Friday, February 17, 2012
- राजेश नतांश
कथा काबुलको वाहिर अकबर खान जिल्लाको हो । सोभियत संघले अफगानी राजाको सत्ताच्यूत गरेपछि कथा सुरु हुन्छ । कथाको प्रमुख पात्र अमिर पास्तुन (अफगानका बहुसंख्यक जाति) केटा हो र उसको साथी(नोकरको छोरा) हजारा (मंगोल वर्णका मुस्लिम जाति, अल्पसंख्यक जाति) केटा हो । उनीहरुका दैनादिन क्रियाकलापहरु चङ्गा लडाइँमा भाग लिदै व्यतित भइरहेको हुन्छ । उनीहरु दुवै मातृस्नेहबाट बञ्चित हुन्छन् । अमिरका बाबा धनाढ्य व्यापारी हुन्छन्, उनलाई कथाको प्रमुख पात्र अमिरले ‘बाबा’ भनेर सम्बोधन गरेको छ । उनी हसन र अमिर दुवैलाई माया गर्छन् । तथापि उनी अमिरको कमजोरी र डरपोक मनस्थितिको जहिल्यै आलोचना गर्दछन् । यता बाबाको साथी रहिम खाना भने अमिरलाई मन पराउँछन् । उनी अमिरको मनोभावना बुझ्ने र प्रतिभालाई चिन्ने भएकोले उनीहरु साथी जस्ता हुन्छन् । असिफ कुख्यात पीडक हुन्छ । ऊ समुदायमा हजारा केटा पास्तुनीसँग मिलेर बसेको मन पराउँदैन । अमिर र हसनको दोस्ती टुक्र्याउन चाहन्छ । एकदिन, ऊ अमिरलाई काँडाको औंठीले हान्न हात सोझ्याउँछ तर हसन साहसिक तरिकाले त्यसको प्रतिकार गर्छ । गुलेली आँखा फुटाइदिने चेतावनी दिन्छ । असिफ पछाडि हच्किन्छ तर कुनैदिन बदला लिने चेतावनी दिन्छ ।हसन चट् भएको चङ्गा समात्न सिपालु हुन्छ । ऊ चङ्गालाई नहेरिकन कहाँ खस्छ भनेर थाहा पाउने हुन्छ । एकदिन स्थानीय रुपमा आयोजित ‘चङ्गा चट्’ प्रतियोगिता अमिरले जित्छ । हसन "For you, a thousand times over." भन्दै चङ्गा समात्न दौडन्छ । तर दूर्भाग्यवश हसन चङ्गा समातेपछि असिफको जालोमा फस्छ । उसले अमिरले चट् पारेको चङ्गा माग्छ । हसन अमिरले खसालेको चङ्गा दिन इन्कार गर्छ । असिफ उसलाई पाठ सिकाउने निर्णय लिन्छ । उसले हसनलाई निर्घात कुटपीट गर्छ र मलद्वारमा बलात्कार गरेर रगतपच्छे बनाइदिन्छ । यता, अमिर मुकदर्शक बन्छ, ऊ धेरै डराएको हुन्छ । असिफको बन्धनबाट हसनलाई छोडाउन विफल भएकोमा अमिर पतित र आत्मनिष्ठूर बन्छ । आफ्नो लागि ज्यान दिने, उसका सबै निर्देशनहरुका परिपालन गर्ने हसनलाई बचाउन नसकेकोमा ऊ भित्रभित्रै कुडिन्छ । आफ्नो नामर्दीपना पर्दाफास हुने डर, खिन्नता तथा बाबाको छविमा दाग लाग्ने गुप्त डरले त्यो घटना कसैलाई सुनाउँदैन । त्यसपछि अमिर हसनसँग दूरी बढाउन विवश हुन्छ । बाबाले हसनलाई गरेको मायाभाव र कृतज्ञताप्रति एकप्रकारको इष्र्या भाव राख्छ । त्यसैले ऊ बाबाको त्यो माया र कृतज्ञता सधैको लागि मेटाइदिन योजना बनाउँछ ।
अमिर आफ्नो जन्मदिनमा पनि पतितपनाले भरिन्छ र हसन र उसका बाबा(अली)ले दिएको उपहारप्रति रमाउन सक्दैन । त्यो एकान्तिक समयमा रहिम खानले दिएको रातो डायरीमा कथाहरु लेखिरहन्छ । हसनलाई आफ्नो घरबाट डाँडा कटाउन उसको ओछ्यानमुनि महँगो घडी र केही रुपैयाँ पैसा लुकाइदिन्छ ताकि बाबाले उसलाई घरबाट निकालीदिऊन् । यता आफूले गर्दै नगरेको गल्तीमा पनि हसनले आत्मसमर्पण गर्छ । आफूले ती सामान चोरको भनेर अमिरलाई दोषमुक्त पारिदिन्छ । बाबा हसनले चोरी गरेको थाहा पाएर पनि उसको दोष माफ गरिदिन्छन् । त्यो परिदृश्य एकदमै दुःखदायी हुन्छ । बाबा हसन र अलि विषम दुःखमा पर्छन् कारण उनीहरु ४० वर्षभन्दा बढी समय बसेका हुन्छन् । अलिलाई आफ्नो छोरो बलात्कृत भएको, अमिरसँग खटपटी मच्चिएको थाहा हुन्छ तर ति अभिव्यजनाहरुलाई उनी छायाँमा पार्छन् र घरबाट निस्किन जिद्दी गर्छन् ।
पाँच वर्षपछि सोभियत संघको अफगानस्तानमा आक्रमण पछि अमिर र उनका बाबा पेशावर, पाकिस्तान हुँदै क्यालिफोर्निया पुग्छन् र विलासी जीवन सुरुवात गर्छन् । अमेरिकामा सेटल हुन बाबा ग्यास स्टेशनमा काम गर्छन् र अमिर चाहीँ स्थानिय सामुदायिक स्कुलमा पढ्न थाल्छ र आफ्नो लेखकीय क्षमतालाई निर्खान थाल्छ । अमिर २० वर्षको उमेरमा हाइस्कुलबाट ग्राजुएसन गरेपछि बाबासँग मिलेर प्रत्येक आइतबार सेकेड ह्याण्ड मार्केटको काम सुरु गर्छ । सन जोसेमा उसले मित्रका रुपमा सोराया ताहेरी र उनका बुवा जनरल ताहेरीलाई भेट्टाउँछ । जनरल ताहेरी कुनै समय (राजा अपदस्त हुनुभन्दा अघि) आफगानस्तानका उच्च पदस्थ अफिसर थिए । उनीसँगको भेटघाटसँगै उसको साहित्यिक यात्रा पनि फल्दै–फूल्दै, वृद्धिहुँदै जान्छ । यता, अमिरका बाबा दिनानुदिन अशक्त, असाहय र कमजोर हुँदै जान्छन्, अमिरले सोरायाप्रतिको आफ्नो भावना बाबालाई भनेपश्चात् उनी जनरल ताहेरीलाई छोरीको हात माग्छन् । जनरल ताहेरीकी छोरी पहिल्यै विवाह भइसकेको हुन्छ, उनी छुट्टिएर बसेकी हुन्छिन् । जनरल ताहेरी छोरीको विवाह प्रस्तावले खुसामत हुन्छन् र छोराछोरीको विवाह धुमधामसँग गरिदिन्छन् । विवाह भएको केहीसमयमा बाबाको निधन हुन्छ ।
अमिर र सोराया वैवाहिक उत्सर्गमा रमाउँदै हुन्छन् तर उनी बच्चा जन्माउन असर्थ हुन्छन् । गुप्त बाँझोपनाले उनीहरुलाई गाँजेको हुन्छ । अमिर आफूलाई सफल उपन्यासकारका रुपमा उभ्याउँछ । उपन्यासबाटै आएको आम्दानीले उसले अपार्टमेन्ट खरीद गर्छ, सोराया शिक्षिका बन्छिन् ।
विवाह भएको १५ वर्षपछि अमिरले रहिम खानको फोन प्राप्त गर्छ जो बिरामी भएर अन्तिम अवस्थामा हुन्छन् । रहिम खान अमिरलाई "There is a way to be good again." भन्दै पेशावर बोलाउँछन् । अमिर पेशावर जान्छ । पेशावरमा रहिम खानबाट अली र हसनको नियति थाहा पाउँछ । अली एक साम्प्रदायिक हिंसामा ल्याण्डमाइनबाट मरेको हुन्छ । हसनले फर्जाना नामकी केटी विवाह गरेको हुन्छ । उसको सोहरब नाम गरेको छोरा पनि हुन्छ । उनीहरु बामियान भन्ने गाउँमा बसेका हुन्छन् तर रहिम खानको विशेष अनुरोधमा अमिरको घरमा फर्किआएका हुन्छन् । उनीहरु त्यहाँ बसिरहँदा हसनीका ‘भागौटी आमा’ सानाउबार उसलाई खोज्दै आइपुगेकी हुन्छिन् । उनी चारवर्षपछि पश्चतापको अग्नीमा जल्दै मर्छिन्, हसनले उनलाई माफ गरिदिन्छ । रहिम खान पाकिस्तान फर्किआएको एक वर्षपछि तालीबानीहरुले हसनलाई त्यो घर छोड्न धम्की दिन्छन् तर हसनले त्यो कुरालाई इन्कार गर्छ । त्यसको बदला ऊ श्रीमतिसँगै एन्काउन्टरमा मारिन्छ ।
रहिम खानले यौटा गुप्त रहस्योउद्घाटन गर्छन् । अमिरलाई हसन अलीको छोरो नभएको बताउँछन् । अली नपुसङ्क हुन्छ । हसन अमिरको बाबाको छोरा हुन्छ । उसको सौतेनी भाइ पनि हुन्छ । अमिरका बाबाले अलीकी श्रीमतिसँग अपाच्य सम्बन्ध राख्दै आएका हुन्छन् । समाजमा आफ्नो व्यक्तित्वमा दाग लाग्ने डरले उनले ठूलो रहस्यलाई गर्भमै तुहाएका हुन्छन् । अमिर छाँगाबाट खसेको हुन्छ, हसन आफ्नो सौतेनी भाइ हो भन्ने कुराले उसलाई त्राहीमाही परिदिन्छ । एक्कासी ऊ पश्चातापको रागमा सेकिन थाल्छ ।
अन्त्यमा रहिम खानले अमिरलाई हसनको छोरा सोहरबलाई काबुलमा रहेको अनाथालयको च्याम्बरबाट छुटाएर ल्याउन आग्रह गर्छन् । अमिर सौतेनी भतिज सोहरबलाई छुटाउन काबूल जाने निर्णय लिन्छ । जहाँ तालीबानीहरुले अखडा जमाएर बसेका हुन्छन्, जनताहरु भोक, युद्ध र दण्डहीनताको मुग्रोले खाँदिएर सिन्की बनेका हुन्छन् । ऊ ट्याक्सीमा फरिद नाम गरेको ड्राइभरसँग अफगान यात्रामा निस्कन्छ । एवम् फरिदको दाजुको घरमा पाहुना भएर बस्छ । अनाथलयमा सोहरबलाई खोज्न र तालीबानी क्षेत्रमा छिर्न उसले नक्कली दाह्री बनाउँछ तर सोहरब सो अनाथलयमा हुँदैन । तालीबानीहरुले पैसामा बालिकाहरुलाई किनेर लगेझैँ सोहरबलाई पनि यौटा मान्छेले किनेर लगेको हुन्छ । अनाथालयको निर्देशकले अमिरलाई फुटबल म्याचमा जान र त्यहाँ त्यो मान्छेलाई भेट्न सल्लाह दिन्छ । अमिरले सो मान्छेलाई भेट्टाउँछ जो पीडक असिफ हुन्छ । अमिरले नक्कली दाह्री लगाए पनि असिफले चिन्छ तर अमिरले अली, हसन र बाबाको बारेमा कुरा ननिकालेन्जेल उसलाई चिन्न सक्दैन । असिफले सोहरबलाई आफ्नो घरमा आइमाईको लुगा लगाएर नचाउन लगेको हुन्छ । उसले सोहरबलाई बलात्कार गर्ने गरेको सोहरबको "I'm so dirty and full of sin, The badman and other two did things to me." आशय व्यक्त गरेपछि पुष्टि गर्छ ।
असिफ सोहरबलाई छोडन तयार हुन्छ तर त्यसको बदला लाप्पा खेलेपछि मात्र । उनीहरु घमासाम लडाइँ गर्छन् । अमिर पूर्णतः घाइते हुन्छ । सोहरबले गुलेली हानेर असिफको आँखा फुटाइदिन्छ । अमिरलाई असिफको बन्धनबाट छुटाइदिन्छ, त्यहाँबाट तिनीहरु कुलेलम ठोक्छन् । अस्पतालमा अमिरको सघन उपचार हुँदै गर्दा ड्राइभर फरिदले अनाथाश्रमका मान्छे खोज्न थाल्छ तर दूर्भाग्यवश उसले कसैलाई भेट्टाउँदैन । सोहरबलाई अमिरले अमेरिका लगेर धर्मपुत्र बनाउन चाहेको कुरा बताउँछ । र कहिल्यै अनाथाश्रममा नराख्ने प्रतिबद्धता जनाउँछ । अमेरिकी अधिकारीहरुले सोहरबलाई अनाथ भएको प्रमाण पेश गर्न माग्छन् । ऊ सोहरबलाई अनाथ भएको प्रमाणित गर्न अस्थायी रुपमा आश्रममा राख्न खोज्छ । तर सोहरबले अनाथाश्रमजस्तो नर्कमा जानुपर्ने ठानेर आत्महत्या गर्न खोज्छ । अन्त्यमा विभिन्न सोर्सफोर्स लगाएर सोहरबलाई अमेरिका लगेरै छाड्छ । जहाँ उसले आफ्नो श्रीमति सोरायालाई सोहरबको परिचय गराउँछ, उनले सोहरबलाई आफ्नो पुत्र बनाएर अनेकन सपना सजाइसकेकी हुन्छिन् । तर सोहरब सोरायालाई हेरेर निशब्द बन्छ । वर्षौदेखि महिलाको सामिप्यता नपाएको सोहरब एकप्रकारको अप्ठ्यारोपनाले सेकिन्छ । अमिरले सोहरबलाई हसनसँग चङ्गा उडाउँदाका अनुभवहरु सुनाउँछ । सोहरब असन्तुलित हाँसो हाँस्छ । अमिर सोहरबका लागि चङ्गा समात्न "For you, a thousand times over." भन्दै दौडन्छ ।
२० लाखप्रतिभन्दा बढी बिक्री भइसकेको खालिद हुसेनीको यो उपन्यासले साउथ अफ्रिकन बोइक जस्ता प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ । समालोचकहरुले यो उपन्यासलाई शक्तिशाली..विनाशक, आधुनिक अफगानस्तानको चलिरहने पोट्रेट चित्र भनेर समालोचना गरेका छन् । यो ५ वर्षदेखि द न्यूर्योक टाइम्स बेस्ट सेलर लिस्टमा परेको छ र ५५ वटा बढी भाषामा अनुवाद भएको छ । तथापि द काइट रनले तालिबानीहरुलाई पश्चिमी परिभाषामा फासिस्ट, लागुपदार्थको दुरुपयोगी र परपीडकको रुपमा चित्रण गरेको भन्दै सर्वत्र आरोप खेपेको छ । यो उपन्यासलाई चुनौतिदिने किताबका रुपमा लिइन्छ । कतिपय पुस्तकालयहरुमा यसलाई आक्रमक भाषा भएको, अश्लिल व्याख्या गरिएको र सबै उमेर समुहलाई पढ्न नसुहाउने भनेर पुस्तकसंग्रहबाट हटाउन प्रयास पनि गरिएको बताइन्छ । अफगानी सरकारले यसबाट बनेको फिल्मलाई पनि प्रतिबन्ध लगाएको छ ।










