प्रेम बास्तोला
भारतको उत्तर प्रदेश (युपी) राज्यको वाराणसीस्थित नागरिक नाटक मण्डली भित्र खचाखच दर्शकको भीड । भारतीय समय अनुसार रातको साढे ७ बजेसकेको छ । दुई दिनदेखि सो नाटक घरमा सञ्चालित १५ औं अन्र्तराष्ट्रिय बाल नाट्य समारोहको अन्तिम प्रर्दशनका लागि नेपाल र भारतका तीन नाट्य समूहको उपस्थिति । नई दिल्लीमा प्रदर्शन गरिसकेर लामो बस यात्राको थकानका बीचमा नेपाली बालनाट्यकर्मीहरु २ घण्टाअघिबाट नाटकको तयारीमा जुटेका छन् । शनिबार ३ नाटक मञ्चन गर्नुपर्नेमा पहिलो नाटक नै नेपालको तर्फबाट सहभागी युरो किड्स नेपाल विराटनगरका विद्यार्थी (कलाकार) हरुले मञ्चन गर्नुथियो । कतिपय बाल कलाकारहरुको अनुहारमा चिन्तासँगै उत्साहको चमक देखिन्थ्यो । कतिपयको अनुहारमा आफ्नो प्रस्तुती बिग्रने हो कि भन्ने डर पनि थियो । यही बीचमा नाटक घरको बन्द पर्दा बाहिरबाट उद्घोषकले करिब ५ मिनेट खर्च गरे । सो समय अवधिमा नाटक समारोह उद्देश्यका बारेमा निपाका महासचिव बी.एम.डी अग्रवाल प्रष्ट पारे । उनले नेपालको तर्फबाट सहभागी विद्यालयकी प्रमुख राज्य लक्ष्मी गोल्छालाई केही शब्द राख्ने अवसर प्रदान गरे । उनले गोल्छालाई खादा ओढाएर सम्मान पनि गरे । प्रमुख अतिथिका रुपमा सो मञ्चमा उपस्थित उनले नेपाल र भारत बीचको रोटी र बेटीको सम्बन्ध रहेको चर्चा गर्दै यस्ता नाट्य समारोहले दुई देश बीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै पर्यटन विकासमा महत्वपूर्ण योगदान हुने बताइन् ।
बाल नाटकको क्षेत्रमा सन् १९८५ देखि क्रियाशिल दिल्लीको निपा नामक नाट्य संस्थाको आयोजना र बाल रंग मण्डलको सहयोगमा संचालित १५ औं अन्तर्राष्टिय नाट्य समारोहमा करिब ५ मिनेटको औपचारितापछि बन्द पर्दा बिस्तार खुल्छ । पर्दा खुल्नासाथ नेपालको बारेमा बनाइएको वृत्तचित्र प्रर्दशन गरियो । जसमा नेपालको सांस्कृतिक विविधतता, धार्मिक पर्यटन, ऐतिहासिक स्थलका बारेमा राम्रोसँग चित्रित गरिएको थियो । करिब ७ मिनेटको सो वृत्तचित्र प्रर्दशन पछि पर्दा बन्द हुन्छ । बन्द पर्दासँगै बुद्धम शरणम् गच्छामीको शान्तिमय धुन बजेसँगै बन्द पर्दा खुल्छ र बाल कलाकारहरु मञ्चमा देखिनासाथ दर्शक दिर्घामा ताली गड्गडहाट सुनिन्छ ।
राज्य लक्ष्मी गोल्छाको लेखनमा मञ्चन गरिएको सो नाटकमा भगवान गौतम बुद्धले शान्ति प्राप्तीका लागि दरबार छाडेर वनबास गएको र बुद्धत्व प्राप्त गरेको ऐतिहासिक कथा प्रस्तुत गरिएको थियो । सो नाटकमा महत्वका साथ गौतम बुद्ध नेपाली भूमि लुम्बिनीमा जन्मिएको र संसारभरी शान्ति फैलाएको सन्देशले बेला बेलामा गौतम बुद्ध भारतीय भूमिमा जन्मिएको अफवाह फैल्याउने भारत र नाटक मञ्चन गर्ने नागरिक नाटक मण्डलीमा भेला भएका भारतका ठूला मिडिया हाउसका संचारकर्मीहरुलाई ठूल्लै झापड हानेको थियो । सोही सन्देश बोकेको सो नाटक दिल्लीमा पनि मञ्चन गरिएको थियो । सो नाटकको विषयबस्तुले दिल्लीमा पनि राम्रै प्रशंसा बटुल्न सफल भएको थियो । नाटकको निर्देशकीय पक्ष कमजोरका कारण नेपालको नाटक मञ्चनमा केही खल्लोपना पनि पाइयो । सरिता गिरीले गरेको निर्देशनमा मञ्चित सो नाटकमा सहभागी बालकलाकारहरुको अन्य देशका बालकलाकारहरुको भन्दा अभिनय पक्ष निकै कमजोर देखियो । नाटकका पारस गोल्छा, सफलता भण्डारी, एस अधिकारी, ज्ञान्दा गोल्छा, एस धाडेवा लगायतका १६ बाल कलाकारहरुले अभिनय गरेका थिए ।
नेपालको नाटक मञ्चनपछि भारतको उडीसाको तर्फबाट लाल पैन (रातो पानी) शिर्षकमा नाटक मञ्चन गरियो । उडिसामा भारत सरकारको तर्फबाट बाँध निर्माण गर्नुअघि त्यहाँका आदीवासी जनजातीहरुले गरेको आन्दोलनलाई सजीव तरिकाले उतारिएको थियो । बाँध निर्माणअघि गरिएको आन्दोलन, सोही बाँधलाई भजाएर जनतालाई नेताहरुले गरेको कुठाराघात, बाँध निर्माणपछि लाखौं आदीबासी जनजातिको गुमेको कृषिजन्य भूमि, घरवारविहीन भएकाहरुको कथा, बाँधका कारण उडिसाका हजारौं जनताले ज्यान गुमाउनु पर्दाको पीडा लगायतका बिषय बस्तुलाई जीवन्त नाटकमा मञ्चन गरिदा दर्शकबाट निरन्तर ताली बजिरह्यो । सो नाटक पूरै हेरिसकेपछि नेपालका तर्फबाट नाटकमा सहभागीहरुले भारत सरकारले कोशीमा बनाउन लागेको उच्चबाँधलाई सम्झिए । उनीहरुले भारतले कोशी उच्चबाँध बनाएर उडिसाको भन्दा बढी क्षति नेपालले बेर्होनेमा चिन्तित देखिन्थे ।
उडिसा भाषामा मञ्चन गरिएको सो नाटकमा त्यहाँका आदीबासी जनजातिहरुको संस्कृति र धार्मिक पक्षलाई पनि निर्देशक सुभास प्रधानले राम्रोसँग फ्युजन गराएका थिए । उनकै लेखनमा तयार पारिएको सो नाटकमा बाल कलाकारहरुको अभिनय पक्षमा खोट लगाउने ठाउँ पाइएन् । सो नाटक उडिसाको एस.डि.ए. मिरर थियटरको प्रस्तुती थियो । उनीहरुको प्रस्तुती पछि हालको नई दिल्ली (पुरानो दिल्ली) को एक गल्लीको कहानीलाई टैलेण्ट नामक बाल नाटककर्मीहरुको संस्थाका कलाकारहरुले ‘किस्से हमारी गलियों के’ नाटक मञ्चन गरियो । जसका लेखक ÷निर्देशक इसाद आलम खुबी थिए । निर्देशक देखि सबै कलाकारहरु मुस्लिम समुदायका थिए । हिन्दी भाषामा मञ्चन गरिएको सो नाटकले पनि एउटा शहरको एक गल्लीमा भएका ऐतिहासिक, धार्मिक र पर्यटकीय बिषयमा जानकार नहुनेहरुका लागि राम्रै सन्देश दिएको थियो ।
आधुनिक शहरमा रुपमा विकास हुँदै गएको भारतका कतिपय ठाउँमा त्यस स्थानको लोक कथा, ऐतिहासिक घटनाक्रमहरु हराउदै गएका छन् । जसका कारण कतिपय शहरमा बारेमा देशभित्र र बाहिरकालाई केही जानकारी छैन् । भारतका सुलतान र ब्रिटिस शासन, स्वतन्त्रताका लागि गरिएको आन्दोलन, अहिलेसम्म भारतमा चलिरहेको शासन अवस्था र नाटका रंगहरुको माध्यमबाट उत्कृष्ट तरिकाले मञ्चन गरिएको थियो । सो नाटकमा बढी महिला कलाकारहरुको सहभागीता थियो । अहिले पनि मुस्लिम महिलाहरु बुर्कामै सीमित छन् । उनीहरु अझै पनि यो समाजका हरेका गतिविधिमा सरिक हुदैनन् । विद्यार्थी जीवनकाल देखि उनीहरुलाई यस्ता कार्यक्रममा सहभागी गराउदा सो संस्कारलाई बिस्तारै तोड्न सहयोग मिल्ने भएकाले आफूले बढी महिला कलाकारहरुलाई सहभाीगता गराइएको निर्देशक खुवीले बताए ।
शुक्रबार सो मञ्चमा बाल रंग मण्डल वाराणसीका बालकलाद्वारा पसीना पसीना नामक नाटक मञ्चन गरेका थिए । त्यसैगरी कार्पे डिएन स्लोवेनियाका बालकलाकारहरुले इन्फर्नो नामक नाटक मञ्चन गरेका थिए । त्यसअघि दिल्लीमा ९ वटा नाटक मञ्चन गरिएको थियो । भारतका केही राज्य बाहेक धेरै राज्यमा पछिल्लो समयमा ज्यादै कम नाटकहरु मञ्चन हुन थालेका छन् । ठूलो प्रतिस्पर्धामा फिल्मी निर्माण क्रम रोकिएको छैन् । नाटकीय मञ्चन नहुनेसँगै लोकसंस्कृतिहरु पनि हराउदै गएका छन् । आधुनिताका नाममा शहरहरुमा साहित्य, नाटकीय र सांस्कृतिक गतिविधि शुन्य प्राय छ । नाटकीय गतिविधिमा आएको सुस्ततालाई गतिशिलता प्रदान गर्ने उद्देश्यले निपा नामक संस्था संस्थापना गरी बाल नाटकको क्षेत्रमा काम गर्दै आएको सो संस्थाका महासचिव अग्रवालले बताए ।
भारतमा व्यवसायका लागि नभई शोकका लागि मात्र नाटक मञ्चन हुने गरेको जनाउदै नाटकलाई व्यवसायीकरण गर्नका लागि पनि काम गर्न जरुरी रहेकाले संस्थाले काम गरिरहेको उनले बताए । एक देशका सांस्कृतिक, धार्मिक र पर्यटकीय अवस्थाका बारेमा आदन–प्रदान गर्ने अवसर सिर्जना गर्नका लागि विगत १५ वर्षअघिबाट निपाले अन्तराष्ट्रिय नाटक समारोह गर्दै आएको छ । विद्यार्थी जीवनकालदेखि नै एक देशका बालबालिकाले अर्को देशका बालबालिकासँग घुलमिल गर्ने अवसर पाउनुका साथै आ–आफ्नो प्रतिभा पनि प्रर्दशन गर्ने अवसर पाउछन् । साथै संस्कृति सम्बन्ध पनि मजबुद हुँदै जान्छ । एक देशका बारेमा अर्को देशका बालबालिकाले बुझ्न र सिक्न पाउँछन् पनि । जसबाट पछि गएर देशको सम्बन्धपनि प्रगाढ बन्दै जाने भएकाले अन्र्तरािष्ट्रय नाटक समारोह गरिदै आएको अग्रवालले बताए ।


0 Comments:
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- माथि 'Post a Comment' क्लिक गर्नुहोस् र तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!
@ Mobile Version