![]() |
| सिजन नयन |
हावाको रङगम्भीरेले हावाको रङ देख्यो
भन्दै थियो—
आमा ! हावा त हरियो पो हुँदो रहेछ
नपत्याए ऊ पर हेर्नुस् त
कस्तरी हरियै नाचिरहेको छ हावा
बाँसझ्याङको तालमा ।
गम्भीरेले अर्को बिहान पनि देख्यो— हावाको रङ
भन्दै थियो—
बाबा ! हावा त रातो पो हुँदोरहेछ ।
नपत्याए क्षितिजमा हेर्नुस् त
सूर्यको लालिमा अँगाल्दै
कस्तरी रातै मुस्कुराइरहेको छ हावा
उन्मादको तरङ्गमा
अस्ति त गम्भीरेले
साँझमा पनि देखेछ— हावाको रङ
भन्दै थियो—
कान्छा ! हावा त सेतै पो हुँदो रहेछ बुझिस्
नपत्याए व्योमका ताराहरूलाई सोध् त
बादल र हावाको समागमबाट
कस्तरी सेतै रात जन्मिएथ्यौ
त्यो बेला धरतीमा ।
यसरी गम्भीरेले देख्न त देख्यो
तर प्रत्येक दिन/प्रत्येक पटक
बेग्ला बेग्लै देख्यो— हावाको रङ
हरियो, रातो, सेतो, कालो, पहेँलो,
आसमानी, गुलाबी, बैजनी, .......
त्यसपछि पनि अर्को, क्रमशः अर्को गर्दै
गम्भीरेले सप्पै सप्पै रङमा देख्यो
हावाको रङ ।
हावालाई नीलै देखेको एक बिहान
हावाकै लयमा सुस्केरा हाल्दै
गम्भीरे भन्दै थियो—
नानीहरू हो !
हावा त छेपारोजस्तै पो हुँदो रहेछ
रङ फेरिरहने, बुझ्यौ ?
मौनताको जङ्गल
यादको आँधीबेहरीमाहराएकी उनलाई
सम्झनामा इन्द्रजाली सपनाहरू
छाडेर गएको छ भन्दिनू
यता,
भ्रमित रुखका स्पर्शहरूले
प्रेमको प्यारासुट खस्यो
मौनताको जङ्गलमा
उता,
आँसुको पर्वतमा
तरुनी साँझहरू ओर्लिँदा
समीरका पञ्जाहरू बाँधिए
कविताका रसायनहरू पग्लिए
प्रेमका तेजस्वी आँखाहरू बिलाए
भन्दिनू
बेवास्ताको प्वालमा छोपेर
जङ्गली झारहरूले
एउटा बलिदान
पर्खाइमा बसेको छ भन्दिनू
अझ
इस्तरुन*को मन्दिरमा
छुटेकी उनलाई
पेरुङ्गोमा पसिनाका ऐँजेरुहरू
छाडेर गएको छ भन्दिनू ।
*प्रेम तथा सौन्दर्यकी देवी
सिसाको झरी र असिनाका पिरामिडहरू
सिसाको झरीमासिसाजस्तै फुटेर गयौ तिमी ।
जसरी सिसाको जिन्दगी लिएर जन्मिएथ्यौ तिमी
त्यसरी नै तिम्रा उन्मेषहरू
सिसाकै विहङ्गम भएर उडिरहँदा
मेरा हर्षका पारमिताहरू झनै बढेर गएका थिए
अब त ती स्वेद अवशेषहरू
विपर्यासको तुवाँलोले छेकिसक्यो
सायद तिम्रो अस्तित्व नै शालिग्राम बनिसक्यो
सिसाको झरीमा
सिसाजस्तै फुटेर गयौ तिमी ।
तिमी गएको रात
तिमीसँगै
बेलगाम असिनाका पिरामिडहरू
बिजुलीको प्रत्येक चम्काइमा खसेर गए
क्यामुनोका एकएक पातहरूबाट
यावत् पीडाका झन्झावातहरू खसेर गए
तिमीले छाडेर जाँदा मलाई
मेरा प्रत्येक कोषहरूमा बज्ने
स्पर्शका बाँसुरीहरू सुम्पेर गयौ
तर आफ्नै जिन्दगीसँगको बिछोडमा भने
खै के लिएर गयौ तिमीले
मैले दिएको माया
र त्यसका अविस्मरणीय पानाहरू ?
वा चुम्बनका सुरिला धुनहरू
लिएर गयौ
कि लिएर गयौ तिमीले
मेरै आँगनको डिलमा
पहिलो पटक फक्रेको गुलाब ?
फगत, सिसाको झरीमा
सिसाजस्तै फुटेर गयौ तिमी ।
सृष्टिहरू मृत्यु माग्दैनन्
मैले भनें—
मेरो हृदयको आँगनमा
हृदयकै तरबारले काटिएका
सौन्दर्यहरूलाई
तिम्रो प्लान्चेटको टेबलमा सजाइएको
पिचर प्लान्टको आहारा बनाइदिने हो भने
तिमीले थाहा पाउनेछौ—
कस्ता हुन्छन् सौन्दर्यका अस्थिपञ्जरहरू ?
फेरि भनें—
ब्रह्माण्डको चौतारीमा सुस्ताएका
ताराका रङहरूलाई
सभ्यताको पुलमुनि फ्याँकिदिने हो भने
तिमीले देख्न पाउनेछौ—
कस्ता हुन्छन् ताराका मिराकलहरू ?
अनि, भनें—
जीवनको प्रतिच्छायाँमा फक्रेका
डेलियाका थुङ्गाहरूलाई
सन्त्रासका बीउहरूले ढाकिदिने हो भने
तिमीले सुन्न पाउनेछौ—
कस्ता हुन्छन् डेलियाका सिम्फोनी धुनहरू ?
यति भनिसकेपछि पनि
चुपचाप तिमी देखेर भनें—
ओ सृष्टि !
के तिमी
हेर्न चाहँदैनौ सौन्दर्यका अस्थिपञ्जरहरू ?
देख्न चाहँदैनौ ताराका मिराकलहरू ?
सुन्न चाहँदैनौ डेलियाका सिम्फोनी धुनहरू ?
प्रश्नको प्रहारले—
तिमी त मबाट अझ टाढा पो गयौ र भन्यौ—
अहँ, किनकी सृष्टिहरू मृत्यु माग्दैनन् ।
sthanayan@gmail.com




0 Comments:
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- माथि 'Post a Comment' क्लिक गर्नुहोस् र तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!
@ Mobile Version