Thursday, December 15, 2011

रङ्गकर्मी अग्रवालका कार्मिक व्यथाहरु

तीर्थयात्रा वा घरमै बसेर भगवानको नाम जप्ने उमेर छ । ७५ वर्ष पूरा गरिसके पनि उनमा तीर्थ यात्रा र भगवानको नाम पुकार्ने भन्दा पनि भारतमा नाटकप्रति घट्दै गएको अभिरुचीलाई कसरी बढाउन सकिन्छ भन्ने ठूलो चिन्ता छ । भारतीय फिल्मले नाट्य विधालाई खाइसकेकोमा उनी बढी दुखित पनि छन् । शरिरको महत्वपूर्ण अङ्गको रुपमा रहेको एक हात गुमाएर पनि उनी १९८५ देखि निरन्तर बाल नाट्य क्षेत्रमा क्रियाशिल छन् । उनी अर्थात् भारतको नयाँ दिल्लीमा रहेको इन्टरनेशनल कन्ट्री अफ आर्ट (निपा) का महासचिव बिएमडी अग्रवाल । कात्तिक २९ गतेदेखि मंसिर ३ गतेसम्म निपाकै आयोजनामा भएको १५ औं अन्र्तराष्ट्रिय बाल नाट्य समारोहको सिलसिलामा भारतको धार्मिक तथा साँस्कृतिक शहर बनारस आइपुगेका महासचिव अग्रवालसँग केहीबेर भलाकुसारी गर्ने मौका पाएको थियो ।
लठ्ठीको साहरामा हामी बसेको होटल आइपुगेका उनी १५ औं अन्र्तरािष्ट्रय बाल नाट्य समारोह सम्पन्न गरेकोमा दङ्ग देखिन्थे । उनले भने, “निपाले बाल नाट्य महोत्सव बनारसमा आएर सम्पन्न गरेको पहिलो पटक हो । यसअघि भारतका २६ राज्यमा यसरी नै नाट्य महोत्सव गरिसकेको तर बनारसमा भने पहिलो पटक गरेको उनले सुनाए । बनारसका दर्शकले आफू र आफ्नो संस्थालाई माया गरेको देख्दा आफूलाई यस क्षेत्रमा अझै नयाँ काम गर्न हौसला थपिएको” भन्न पनि उनले भ्याइहाले ।
०–०–०
कुराकानीकै क्रममा उनले आफू पहिले १९८५ ताका गुजरातमा जागिर खादा भारतको कला, संस्कृति र नाटकको क्षेत्रमा काम गर्नुपर्छ भन्ने प्रेरणा मिलेको बताए । सानै उमेरमा जागिर खाने भन्दापनि साहित्य कला र संस्कृतिको क्षेत्रमा काम गर्ने ठूलो इच्छा थियो । सोही इच्छा अनुसार १९९९ मा निपा नामको संस्था रजिष्टर गरेको विधिवत् रुपमा बाल नाट्यको क्षेत्रमा काम थालिएको उनी बताउँछन् । दिल्लीको हाइकोटमा वकालत पनि गर्दै आएका अग्रवाल भारतकै चर्चित लेखक पनि रहेछन् । उनको वर्षेनी बाल नाटक, साहित्य र कानुन सम्बन्धी पुस्तकहरु प्रकाशित हुँदै आएका छन् । यसरी सबै काम कसरी भ्याउनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन, “सबै विधा अलग–अलग चीज हुन् । समय मिलाउने कुरा व्यक्तिगत रुचिको कुरा हो । अहिले यो उमेरमा आइपुग्दा सम्म सबै काम भ्याएकै छु ।”
उनले आफ्नो काम प्रति आफू सन्तुष्टि रहेको बताए । उनले गरिबका लागि आफूले निःशुल्क वकालत गरेको कुरा पनि सुनाउन भ्याए । किन ? उनले भने, “भारत जति समृद्धशाली छ । त्यति नै यहाँका मानिसहरु गरिब छन् । विहान बेलुका हातमुख जोर्न नसक्ने मानिसहरुको संख्या भारतमा ठूलो छ । पैसा नभएकै कारण कतिपयले यहाँ न्याय पाउन सकेका छैनन् । पैसाकै कारण कोही नागरिक अन्यायमा नपरुन् भन्ने मेरो मान्यता हो । त्यही भएर गरिबका लागि म निःशुल्क वकालत गर्छु । त्यसमा जतिको मज्जा शुल्क लिएर गरिएको वकालतमा आउदैन ।” अदालतमा लाग्ने शुल्क तिर्न नसक्नेहरु पनि आफ्नो फर्ममा आउने गरेको उनले बताए । त्यस्ता नागरिकलाई आफैँले पैसा हालेर कानुनी लडाइँ लड्न सहयोग गरिरहेको उनले बताए ।
०–०–०
उनले दिल्लीमा रहेको हाइकोटमा वकालत गरिरहेको प्रशंग नसकिदै पुनः बाल नाटकका बारेमा कुराकानी सुरु भयो । किन तपाईलाई बाल नाटकका क्षेत्रमै काम गर्ने इच्छा जाग्यो ? उनले भने, “हेर्नुहोस्, भारतका केही राज्य बाहेक अधिकांशमा नाटकका गतिविधि प्राय शुन्य भइसक्यो । अहिलेका धेरै सुपरहिट कलाकारहरु पनि पहिला नाटक क्षेत्रमै काम गरेर फिल्मी क्षेत्रमा प्रवेश गरेका हुन् । ठूलो प्रतिष्पर्धामा ठूलै लगानीमा फिल्म बन्ने क्रम बर्षेनी बढिरहेको छ । तर नाटकप्रति कसैको चिन्ता म देख्दिन । नाटकका गतिविधि हुने राज्यमा पनि रहरका लागि मात्र नाटक गरिदै आइएको छ । व्यवसायिक रुपमा कसैले यो क्षेत्रलाई आत्मासाथ गरेका छैनन् । नाटकमा अभिनय गर्नेहरुको पनि कमी हुँदै आएको छ । त्यहीँ भएर स्कूल पढ्ने बालबालिकाहरुलाई सानै उमेर देखि नाटक क्षेत्रमा संलग्न गरायो भने पक्कै पनि पछि उसले नाटकलाई बिर्सने छैन् । र ऊ व्यवसायिक नाटक क्षेत्रमा लाग्छ नै भन्ने सोचेर बाल नाट्य क्षेत्रको विकासका लागि मैले निपा संस्था खोलेर काम गर्न थालेको हुँ ।”
०–०–०
भारतका हरेक राज्यमा आ– आफ्नै कला, संस्कृति छन् । कला, साहित्य र संस्कृति विना राज्यको कल्पना गर्न नसकिए पनि अहिले बिस्तारै आएर अहिलेको नयाँ पुस्ताले त्यसलाई बिर्सदै आएका छन् । जसले गर्दा राज्यको अस्तित्व नै संकटमा पर्दै गएको छ । यसप्रति न त सम्बन्धित राज्य नै चिन्तित छ । न त भारतको केन्द्रिय सरकार नै । कम्तीमा स्कूले बालबालिकामा आफ्नो कला, साहित्य, संस्कृति र नाट्य क्षेत्रका बारेमा बेलै देखि जानकारी गराइयो भने विदेशी कला, संस्कृति र साहित्यतर्फ आकर्षित त हँुदैनन् । अग्रवालले बालबालिकालाई सानै उमेरदेखि सांस्कृतिक र नाट्य गतिविधिमा संलग्न गराएमा उनीहरुको व्यक्तित्व विकास हुनुका साथै उनीहरुमा मानवीय गुणको पनि विकास हुने बताउँछन् । आफूले आफ्नै विकास गर्ने छन् र हराउँदै गएको भारतीय नाट्य क्षेत्रलाई सुधारतर्फ लैजाने उनको भनाइ छ ।
०–०–०
अन्र्तराष्ट्रिय बाल नाट्य समारोह गर्नुको उद्देश्यमाथि प्रकाश पार्दे अग्रवालले भने, “धेरै राष्ट्रका बाल कलाकारहरुलाई एउटै मञ्चमा उतारेर नाटक प्रस्तुत गर्दा साँस्कृतिक सम्बन्ध मजबुद हुन जान्छ । अर्कोतर्फ एक देश र अर्को देशबीचको सम्बन्ध पनि मजबुद हुन्छ । एक देशका बालबालिकाले अर्को देशको कला, साहित्य, संस्कृति र नाट्य क्षेत्रलाई राम्ररी बुझ्न पाउँछन् । एक अर्कामा घुलमिल हुन पाउँछन् । अनुभव आदन–प्रदान गर्नुका साथै धेरै नयाँ कुराहरु सिक्न पाउँछन् । अर्कोतर्फ देशलाई चिन्ने मौका पाउँछन् । जसले गर्दा भविष्यमा गएर राष्ट्रको सम्बन्ध पनि मजबुद हुन्छ ।
०–०–०
भारतमा नाट्य गतिविधिमा आएको मन्दीप्रति चिन्ता व्यक्त गर्दै समाधानका केही उपायहरु पनि बताए । उनले भारतको गुजरात, कलकत्ता र महाराष्ट्र बाहेक अन्य क्षेत्रमा नाट्य गतिविधि कम भएको बताए । उनले अब भारतको केन्द्रिय सरकारले देशभरी नै विद्यालयमा नाट्य विषयलाई अनिवार्य विषयका रुपमा लागू गर्न जरुरी छ । यसो गरिए नाट्य क्षेत्रमा राम्रो सुधार आउने उनले भनाइ छ । अर्कोतर्फ नाट्य क्षेत्रलाई कसरी व्यवसायिक बनाउन सकिन्छ भन्नेतर्फ पनि सरकारले सोच्नुपर्ने समय आएको बताए । विद्यार्थी जीवन देखि नै नाटकका बारेमा तालिम दिने हो भने यो क्षेत्रले अन्र्तराष्ट्रिय तहमै ठूलो परिर्वतन ल्याउने उनको दाबी छ । अर्कोतर्फ अहिले नाटकिय गतिविधि भइरहेका ठाउँमा पनि गुणस्तरीय नाटक बन्न जरुरी छ । त्यसका लागि लेखन, निर्देशन र अभिनय पक्ष उत्तिकै मजबुद हुन जरुरी छ । प्राविधिक पक्ष पनि शसक्त हुन जरुरी रहेको उनको भनाइ छ । सामाजिक भावनालाई छोएको नाटक मात्र दर्शकले रुचाउने उनले बताए । नाटकले सामाजिक बाहेक साँस्कृतिक, राजनितिक कुरालाई पनि सँगै लिएर जानुपर्छ तर स्वतन्त्र रुपमा । एकतर्फी कहिले पनि हुनुहुदैन । त्यसपछि नाटक हेरेर दर्शकले पक्कै पनि सोचमा परिर्वतन गर्ने अग्रवालले बताए । उनले फिल्म लाग्नु भन्दा एक महिना अगाडी टिकट बुक भइसकेको हुन्छ । नाटक भनेपछि टिकट बिक्री गर्न नै नसक्ने अवस्था छ । अब त्यसलाई पनि सुधार गर्न जरुरी रहेको बताए ।
०–०–०
नाटककै शिलशिलामा एक पटक नेपालको राजधानी काठमाण्डौं पुगेको प्रशंसक निकाल्दै अग्रवालले भने,“कला, संस्कृति, साहित्य र नाट्य क्षेत्रको हिसाबले नेपाल धेरै धनी रहेको मैले पाएँ । उनले प्राकृतिक हिसाबले पनि उत्तिकै सुन्दर देशका रुपमा आफूले पाए । फेरी एक पटक जाने इच्छा जागेको छ । नाटक क्षेत्रलाई जीवित राख्नुपर्छ । त्यसैको माध्यमबाट नेपालमा शान्ति कायम होस भन्ने मेरो इच्छा पनि छ । नाट्यकर्मीले राजनितिमा लाग्नु हुँदैन । जवसम्म राष्ट्रमा शान्ति आउँदैन तबसम्म विकास हुँदैन । त्यसकारण शान्ति ल्याउने कुरामा नाटककर्मी लाग्न जरुरी छ । ’ उनले नेपाली नाट्य क्षेत्र र नाटकर्मीको भविष्य राम्रो देखेको बताए ।
Share on :

0 Comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- माथि 'Post a Comment' क्लिक गर्नुहोस् र तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

@ Mobile Version

 
© Copyright अनलाइन खसखस : Rajesh Natamsha's blog 2011 - सम्पूर्ण अधिकार ब्लग लेखकमा | Email me blogs.rajesh@gmail.com.