ, अनेकन वाकयुद्ध ।

एकभेलामा प्रशान्तले मानवीय अहमको परिभाषा दिँदै भन्छ, “अहिलेसम्म पृथ्वीमा अस्तिगत सबै धर्मले प्रेम र अहिंसाको पाठ पढाउने धुनमा अहममुक्तिको कपोलकल्पना गरेको छ । म अहम् विरोधी सबै धर्म र दर्शनको घोर विरोध गर्छु । कारण जीवन अहमयुक्त हुन्छ, अहममुक्त हुन सक्दैन । बुद्ध मेरो दृष्टिमा अहमयुक्त पुरुष हो । महाविर र यिसु अहमवादी व्यक्तित्व हुन्, सिजर, अलेक्जेण्डर, नेपोलियन र हिटलर अहमयुक्त पुरुष हुन् । म मान्छेलाई प्रेम, अहिंसा र यौनमुक्तिको पाठ पढाउन चाहन्न । जसरी धर्म पुरुषहरुले पढाए । विश्व इतिहासमा प्रत्येक धर्मले प्रत्येक महापुरुषको अहङ्कारको शून्यतालाई प्रेमपूर्णता मानको छ, अहिंसात्मक मानेको छ, यौवन विमुखता मानेको छ, तर म महापुरुषहरुको गल्तीलाई दोहो¥याउने पक्षमा छैन । म भन्छु, प्रेम–अप्रेम, हिंसा–अहिंसा, यौन–अयौन अथवा सम्पूर्ण सुखोत्पादक र दुखोत्पादक भवाना अहमसापेक्षित भावना हुन् । सम्पूर्ण मानवीय भावनाहरु र विचारहरु अहमकेन्द्रित हुन्छन् । त्यसैले म अहमवादी हुने शिक्षा दिन्छु, अहङ्कारी हुने शिक्षा दिन्छु, अहम–परीक्षण र विश्लेषण आमन्त्रित गर्छु ।”
प्रशान्तकी चेली मैचाङको विषयमा कुरा हुदाँ मार्था यसो भन्छिन्, “सायद तिमी दुःखी मानवताको सेवा गर्न चाहन्छौ प्रशान्त तर बुद्ध वा जिजसजस्तो हुन प्रेम, करुणा, दया, सहानुभूतिजस्ता मानवीय गुण चाहिन्छन् ।” प्रशान्त आफ्नो स्पष्टीकरण दिन्छ, “आदिमाता, म बुद्ध वा जिसस हुन चाहन्न त्यसैले दुनियाँलाई प्रेम र करुणाको आँखाले हेर्न सक्दिनँ ।”

उपन्यासका घटनापपिच्छे प्रेम र अहमका वाक् युद्ध भैरहन्छन् । सबै आ–आफ्ना तर्कमा अडिग हुन्छन् । एकदिन, प्रशान्तकी प्राणप्यारी कुकुर्नी कसैले मारीदिन्छ । त्यसको वियोगमा प्रशान्त महिनौंदिन एउटा कोठामा थुनिएर मौन एकान्तवास गर्छ । त्यसपछि सम्पूर्ण बस्तीमै खैलाबैला मच्चिन्छ । सबैजना मार्थालाई गुर्हान पुग्छन् । मार्था रोईकराई गर्छिन, मौन एकान्तवास भङ्ग गर्न आग्रह गर्छिन् । त्यसपछि मार्थाले बस्ती छोडेर जान्छु भन्ने धम्की दिएपछि मात्र प्रशान्तले मार्थाको आज्ञालाई मान्छ ।
त्यस्तै केहीदिनपछि प्रशान्त मार्थालाई भेट्न विलम्ब गर्छ । ऊ कुष्ठरोगीहरुका सेवाका लागि जान्छ । डाक्टरहरुले सम्भावित अप्ठ्यारो अवस्था सिर्जना हुने आँकलनले रोगीहरुको नजिक नपर्न आग्रह गर्छन् । तर प्रशान्त यो कुरा मान्न तयार हुँदैन । मार्थाले पनि विनय चढाउँछिन् । सबैजना त्यस्तो घोषणा फिर्ता लिन आग्रह गर्छन् तर अहँ ऊ किञ्चित् टसमस हुँदैन । मार्था भोकहड्तालमा बसेर आत्मनिष्ठूर बन्छिन् । सबैतीर विरहको धुन बज्छ । सबैजना आफ्ना गुरुलाई दबाव दिन्छन्, मार्थाको कुरा मान्नलाई कर गर्छन् । तब मात्र गुरुले मार्थाको मागलाई शिरोधार्य गर्छ ।

यसरी यस्तो घटना परिस्थितिलाई विश्लेषण गर्दा दुवै जना एक–अर्कालाई हेरचाह गर्छन् तर त्यो प्रेममा फुल्न सक्दैन । प्रशान्तको अहम् कहिल्यै ढल्दैन । अन्त्यमा उसले मार्थालाई अरुकसैसँग विवाह गर्न आग्रह गर्छ । मार्था भन्छे, “...म तिमीलाई नै प्रेम गर्छु, त्यसैले सिर्फ तिमीसँग विवाह गर्न सक्छु । तिमीले अरुसित विवाह गर्ने सल्लाह दिएर मेरो प्रेमको अपमान कति ग¥यौ थाहा छ ?” प्रशान्त सोझै जवाफ फर्काउँछ, “आदिमाता, हजुर मलाई प्रेम गर्नुहुन्न, प्रेमको अवधारणालाई मात्र प्रेम गर्नुहुन्छ । हजुरले प्रत्येक शिक्षित व्यक्तिलेझै प्रेमको महानताबारे सुन्नुभएको छ, प्रेमको पवित्राबारे सुन्नुभएको छ, दिव्यताबारे सुन्नुभएको छ । हजुर यही महान, पवित्र, दिव्यप्रेमको अवधारणालाई प्रेम गर्नुहुन्छ । मलाई प्रेम गर्नुहुन्न । हामी प्रेमको नाटक खेल्न सक्छौँ, प्रेम गर्न सक्तैनौँ । कृपया, हृदयको यथार्थ सुन्नुहोस् ।”

अन्तःगोत्वा मार्था त्यो बस्ती छोडेर जान्छिन्, प्रशान्त उसलाई स–सम्मान विदा गर्छ । मार्थाको हृदय छिया–छिया हुन्छ अर्थात चिसो हुन्छ । उनी भन्छिन्, “मलाई एउटै कुराको दुःख छ–मैले प्रेम गरेर तिम्रो अहङ्कार मेट्न सकिनँ...तर मलाई विश्वास छ, एकदिन तिमी पछुताउनेछौ ।” तर प्रशान्तको अनुहारमा अलिकता पनि अहम् कम हुँदैन । न प्रेमको जीत हुन्छ, न त अहमकै ! उपन्यास सकिन्छ तर युद्ध अन्त्य हुँदैन ।
Read Post | Comments (1)
 
© Copyright अनलाइन खसखस : Rajesh Natamsha's blog 2011 - सम्पूर्ण अधिकार ब्लग लेखकमा | Email me blogs.rajesh@gmail.com.