Friday, December 09, 2011

लहैलहैमा ब्रह्मकुमारी

रेखा भुसाल
गुल्मी तम्घासकी प्रतिभा पाण्डे चञ्चले र जिद्धी स्वभावकी थिइन् । आफूले भनेजस्तो हुनैपथ्र्यो । नाच्ने, गाउने उनको सानैदेखिको रूचि थियो, ठूलो भएर डान्सर बन्ने र देश–विदेश घुम्ने सपना देख्थिन् । तर, उमेरसँगै उनका चाहना र रूचिमाथि घरपरिवार छर–छिमेकका बन्देजहरू बढ्दै गए । ‘छोरी मान्छे धेरै बोलेको र नाच्दै, गाउँदै हिँडेको राम्रो हुँदैन,’ जस्ता अर्ती–उपदेश पाउन थालिन् । साथीभाइसँग उनी आफ्नो लक्ष्यमा पुग्न र स्वतन्त्र जीवन जिउन छोरा नै हुनुपर्नेरहेछ भन्थिन् । एक दिन साथीकै आग्रहमा उनी ब्रह्मकुमारीको प्रवचन सुन्न तम्घासको राजयोग प्रशिक्षण केन्द्र पुगिन् । शान्त वातावरण, स्वतन्त्र जीवन उनलाई मन प¥यो । प्रवचनमा भनिएजस्तै समाजको डरत्रासमा एउटी छोरी, बुहारी र आमा मात्र भएर बाँच्नुभन्दा स्वतन्त्र रूपमा मानवसेवामा जीवन समर्पित गर्नु उनलाई राम्रो लाग्यो ।

उनको यो निर्णयले घरमा भुइँचालो गयो । लामो प्रयासपछि घरपरिवारलाई राजी गराइन् । यसरी १९ वर्षको कलिलो उमेरमै उनी ब्रह्मकुमारी बनिन् । सेतो पहिरनमा बाँचुन्जेल ब्रह्मचर्यको नियमअनुसार मानव सेवामा लाग्ने अठोट लिएकी प्रतिभा हिजोआज बुटवलमा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको राजयोग प्रशिक्षण केन्द्रमा बस्छिन् । उनी बुटवल बहुमुखी क्याम्पसमा बीएड पढ्दै पनि छिन् । राजयोगमा आएपछि उनको रिसाउने, झर्कने स्वभावमा परिवर्तन आएको छ । भन्छिन्, ‘सट्टामा व्यावहारिक र आध्यात्मिक ज्ञान पाएकी छु ।’
नेपालका करिब एक हजार महिला ब्रह्मकुमारी र दुई सय पुरूष ब्रह्मकुमार बनेका छन् । तीमध्ये पश्चिम नेपालमा मात्रै पाँच सयको हाराहारीमा छन् । त्यसमध्ये पनि सानो उमेरमै विरक्तिएर ब्रह्मकुमारी बन्नेको सङ्ख्या बढ्दैछ । त्यसको उदाहरण कैलाली टीकापुरकी लिना हुन् । आमाको अभावमा विरक्तिएर चौध वर्षमै ब्रह्मकुमारी बनेको उनले बताइन् । ‘आमा सानैमा बित्नुभो, बाबा भारतमा बस्ने, घरमा सानीआमा र भाइबहिनी थिए । मलाई आफ्नै आमाको चाहना हुन्थ्यो, त्यसैले घरमा बस्न मन नलागेर एक दिन बेसुरमा टीकापुरबाट बस चढें । रूपन्देहीको खैरेनीमा आइपुग्दा सेतो पहिरनमा दुईजना दिदी देखें । उनीहरूलाई सबै बताएर यहाँ आएँ । त्यतिबेलासम्म मैले ब्रह्मकुमारी देखेकी र सुनेकी पनि थिइनँ,’ लिनाले पाँच वर्षअघिको यथार्थ खोलिन् ।

लिनाले यहाँबाट फर्काउन घरपरिवारले अनेकौं प्रयास गरेको भए पनि यहाँ आइसकेपछि मनभित्रको तनाव शान्त भएकाले आफू नफर्केको बताइन् । ‘तनावबाट मान्छेलाई छुटकारा दिलाउन चाहन्छु, कुनै बालबालिका १४÷१५ वर्षको उमेरमा विरक्तिएर हिँड्न नपरोस् । त्यसका लागि हरेक अभिभावकलाई पारिवारिक माया सबैभन्दा ठूलो सम्पत्ति हो भनेर बुझाउनेछु,’ उनी भन्छिन्, ‘त्यही उद्देश्य पूरा गर्न घर फर्किनँ ।’
लिना अहिले बालबालिका र युवा दुव्र्यसनमा किन लाग्छन्, त्यसको समाधान के हो भन्ने खोजीमा जुटेकी छिन् । त्यसैले ईश्वरीय विश्वविद्यालयले आयोजना गर्ने प्रवचनमा उनी बालबालिकालाई मायाले सपार्न सकिन्छ भन्ने प्रवचन दिन्छिन् । उनी पैसामात्र लगानी गरेर पढाइएका बालबालिका पछि पेसा र पैसाले मात्र ठूलो देखिए पनि व्यावहारिक र मानसिक रूपमा सुखी र खुसी हुन नसक्ने बताउँछिन् ।

हरेक दिन बिहान साढे तीन बजे उठ्नु, आधा घन्टाको योग सकेर व्यक्तिगत सरसफाइपछि सामूहिक शिक्षा लिनु ब्रह्मकुमारीहरूको दैनिकी हो । भान्सामा खाना बनाउनु, रिसेप्सनमा बस्नु, अफिस कोठा, हल सफा गर्नु, बगैंचाको रेखदेख गर्नु पनि उनका नियमित काम हुन् । साकाहारी खाना खानु र सेतो पहिरन लगाउनु ब्रह्मकुमारीको चिनारी हो । सेतो कपडा नै किन त ? प्रमुख प्रशिक्षक ब्रह्मकुमारी कमला भन्छिन्, ‘सेतो रङ्ग शान्ति, स्वच्छता, सेवाभावको रड्ग हो । त्यसैले देख्ने र लगाउनेलाई पनि शीतलता देओस् भनेर सेतो रङ्गको कपडा लगाउने गरिन्छ ।’

धार्मिक ग्रन्थका अनुसार भारतको सिन्ध प्रान्त हैदरावादका हिरामोतीका व्यापारी दादा लेखराजले ६० वर्षको उमेरमा सन् १९३७ मा जगदम्बा सरस्वती ‘मम्मा’ को अगुवाइमा आठजना महिलाको समूहलाई सबै सम्पत्ति सुम्पेर ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र स्थापना गरेका थिए । नेपालमा वि.सं.२०२३ सालमा पूर्वमा विराटनगरमा सातदिने योग प्रशिक्षण र प्रवचन कक्षाबाट यसको सुरूवात गरिएको थियो । नेपालको भैरहवामा वि.सं.२०३५ सालमा यसको जग बसाल्ने काम नेपालकै पहिलो ब्रह्मकुमारी प्रणिता दिदीले गरेकी हुन् । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र बुटवलको रेखदेखको जिम्मा पाएकी ब्रह्मकुमारी सीमाका अनुसार अहिले नेपालमा आठवटा विश्वविद्यालय र करिब ६ सय शाखा, उपशाखा र एकाइ कक्षा छन् ।

झट्ट नाम सुन्दा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय नै होला भन्ने लाग्छ । तर, त्यहाँ पढाउने भनिँदैन, ज्ञान दिने भनिन्छ र ईश्वरीय ज्ञान दिइन्छ । निश्चित समयमा निश्चित कोर्स गरेपछि उत्तीर्ण– अनुत्तीर्ण छुट्याउने, प्रमाणपत्र दिने काम पनि हुँदैन । ब्रह्मकुमार नरेन्द्रका अनुसार यहाँ ज्ञान लिन चाहनेलाई सुरूमा सातदिने कोर्स गराइन्छ । जसमा आध्यात्मिकवादको सत्य परिचय, आफूलाई आफैंले चिन्न सिकाउने, आफूभित्र जगत् खोज्न सिकाउने र भगवान्को राम्रो कामको अनुशरण गर्न सिकाइन्छ । त्यसपछि समाजसेवामा समर्पित गराइन्छ ।

ब्रह्मकुमारीहरू ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले आध्यात्मिक रूपमा ज्ञान दिएरै मानव सेवा गरेको दाबी गर्छन् । उनीहरूका अनुसार ब्रह्मकुमारी भनेको ब्रह्मचारी बन्न सिकाउने शिक्षा होइन । जुन व्यक्तिले जुन काम गरेर बाँचेको छ त्यो जीवनलाई कसरी मर्यादित र अनुशासित बनाउने भनेर सिकाउने शिक्षा हो । प्रणिता दिदी भन्छिन्, ‘हामीले मेरो र आफ्ना लागि मात्र नसोचेर हामी सबैका लागि सोचेर समाज सेवामा समर्पित हुन सिक्छौं । त्यसका लागि सबैभन्दा पहिले आफ्नो आचरण र सोचमा परिवर्तन गर्छौैं ।’
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा हरेक वर्ग र क्षेत्रलाई समेट्ने गरी महिला, बालबालिका, व्यवसायी, सञ्चारलगायतका विभाग छन् । अरूलाई मानवीय मूल्य–मान्यता, अधिकार र आचरणका बारेमा सिकाउँदै हिँड्ने ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा १४ वर्षे बालिकादेखि २२ वर्षे किशोरी धेरै छन् । राजयोग प्रशिक्षण केन्द्र बुटवलकी प्रमुख प्रशिक्षक ब्रह्मकुमारी कमला दिदीले ब्रह्मकुमारी बन्नैपर्छ भनेर कसैलाई कर नगरिने तर कसैले ज्ञान लिएर राम्रो लागेर यसैमा समर्पित हुन चाहेमा बालिकालाई पनि ब्रह्मकुमारी बनाइने बताइन् । तर, हामीकहाँ १६ वर्षसम्मकालाई बालबालिका भनिने, बालबालिकाले स्वविवेकभन्दा अरूले सिकाए वा निर्देशन दिएअनुसार बुझ्ने र उसलाई जुन काम गर्न उक्साइएको वा हौस्याइएको छ त्यही गर्ने अवस्था छ ।
त्यसको प्रभाव ब्रह्मकुमारीमा पनि देख्न सकिन्छ । एक वर्षअघिदेखि लागेका हुन् या धेरै वर्षदेखि, धेरैजसोलाई किन लागेको भनेर सोध्दा जवाफ उस्तै हुन्छ, ‘मानव सेवा गर्न ।’ कसरी गर्नुहुन्छ मानव सेवा ? उनीहरू भन्छन्, ‘ज्ञान दिएर ।’ कस्तो ज्ञान ? ‘ईश्वरीय ज्ञान ।’ के हो ईश्वरीय ज्ञान ? तर यसको उत्तर सहजरूपमा आउँदैन । यसले प्रश्न उठ्छ– संस्थाको विस्तार र प्रचारका लागि मात्र ब्रह्मकुमारीलाई प्रयोग गर्ने गरिएको त छैन ? केटाकेटी या किशोरावस्थामै भरूवा ज्ञानका आधारमा उनीहरू ब्रह्मकुमारी बनेका त होइनन् ? विश्व हिन्दू महासङ्घका गणेशमान सैजु आफ्नो आदर्श र ईश्वरीय मूल्य–मान्यता कायम राख्न उक्त विश्वविद्यालयले किशोरावस्था पार गरिसकेको परिपक्व मान्छेले ज्ञान पाएपछि ब्रह्मकुमारी या ब्रह्मकुमार बन्छु भन्छ भने मात्र बनाउने व्यवस्था गर्नुपर्ने बताउँछन् । अन्यथा विकृति, विसङ्गतिलाई असल आचरण र चरित्रबाटै हटाउने भनेर लागेको आध्यात्मिक संस्थाभित्रै अन्य खालका विकृति, विसङ्गति भित्रिने उनको आशङ्का छ ।
Share on :

1 Comments:

  1. सेतो वस्त्रभित्र लुकेका अश्वेत परिदृश्यहरु गजब रहेछ । विकृति, विसङ्गतिलाई असल आचरण र चरित्रबाटै हटाउने भनेर लागेको आध्यात्मिक संस्थाभित्रै अन्य खालका विकृति, विसङ्गति भित्रिने उनको आशङ्का छ ।

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- माथि 'Post a Comment' क्लिक गर्नुहोस् र तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

@ Mobile Version

 
© Copyright अनलाइन खसखस : Rajesh Natamsha's blog 2011 - सम्पूर्ण अधिकार ब्लग लेखकमा | Email me blogs.rajesh@gmail.com.