Friday, November 25, 2011

छोरीले ज्वाइँ पाल्न सक्छे : कोमल वली

  • आफ्नो बाल्यकाल याद छ ?
गाउँ घरमा हुर्केकी हुँ । स्कुल जान २५ मिनेट हिँड्नु पथ्र्यो । कक्षा ६ सम्म गाउँकै साथीहरुसँग पढेँ । सात/आठ कक्षाबाट गाउँका साथीहरु छुट्दै गए । कसैको विवाह भयो, कसैले पढाई छोडे । गाउँबाट अन्तिममा म मात्र बि.ए. पास गर्ने थिएँ । हामी खुब खेल्थ्यौं। तीज पञ्चमी अनि पूजाआजामा रमाइलो गर्दथ्यौँ, गाउने र नाच्ने गथ्र्यौं । मलाई खेत रोप्न साह्रै मनपथ्र्यो । खेलकुदमा पनि म सक्रिय थिएँ, भलिबल टिमको क्याप्टेन थिएँ । अन्र्तराष्ट्रिय खेलाडीमा गनिन्थेँ । सार्क र एसियाली प्रतिस्पर्धामा पनि भाग लिएको थिएँ ।

  • भनेपछि बाल्यकालमा ‘छिमलकी’ हुनुहुँदोरहेछ, के कस्ता समस्याहरु भोग्नुभयो ?
मैले जीवनमा धेरै समस्याहरु खेपेँ । गाउँमा त्यतिबेलाको समयमा छोरीहरुलाई पढाउनु हँुदैन भन्ने गलत धारणा थियो । घरको दैलोबाट बाहिर निस्कनु छोरीका लागि निकै चुनौतिको विषय थियो । तर मेरा आमाबुवाले कसैको कुरा नसुनेर मेरी छोरीले जतिसम्म पढ्न चाहन्छे उसको चाहनाअनुसार पढोस् भन्नुहुन्थ्यो । बेलाबेलामा अरुले भनेको कुरा सुनेर मलाई सम्झाउनु हुन्थ्यो । तिमी छोरी होऊ, आफ्नो संस्कारलाई नबिर्सनु भन्नुहुन्थ्यो र त्यो कुरा जहिले पनि मेरो मनमस्तिष्कमा आइरहन्थ्यो ।

  • भलिबल खेलाडी गायिका कसरी हुनुभयो ?
म गायिका बन्छु भन्ने कुनै इच्छा थिएन । बुबालाई विशेषगरी मलाई एउटा शिक्षिका बनाउने, गाउँको सेवामा लगाउने र त्यहीँबाट राजनीतिमा लगाउने रहर थियो र म पनि बुबाले भनेको कुरा गर्छु भन्ने लाग्थ्यो । तर परिस्थिति यसरी बदलिदै गयो । कलेज पढ्दा म अतिरिक्त क्रियाकलापमा खुब सक्रिय थिएँ । लोकदोहोरी प्रतियोगितामा भाग लिन्थेँ र क्यारीकेचर पनि गर्थेँ । रेडियो नेपालमा कृष्ण ताम्राकार दिदीले समाचार पढेको दुरुस्तै क्यारिकेचर गरिदिन्थेँ । सबै साथीहरु ओलीले समाचार पढेको कस्तो राम्रो भन्थे । यसैबीच वि.सं. २०४९ सालमा रेडियो नेपालमा समाचारवाचकको लागि आवेदन मागेको थियो । मैले फर्म भरेर परीक्षा पनि दिएँ । उतीर्ण भएँ । त्यसलगत्तै वैशाख १ गतेबाट नै रेडियो नेपालमा काम गर्न थालेँ ।म तारादेवी, ज्ञानु राणा दिदीले गाउनुभएको गीतहरु गाएर सुनाउथेँ । सरहरुले पनि तिमी राम्रो गाउछ्यौ, गायिका हौ भन्नुहुन्थ्यो । वि.सं. २०४१ सालमा राष्ट्रियस्तरको दोहोरी गीत प्रतियोगिता भयो । म स्कुलमा नै थिएँ । विरगञ्जमा कार्यक्रम आयोजना गरिएको थियो । १४ अञ्चल मध्ये १३ ले भाग लिएका थिए । भाग्यावश त्यो प्रतियोगितामा म प्रथम भएँ । त्यसपछि सबैले मलाई दोहोरी गायिका भनेर चिन्न थाले । फेरि २०४४ सालमा रेडियो नेपालले लोकगीत कार्यक्रम गरेको थियो । म र मेरो बहिनी (जो रेडियो नेपालमा कार्यक्रम चलाउँछिन्) ले जितिहाल्यौ । अब स्वर परीक्षा नै गर्नुपरेन । रेडियो नेपालमा गीतहरु रेकर्ड गर्न थाल्यौँ । मेरो प्रसिद्धी दाङतिर राप्ती, अञ्चलतिर ओली ओली भन्ने बित्तिकै तपाईं ‘रेडियोमा गीत गाउने’ भनेर स्थापित हुनपुग्यो । यसरी गीतसंगीतमा त एकदमै नाम रहेछ भनेर म गायिका बनेँ ।
  • तपाईं सञ्चारकर्मी, सरकारी जागिरे, गायिका बनेर हिँडिराख्नुहुन्छ । कसरी समय संयोजन गर्नुहुन्छ ?
समयको संयोजनमा अलि ध्यान दिन्छु । अहिले म रेडियो नेपालमा समाचार इन्चार्ज छु । रेडियो नेपालमा काम गरेको पनि १५/१६ वर्ष भयो । त्यो हुनाले म अलि सिनियर पनि भएँ । रेडियो नेपालले मलाई माया गरेको छ । रेडियो नेपालबाटै आवाज सुनाएर मैले आफ्नो नाम पनि कमाएँ त्यो हिसाबले मैले पूजा गर्ने मेरो मन्दिर पनि हो– रेडियो नेपाल । जब काठमाडौंमा हुन्छु तब समाचार शाखाको सम्पूर्ण काम गर्छु । समाचार लेख्ने, सम्पादन गर्ने, पढ्ने अरु साथीहरुसँग समन्वय गरेर साथीहरुलाई छुट्टि चाहिएको छ भने आफूले काम गरेर छुट्टी मिलाइदिने गर्छु र म बाहिर जानुपरेमा उनीहरुले नै मलाई सहयोग गर्ने गर्छन् ।

  • प्रसङ्ग मोडौं, वास्तवमा नेपाली महिलाहरु किन पछाडि होलान् ?
महिलाहरु स्वयमं आफैँले निर्णय गर्ने हैसियतमा पुग्नुपर्छ । हाम्रो सामजिक बनावट नै कस्तो छ भने हामीले विवाह गरेर छोरी दिँदा केटाले छोरी पल्न सक्छ/सक्दैन, केटाले कति पढेको छ, केटाको कुलघराना कस्तो छ भन्छौँ तर हाम्रो छोरीले ज्वाइँ पाल्न सक्छे/सक्दिन भनेर हेर्दैनौँ । केटा ठिक्क छ भने छोरी दिए के फरक पर्यो र ? अब आमाबुवाले छोरीले कमाएर ज्वाइँ पाल्न सक्छे भन्नुपर्छ । त्यसकारण सोचमै परिवर्तन आउन जरुरी छ । हामीले हाम्रा छोरीहरुलाई परनिर्भर बनाउने हैन कि आत्मनिर्भर बनाउने हो ताकी उसको जिन्दगीमा अर्को मान्छे आउँदा पनि गाह्रो नहोस् । हाम्रा दिदीबहिनीहरु जति शिक्षित भए पनि परनिर्भर छन् । श्रीमानले नै सबैथोक गरिदेओस् भन्छन् त्यो गर्दा चाहीँ महिलाहरु के हुन्छन जसकारण उनीहरु परनिर्भर बनेका हुन् । माइतीमा बाबुआमाको, विवाह गरेपछि श्रीमान्को र छोराछोरीको गरिरहे चाहे शिक्षित होस् या अशिक्षित महिला घर भित्रै रहन्छिन् । यसकारण अल्छी गर्ने, घरबाहिर निस्कन झर्को मान्ने हुन्छन् । अलिकति हिँड्यो भने खुट्टा दुख्यो भन्ने गर्छन् यसरी विकास हुन सक्ला र ? पुरुषहरुले आफ्नो क्षेत्रमा गरिरहेका छन् । पुरुषहरु नै बाधक भनिन्छ तर पुरुष बाधक होइनन् हाम्रो आत्मबल नै बाधक हो । हाम्रो क्षमतानै बाधक हो ताकि हामी अगाडी आएर दुईवटा कुरा बोल्न सक्दैनौँ अनि अरुलाई दोष लगाउने ? यदी तपाईं महिला हुनुहुन्छ र तपाईंसँग क्षमता छ भने आउनुहोस्, सिर्जना प्रष्फुटन गर्नुहोस्, प्रतिस्पर्धामा उत्र्रनुहोस् । तपाईंलाई कसले मान्दैन ? हरेक क्षेत्रमा मान्छन् । आफूलाई मान्ने बनाउन आफैँले मिहेनत गर्नुपर्छ । कसैले मानिदिएर हुदैन, त्यो दिगो रहदैन । त्यसको लागि आफैले दुःख कष्ट गर्नुगर्छ ।

  • महिला भएर महिलाको आलोचना गरेको भएन र ?
यो वास्तविकता हो । हामी महिलाहरुले नै बढी अरुको आलोचना गर्छौँ किनभने फुर्सद छ । जब मान्छे फुर्सद हुन्छ अनि अरुको कुरा काट्ने काम हुन्छ । मेरै घरमा पनि आमाहरुले टिभीमा सिरियलहरु हेरेर त्यसको कुरा गरेको देखेको छु । उनीहरुको अर्थहीन काममा समय बितिरहेको हुन्छ । उनीहरुको दिमाग पनि सिरियलले तानिरहेको हुन्छ । यदि उनीहरु मस्यौरा बनाएर एक प्याकेट बेचे भने भोली त्यसले उद्योगको रुप लिनसक्छ भन्ने सोच्दैनन् । त्यसैले कुनै नौलो कामको बारेमा सोच्न आवश्यक छ । अर्काको कुरा गरेर समय खेर फाल्नु हुँदैन । तर विडम्बना हरेक घरमा अहिले यस्तो अवस्था छ । यसर्थ महिलाको विरोधी महिला नै हुन् । पुरुषहरु बाधक भन्ने कुरा त एकछिन आउने कुरा हो । कसैले कुरा गरेर के फरक पर्छ ? तपाईं सत्य हुनुहुन्छ भने केही फरक पर्दैन । हाम्रा आमा दिदीबहिनीले पनि हाम्रा छोरीहरुलाई सक्षम बनाउने तिर लाग्दैनन । उनीहरुलाई घर कसरी चलाउने, श्रीमानको सेवा कसरी गर्ने, घर भित्रको धन्दा कसरी गर्ने, राम्री कसरी हुने त्यस्ता कुरामात्र सिकाउँछन । यस्ता कुरा आमाहरुबाट सुनेपछि हाम्रा छोरीहरु पनि कमजोर हँुदै–हुँदै गएका छन् ।

  • सञ्चार क्षेत्रमा महिलाको अवस्था कस्तो छ नि ?
सम्भावना राम्रो छ । तर व्यवसायिक पत्रकारिता जब सम्म कार्यान्वयन हुन सक्दैन, श्रमजीवी पत्रकार एन लागू हुन सक्दैन तब सम्म प्रयोग मात्र भइरहेको अवस्था छ । चाहिने बेला सम्म पत्रकारलाई प्रयोग गर्ने, नचाहिदा पत्रकारलाई फाल्ने गरेको अवस्था छ । यो चाहीँ एकदमै नाजाइज काम हो । राज्यले पहिला नै सबैको अधिकार सुरक्षित गर्नुपर्ने थियो । जब सम्म पेशा सुरक्षित हुन सक्दैन तब महिलाहरु अगाडी आउन सक्दैनन् । पहिलाको तुलनामा केही सुधार त छ तर पनि खोजी पत्रकारीतामा, रिर्पोटिङमा, फिचर लेखनमा, क्राइम रिपोर्टमा भनौ न पत्रकारिताको तल्लो तह सम्म पुगेर काम गर्ने कुरामा अझै पनि महिला आउन सकेका छैनन् । तर पनि मिहेनत ग¥यो भने ठाउँ प्रशस्त छ । अहिले यति धेरै मिडियाहरु खुलेका छन् ।

  • कलाकारितामा महिला र पुरुषबीच कत्तिको विभेद देख्नुहुन्छ ?
अब महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण नै फरक छ । महिलाहरुले अलिकति बोलेर गीत गाउदा यो कस्तो उत्ताउली भनेर भन्ने तर पुरुष त्यही बोल्यो भने हाऽहाऽऽहाऽऽऽ गरेर हाँसिदिने गर्दछन् । यो पुरुष प्रधान समाज भएर पनि हो । उदाहरणार्थ कोही महिला कलाकार स्टेजमा गएपछि उसको बडी स्टक्चरको, उमेरको बारेमा चर्चा हुन्छ तर पुरुष कलाकारहरुमा त्यो हुदैन । जतिसुकै उमेरको होस् सबै पाच्य हुन्छ । एल्बम निकाल्ने क्रममा पनि पुरुषहरुको बारेमा वर्णन गरिएको गीत छ भने ए.....केटाहरुको बारेमा वर्णन गरिएको भनेर अलि फरक तरिकाले हेरिन्छ । तर पुरुष कलाकारहरुले महिलाहरुको बारेमा वर्णन गरेको भए पनि खासै फरक रुपमा हेरिदैन । त्यसैले एकदमै विभेद छ महिला पुरुषलाई हेर्ने दृष्टिकोणमा ।

  • अन्त्य कसरी होला ?
अन्त्य न अमेरीकामा भएको छ, न त बेलायतमा । सुरुवातको प्रजातन्त्र भन्ने बित्तिकै बेलायत–अमेरीका सम्झन्छौँ । त्यसकारण उनीहरुमात्र प्रजातान्त्रिक छन् जस्तो लाग्छ । आ–आफ्नो देशको आ–आफ्नै परिभाषा हुन्छ । हाम्रो पनि आफ्नै खालको सोचाइ छ । यो विभेदको अन्त्य पनि हुँदैन । न म मेरो बाबालाई बाबा भन्न छोड्छु न त मेरो बाबाले मलाई छोरी भनेर तँ भन्न छाड्नुहुन्छ । यदी छोड्यो भने पनि हामीलाई अनौठो लाग्छ । त्यसैले जस्तो किसिमको वातावरण छ त्यसैलाई एडप्ट गर्दै त्यस कुरालाई कसरी परिवर्तन गर्ने भन्ने कुराचाहीँ मुख्य हो । विभेद अन्त्य गर्नका लागि चाहीँ हामीले घरबाटै सुरु गर्नुप¥यो । छोरा र छोरीलाई हेर्ने दृष्टिकोण एउटै हुनुपर्दछ । दृष्टिकोण एउटै बनाएर मात्र पनि भएन हाम्रो संरचना नै यस्तो छ कि छोरीलाई कुनै बेला समस्या आइप¥यो भने आमासँग खुलेर कुरा गर्न पनि सक्दैन । उसले अपराध गरिरहेको हँुदैन । उसको उमेर अनुसार हुँदै जाने परिवर्तनले पनि छोरीलाई फरक पार्न सक्छ । जहाँ बाबाआमाले छोराछोरीलाई, छोराछोरीले आमाबाबुलाई खुलेर आफ्ना समस्याहरु राख्न सक्दैनन् त्यहाँ कसरी हुन्छ विभेद अन्त्य ?
Share on :

1 Comments:

  1. कोलम वली मेरी प्रिय गायिका हुन् । यो गफगाफले उनका बारेमा धेरै बुझ्न सहयोग पुर्याएको छ । धन्यवाद राजेश जी ।

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- माथि 'Post a Comment' क्लिक गर्नुहोस् र तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

@ Mobile Version

 
© Copyright अनलाइन खसखस : Rajesh Natamsha's blog 2011 - सम्पूर्ण अधिकार ब्लग लेखकमा | Email me blogs.rajesh@gmail.com.