Wednesday, December 28, 2011

हँसाउन गाह्रो पर्छ : धुर्मुस

अहिले सीताराम कट्टेल (धुर्मुस) लाई मारामार छ कामको । मेरी बास्सै बाहेक स्वदेश विदेशका स्टेजका कार्यक्रम देखि विज्ञापनसम्म उनीकै माग छ । कुन्जना घिमीरेसँग विवाहपछि आफ्नो कलायात्रा पनि उत्तिकै फष्टाएको बताउने उनीहरुको जोडी पछिल्ला केही महिना यता भने आएको काम समेत गर्न भ्याइनभ्याइ भएको छ । धुर्मुस भन्छन् ‘अहिले काठमाण्डौ त सुटिङ गर्न आइन्छ, अनि १, २ दिन बस्यो अनि बाहिरकै कार्यक्रमतिर लागिहाल्छौ ।’ राजधानी बाहिर सर्वाधिक लोकप्रिय रहेको मेरी बास्सैका एक निर्देशक तथा मुख्य कलाकार सीताराम आफूलाई भगवानले पनि साथ दिएको बताउँछन् । पछिल्लो समयमा मेरी बास्सैसँगै विज्ञापनमा पनि प्रशस्तै काम गरिरहेका छन् उनी । विज्ञापनका कन्सेप्ट बनाउने देखि निर्देशन समेत गरिरहेका उनीसँग सिंगापुर पुगेर फर्केलगत्तै गरेको कुराकानी–

सिंगापुरको यात्रा कस्तो रह्यो ?
– धेरै रमाइलो । त्यहाँका नेपाली दाजुभाइले हामीप्रति देखाएको माया, ममता, सद्भावदेखि म अत्यन्त प्रभावित भए । त्यहाँ सबै भन्दा हेरिने कार्यक्रम नै मेरी बास्सै हो भन्थे भेटिएका नेपाली दाजुभाइहरु ।

कहाँ–कहाँ पुग्नुभयो प्रहसनको सिलसिलामा ?
हङकङ, मलेसिया, दुवई, कतार, बहराइन, इजरायल, कोरिया लगायतका मुलुकमा पुगियो । कतिपय मुलुकमा त २, ३ पटक पनि गइसकियो । अब यी बाहेक अमेरिका जापान लगायतका मुलुकमा पनि कुरा भएको छ सायद चाडैँ जान्छु ।

मेरी बस्सैप्रति त्यहाँका नेपाली दर्शकको प्रतिक्रिया कस्तो पाउनुभयो ?
विदेशमा बसेर पनि मेरी बास्सै हेर्न नेपाली दाजुभाइ, दिदीबहिनीको धेरै रहेछन् । धेरै जसो एउटा भाग पनि नछुटाउने भेटेँ । टिपीकल गाउँले परिवेशमा आधारित रहेर निर्माण गरिएकाले पनि यो सिरियल हेर्ने धेरै रहेछन् त्यहाँ ।

मेरी बास्सैको कुनै सिन त सिंगापुरमा सुटिङ त गरिएन ?
गरिएन । खास त्यस्तो योजना बनाएकै थिइनँ । अब चै त्यस्तो अनुकल मिलेमा गर्ने सोचाइ छ ।

कलाकार बन्ने ठूलो धोको बोकेर झापाबाट काठमाण्डू गई निराश भएर पुनः घर फर्किदाको अनुभव र चर्चित हाँस्य कलाकार भइ सिंगापुर पुगेर नेपाल फर्कदाको अनुभव ?
त्यो त टोटली फरक भइगयो नि । झापा फर्किदा जीवनमा त्यो भन्दा निराशा केही थिएन् । र अहिलेको सफलता देखि म धेरै खुशी छु ।

कहाँका दर्शकले बढी माया गर्दछन् त ?
त्यो त उस्तै हो । जहाँका दर्शक भए पनि नेपाली दर्शक नै त हुन् नि ।

पारिश्रमिकको हिसाबले कताको राम्रो लाग्छ ?
विदेशकै कार्यक्रम धेरै राम्रो हो । प्रायः विदेशका कार्यक्रममा राम्रो पारिश्रमिक हुन्छ यहाँको तुलनामा । तर विदेश कार्यक्रम सधैँ हुदैन् ।

६ महिना यता त तपाईं र सुन्तलीको व्यस्तता निकै बढ्यो । यसमा के राज छ ?
एउटा त कुरा त हामी दशर्कहरुलाई स्टेजमा उत्रेपछि राम्रो खुराक दिन्छौँ । अर्कोकुरा हामीलाई भगवानले पनि साथ दिएका छन कि जस्तो लाग्छ ।

देश–विदेशका कार्यक्रममा पनि सहभागी भइरहनुभएको छ । घरमा सुगुर व्यवसाय पनि थाल्नुभएको छ रे ! कसरी समय मिलान गर्नुहुन्छ ?
समय मिलाउन एकदम गार्हो भा’छ । समय अभाव कै कारण कति पय कार्यक्रम गर्न पाइरहेको छैन । बंगुरपालनमा त मान्छे राखेको छु सधैँ हेर्नु पर्दैन ।

पहिलो पारिश्रमिकले के गर्नुभयो ?
शुरुवातमा त कोठाको भाडा नै तिरेको हो । थापाथलीमा बस्थेँ त्यतिबेला ।

आफ्नो कमाईले सुन्तलीलाई पहिलोपटक के किनेर दिनुभयो ?
विदेशको कार्यक्रमबाट आउँदा मोबाइल ल्याइदिएको थिएँ । छनौटमा चाहीँ मेरो आफ्नै थियो ।

दर्शकलाई हँसाउन सजिलो कि रुवाउन ?
रुवाउन धैरै सजिलो हो । दर्शक हँसाउन धेरै गाह्रो पर्छ ।

आफू कतिचोटि रुनुभएको छ ?
अनगिन्ती । दुःखका दिनमा धेरै रोएँ । अहिले पो कला क्षेत्रबाट सफलता पाएँ । त्यतिबेला कति संघर्ष गर्नु प¥यो भने मलाई नै थाह छ ।

सुन्तलीसँग प्रेममा हुँदा रुनु भएन ?
–हा हा हा...। प्रेम हुँदा त किन रुनु र ? वियोगमा पो रुने हो त मिलनमा त झन् खुसी भइयो नि ।

सुन्तलीले प्रेम प्रस्ताव राखेको कि आफूले ? उनीसँग प्रेम नपरेको भए ?
मैले नै राखेको हो । सुन्तलीसँग नपरेको भए खै कोसँग हुन्थ्यो थाह छैन । सुन्तली बाहेक अरुसँग पनि प्रेम भएको भए पो थाह हुन्छ त हा हा हा....।

परिवार संख्या थप्ने योजना छैन ?
बिस्तारै थप्नुपर्छ । अहिले नै के को हतार नि । अहिले त काम गर्ने बेला हो नि । कलाक्षेत्रमा राम्रो भइरहेका बेला त्यो कुरा सोचेको छैन ।

स्टेज कार्यक्रममा त धेरै व्यस्त कलाकार हुनु भा’छ होइन ?
–हो । हामी महिनामा धेरै जसो जिल्ला बाहिर नै हुन्छु । अनि बेलाबखत देश बाहिरका कार्यक्रममा पनि सहभागी भइरहेका छौ । केही दिन पहिलेमात्र सिंगापुर पुगेर आयौ हामी । फेरि लगत्तै कतार पनि जादैछौँ । अहिले सानो पर्दाबाट स्टेजमा धेरै कार्यक्रम गर्ने हामी नै हो ।

खास के कारणले तपाईहरुको यस्तो डिमाण्ड ?
खासमा हामी उपत्यका बाहिरका कार्यक्रममा धेरै हिँडिरहेका छौँ । मेरी बास्सै टिपीकल गाउँले कथामा आधारित छ । त्यसलै यसका दर्शक गाउँमा धेरै छन् । उपत्यका बाहिर सर्वाधिक मन पराइएको कार्यक्रम पनि हो त्यसैले पनि दर्शकको डिमाण्डअनुसार बढि जिल्लाका कार्यक्रम बोलाउने गर्छन ।

कतिसम्म लिनुहन्छ स्टेज कार्यक्रमबाट ?
ठ्याक्कै यति भन्ने त भएन आयोजक, ठाउँ अनुसार हाम्रो बजेट निर्धारण हुने गर्छ तर अहिले स्टेजका कार्यक्रम गर्ने कलाकारमा बढि नै पारिश्रमिक लिने कलाकारमा पर्छौ हामी ।

कति भएछ कलाक्षेत्रमा आएको ?
— कला क्षेत्रमा लागेको त ९ वर्ष भयो । गीतान्जली भन्ने नटिभीको कार्यक्रमबाट यस क्षेत्रमा समर्पित रुपमा लागेको हुँ। त्यसपछि जिरेखुर्सानी, हुँदै मेरी बास्सै हामीले नै शुरुवात गरेका हौ दमन रुपाखेती दाईसँग मिलेर ।

हाँस्य कलाकारले नामसँगै दाम पनि उत्तिकै कमाए भन्छन् कत्तिको कमाउनु भयो ?
हामीले हाँस्य क्षेत्रमा प्रवेश गरेकै बेलादेखि हाँस्य सिरियलमा बहार आयो दर्शकले मन पराइदिनुभयो । स्टेज कार्यक्रम पनि पाइयो त्यहीँ भएर पनि होला नामसँगै आर्थिक रुपमा पनि राम्रो छ तर यो अवस्था सधै रहिरहन्छ भन्ने छैन ।

हाँस्य कलाकार नबन्नु भएको भए के बन्नुहुन्थ्यो ?
– कलाकार नबनेको भए पत्रकार बन्थेँ । मैले केही समय पत्रिकामा पनि लेखँे । म पत्रकारीताकै विधार्थी हँु । रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारीता नै पढेको हुँ ।

छोटो अवधिमै ठूलो सेलिब्रेटी हुनुभयो केटीहरु कतिको पछि लाग्छन ?
स्वभाविक हो केटीहरु पछि लाग्नु । मेरो फ्यानहरु प्रशस्तै छन् तर मेरो कला मन पराएर मलाइ मन पराउने छन् ।

केटीको पछि कतिको लाग्नुहुन्छ ?
म कला क्षेत्रबाट केही गर्नुपर्छ भनेर यस क्षेत्रमा लागेको मान्छे । एक त विवाहित अर्को कुरा कुनै केटीको पछि कहिल्यै लागिन । मेरो नेचर नै त यस्तो हैन ।

तपाई निर्देशक पनि हुनुहुन्छ । युवतिहरु कुनै ‘अफर’ गर्दैनन् त ?
हो धेरै जसो यस क्षेत्रमा त्यस्ता केटीहरु पनि हुन्छ अरुले भनेको पनि सुनेको छु तर केटीका मामलामा म पछि नै छु । कलाक्षेत्र भन्दा मैले अरु केही सोचिन ।

अरु कलाकारको तुलनामा तपाईंमा विशेष क्षमता के छ ?
म फरक–फरक चरित्रलाई न्याय गर्न सक्छु । मैले १५ वटा फरक चरित्रमा मेरी बास्सै अभिनय गरिसकेँ । आदरणीय हरिवंश आचार्यले विभिन्न सिरीयलका गर्नु भएका विभिन्न फरकफरक ९ भूमिकालाई एउटै सिरीयलमा पनि अभिनय गरेको थिएँ ।

अनि बिज्ञापनतिर पनि हात हाल्नु भएछ नि ?
हो । मैले अहिले धेरै विज्ञापनमा अभिनय गरेको छुँ । केही बिज्ञापन आफैँ बनाइरहेको छु । उत्सव चप्पल, एल्लो हर्वल दन्त मन्जन, सर्वोत्तम पानी ट्याक्की अनि एक स्वास्थ्य मन्त्रालयको विज्ञापन अभिनय देखि निर्देशनका काम गर्दैछु । अरु धेरै कामहरु आइरहेका छन् ।
Share on :

0 Comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- माथि 'Post a Comment' क्लिक गर्नुहोस् र तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

@ Mobile Version

 
© Copyright अनलाइन खसखस : Rajesh Natamsha's blog 2011 - सम्पूर्ण अधिकार ब्लग लेखकमा | Email me blogs.rajesh@gmail.com.