Wednesday, December 21, 2011

छाउपडी: जारी छ अन्धविश्वासको सिलसिला

 हर्कबहादुर शाही 
अछामकी रमा क्षेत्रीले यसपटकको दशैँ  मनाउन पाइनन्, उनले मात्र नभएर उनका परिवारका सबै सदस्यले दशैँ मनाउन पाएनन्,  कारण रमा छाउ (महिनावारी) भएकी थिइन् र  घरमा सबै सदस्य महिला थिए । अछामलगायतका  सुदूरपश्चिमका केही जिल्लामा महिला मात्रै  भएको घरमा कोही एकजना महिलाको रजस्वला  भयो भने कसैले पनि दशैँ मनाउन नमिल्ने  परम्परा छ । ‘गाउँमा सबैले दशैँ मनाए तर म  छाउ भएकीले मेरा बच्चाहरू टुलुटुलु हेरेर बसे,  के गर्नु हाम्रो चलन नै यस्तै छ,’ रमाले भनिन् ।  दशैँमा छाउ भएका परिवारले दशैँ सकिएपछि  सेलपुरी बनाएर खाने चलन छ । बडादशैँजस्तो  महान् चाड मात्र नभएर अन्य चाडबाडहरू पनि  छाउका कारण मनाइँदैन । सामाजिक कुसंस्कारका  रूपमा रहेको छाउपडी प्रथाले महिलाको स्वास्थ्य, खानपान, सुरक्षाजस्ता अधिकारको हनन त गरेको  छ नै चाडबाड मनाउनबाट समेत वञ्चित गरेको छ ।

अछाम जिल्ला मंगलसेन गाविस वडा नं. ८  निवासी नन्दा धामीका अनुसार, महिलाको मासिक  धर्म भएको बेलामा दही, दूध, गेडागुडी, दालजस्ता  पोषणयुक्त खानेकुरा खानबाट पनि उनीहरूलाई  वञ्चित गरिन्छ । महिनावारी भएका बेला  महिलाले दही, दूध खाए गाईभैंसीले दूध दिन  छोड्ने मान्यताका कारण दही, दूध खान दिइँदैन । यो अन्धविश्वासलाई यहाँका मानिसले पुस्तौँदेखि  पछ्याउँदै आएका छन् । त्यस्तो बेलामा महिलाको खानेकुरा भनेको सुख्खा बाक्लो रोटी हो जुन  पिसेको नुन–खोर्सानीसँग दिइन्छ । धेरैजसो  परिवारमा भात खान दिइँदैन । बिहान–बेलुका दुवै  छाक मकै या गहुँको बाक्लो सुख्खा रोटी नै  खानुपर्छ तर हिजोआज भने केही परिवारमा भात  पनि खाने चलन बढ्दै छ । तर, जे खाए पनि  उनीहरूले अछुतका रूपमा छुट्टै परै बसेर  खानुपर्छ । बिहान सबेरै उठेर अरूले प्रयोग गर्ने  धाराभन्दा छुट्टै धारामा गएर उनीहरूले  नुहाउनुपर्छ । कतिपय गाउँमा महिलाले  महिनावारी हुँदा नुहाउने छुट्टै धारा बनाइएको हुन्छ  भने कतिपय ठाउँमा हँुदैन । धारा नभएका गाउँका  महिला महिनावारीका बेला छाँगा, खोला खोज्दै  नुहाउने गर्छन् । छाउपडीलाई सबैले पानीखाने र  नुहाउने अर्थात् सार्वजनिक धारा छुन बर्जित छ ।
छाउ भएकाले नुहाउने धारा या खोलालाई छाउ  धारो या खोलो भनिन्छ । छाउले प्रयोग गरेको  स्थानको पानी अरूले प्रयोग गर्दैनन् ।  त्यस्तो  बेलामा महिलाले कुनै पनि मानिसलाई छुन  पाइँदैन ।  भाँडाकुँडा, पानी, घरको आँगन कतै  पनि उनीहरूले छुन पाउँदैनन् । यस्तै उनीहरूका  लागि प्रतिबन्ध लागेको अर्को स्थान मन्दिर हो,  मन्दिर वरपरको क्षेत्रमा उनीहरूले जान नमिल्ने  नियम नै छ । छाउपडीहरूलाई प्रायः परालमा  सुत्न लगाइन्छ, परालमाथि एउटा सानो पातलो  ओछ्यान लगाएर छाउपडी घरमा उनीहरू  सुत्छन् । उनीहरू सुतेको र उनीहरूले लगाएको  कपडा अन्य मानिसले नदेख्ने ठाउँमा  सुकाउनुपर्छ ।  उनीहरूको ओछ्यानलाई स्थानीय भाषामा थडो भनिन्छ । उनीहरू बस्ने छाउपडी  घरभित्र अरू मानिस पस्न मिल्दैन ।  

छाउपडीबाहेकका मानिस सो घर (गोठ) मा पसे  बाघले गाई, बाख्रा खाइदिन्छ भन्ने आमधारणा  छ । अब त गाउँमा बाघ आउन छोड्यो, जङ्गल  नै छैन, कसरी बाघले बाख्रा, गाई खान्छ र ?  भन्ने प्रश्नमा अछामकै धनबहादुर धामीले भने,  ‘गाई, बाख्रा नखाए पनि अरू नै केही विनाश हुन सक्छ नि, देउता रिसाउँछन् ।’
नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका  अछाम, बाजुरा, डडेल्धुरा, डोटी, बझाङलगायतका  जिल्लामा सामाजिक विकृतिका रूपमा रहेको  छाउपडी प्रथा परापूर्वकालदेखि नै स्थापित भएको  ठानिन्छ ।  यसलाई महिलाविरुद्धको प्रथा  परम्पराजनित हिंसाका रूपमा पनि लिन सकिन्छ ।  छाउपडी प्रथाअनुरूप पहिलोपल्ट रजस्वला हुने  युवतीले ११ देखि १५ दिनसम्म (ठाउँअनुसार  फरक) कुनै पनि पुरुष र सूर्यलाई हेर्न मिल्दैन ।  छाउपडी भएकाहरूलाई घरबाट टाढा बनाइएको  गोठमा बस्न लगाइन्छ र उनीहरूलाई विद्यालय  पठाइँदैन ।  यस्तै दोस्रोपटकदेखि मासिक धर्म हुने केटीहरू र अन्य महिलाले यस्तो बेलामा सात  दिनसम्म अँध्यारो र साँघुरो छाउपडी गोठमा  बस्नुपर्ने हुन्छ ।  छाउपडी  गोठ भनिने ती साँघुरा  गोठहरू होचा र चिसा हुने हुनाले महिलाको  स्वास्थ्य र सुरक्षाका दृष्टिले अत्यन्त जोखिमपूर्ण छन् ।  ती  गोठमा बस्ने महिलालाई जङ्गली  जनावर, सर्पलगायतबाट सधैं जोखिम छ र कतिले  त ज्यान पनि गुमाइसकेका छन् ।  यस्तो गोठ  घरबाट टाढा हुने हुनाले कतिपय महिला यौनहिंसा र बलात्कारको सिकार पनि भएका छन् ।

महिलाको जैविक संरचनाका कारण निश्चित  उमेरमा प्राकृतिक रूपमा हुने मासिक धर्मको शब्द  ‘मिन्सुरेसन’ भन्ने ल्याटिन भाषाको ‘मिन्स’बाट  भएको हो ।  यसको अर्थ महिना भन्ने हुन्छ ।  महिना शब्द चन्द्रमासँग सम्बन्धित छ । चन्द्रमाको  चक्रसँग रजस्वलाको सम्बन्ध रहेको देखिन्छ ।  क्रिस्टोफर नाइडाले रजस्वलालाई रगतसँग  सम्बन्धित संस्कृतिको उपज भनेकी छिन् ।  भारतीय अनुसन्धानकर्ता युरिकाले महिलाको स्त्रीत्वको प्रारम्भ रजस्वलापछि हुन्छ भनेकी छिन् ।  आइभोरीकोष्टमा युवतीको पहिलो रजस्वला  हुँदाको समयलाई उत्सवको रूपमा लिइन्छ,  पहिलो रजस्वलालाई फल लाग्नुपूर्व फुलेको  फूलका रूपमा लिइन्छ । तर, हामीकहाँ भने यही  रजस्वला कतिपय महिलाका लागि अभिशाप बन्ने  गरेको छ । सुदूरपश्चिमको छाउपडी प्रथा रजस्वलाका नाममा महिलामाथि गरिने हिंसा हो,  यसका लागि सम्बन्धित ऐन–कानुनको प्रभावकारी  कार्यान्वयनका साथै सामाजिक अभियानको पनि  आवश्यकता छ । 
Share on :

0 Comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- माथि 'Post a Comment' क्लिक गर्नुहोस् र तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

@ Mobile Version

 
© Copyright अनलाइन खसखस : Rajesh Natamsha's blog 2011 - सम्पूर्ण अधिकार ब्लग लेखकमा | Email me blogs.rajesh@gmail.com.