Saturday, December 31, 2011

चेपाङ महिलामा बढ्दो पाठेघरको रोग

नरेन्द्र सापकोटा
मकवानपुरको विकट गाविस काँकडा– १ सिलिङ्गेकी अत्रमाया चेपाङ भर्खर १५ पुगेर १६ वर्षमा टेकेकी छिन् । तर, उनी युवती बन्न नपाउँदै आमा बनिसकेकी छिन् । उनीसँग अहिले काखमा बच्चा छ । १४ वर्ष लाग्न नभ्याउँदै विवाह गरेकी अत्रमायालाई न परिवार नियोजनका साधनबारे जानकारी छ न त आफ्नो र शिशुको स्याहारकै विषयमा । चेपाङ भाषाबाहेक अरू भाषा नबुझ्ने उनको विवाह अभिभावकले गाउँकै १६ वर्षीय सर्वधनसँग गरिदिएका हुन् । अत्रमायाजस्ता थुप्रै चेपाङ महिला सानै उमेरमा विवाह गर्ने र धेरै सन्तान जन्माउने गरेका कारण पाठेघरको समस्याबाट पीडित बन्दै आएका छन् । काँकडा– ७ रङ्दोलकी २० वर्षीया अष्टमाया चेपाङ विवाह हुँदा ११ वर्षकी थिइन् । उनले पनि अहिलेसम्म चार सन्तान जन्माइसकेकी छिन् । पहिलो सन्तान मरे पनि अहिले उनको साथमा दुई छोरी र एक छोरा छन् । काखको छोरा सानै छ । ‘पहिला केही थाहा थिएन, विवाह भइहाल्यो अहिलेचाहिँ २० वर्ष पुगेपछि मात्रै विवाह गर्नुपर्छ भन्ने थाहा पाएकी छु,’ उनले भनिन्, ‘पछि थाहा पाएर के गर्नु ? विवाह भइसक्यो ।’ अत्रमाया र अष्टमाया दुवै अहिलेदेखि नै पाठेघरको समस्याबाट पीडित बनिसकेका छन् । काँकडा– १ सिलिङ्गेकी ५१ वर्षीया दिपीमाया चेपाङ पनि विवाह गर्दा ११ वर्षकी मात्रै थिइन् । ४० वर्षको अन्तरालमा उनले आठ सन्तानलाई जन्म दिइन् । तीमध्ये पाँचजना मात्रै जीवित छन् । ‘उहिलेको समयमा बुबाआमाले बिहे गरिदिएपछि नमान्ने कुरै भएन, धेरै बच्चा पाएर होला अहिले पाठेघरमा समस्या आएको छ,’ उनले भनिन् । चेपाङ समुदायमा अहिले पनि बालविवाह व्याप्त रहेको छ, जसले गर्दा यो समुदायमा बाल र मातृ मृत्युदर दुवै उच्च रहेको छ ।

शैक्षिक तथा सामाजिक रूपले पछाडि परेको र आर्थिक रूपले विपन्न रहेकाले चेपाङ समुदायमा बालविवाह हट्न नसकेको हो । बालविवाह गर्नुहँुदैन भनेर बुझ्नेको सङ्ख्या गाउँमा थोरै छ । परापूर्वकालदेखि चल्दै आएको प्रचलन छोड्नुहँुदैन भनेर दूधे बालबालिकाको विवाह गर्ने गरेको चेपाङ जातिकै अगुवा भविकन चेपाङले बताए । ७० वर्षीय भविकन चेपाङको नौ वर्षमा आठ वर्षीया बालिकासँग विवाह भएको थियो । अहिले उनका १६ जना छोराछोरी छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने चेपाङ बाहुल्य काँकडा, राक्सिराङ, खैराङ, भार्ता, कालिकाटार, सरिखेत र डाँडाखर्कका चेपाङ समुदायमा ८२ प्रतिशत बालविवाह हुने गरेको एक सर्वेक्षणबाट देखिएको छ । बालबालिका कल्याणकारी संस्था काठमाडौंले ती गाविसमा गरेको सर्वेक्षणअनुसार सातदेखि १३ वर्षसम्मका बालबालिकाको विवाह हुने गरेको उल्लेख छ । बालविवाहका कारण यस
क्षेत्रका अधिकांश महिला रोगीजस्ता देखिन्छन् । ४० वर्षको उमेर काट्न नपाई धेरैको मृत्यु हुने गरेको प्रतिवेदनमा जनाइएको छ । अशिक्षाका कारण चेपाङमा यो प्रथा कायम रहेको प्रतिवेदनमा उल्लेख छ । जिल्लामा करिब २० हजार चेपाङ जातिको बसोबास छ । जसमध्ये सात महिलासहित ६० जनाले एसएलसी गरेका छन् । हालसम्म १७ प्रतिशत चेपाङमात्र साक्षर छन् ।

मकवानपुरसहित चितवन, धादिङ र गोरखामा चेपाङ समुदायको बसोबास छ । चारै जिल्लामा बसेका चेपाङ समुदायमा बालविवाह अझै व्याप्त छ । सभासद् गोविन्दराम चेपाङका अनुसार, बालविवाहकै कारण उनीहरू सानैमा आमा बन्न बाध्य छन् । चेतनाको अभाव, गरिबी र विवाह भइसकेपछि लगातार सन्तान जन्माउनाले अधिकांश महिला सानै उमेरमा पाठेघरको रोगी हुने गरेका छन् । ‘एउटी चेपाङ महिलाले १९ जनासम्म बच्चा जन्माएको हामीले भेटेका छौँ,’ सभासद् चेपाङको भनाइ छ । स्वास्थ्य सन्देश र चेपाङहरूको चेतनाको स्तर वृद्धिका लागि सरकारले आवश्यक कदम चाल्न नसकेको भन्दै उनले भने, ‘न उनीहरूलाई गर्भावस्थामा आफ्नो ख्याल कसरी गर्ने भन्ने थाहा छ न शिशुको स्याहार गर्नेबारे नै जानकारी छ, ढुङ्गाले बच्चाको साल काट्ने चलन अझै हटेको छैन । यस्तो सामान्य चेतनाको समेत अभाव छ ।’

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका वरिष्ठ अहेव भोला चौलागाईंले चेतनाको अभावका कारण उनीहरू सानै उमेरमा पाठेघरको समस्याबाट पीडित हुने गरेको बताए । सानै उमेरमा विवाह गर्ने, परिवार नियोजनको साधन प्रयोग नगर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिने भएकाले पाठेघरमा सङ्क्रमण हुने गरेको उनले बताए । ‘सुत्केरी अवस्थामै काममा जाने गर्दा महिलाहरू किशोरी अवस्थादेखि नै झरेको पाठेघर लिएर हिँड्न बाध्य छन्,’ अहेव चौलागाईंले भने, ‘यसको न्यूनीकरणका लागि सबैभन्दा पहिला चेपाङहरूको चेतनाको स्तर बढाउनु आवश्यक छ ।’ चेपाङ समुदाय बसोबास गर्ने ठाउँहरू भौगोलिक रूपले विकट भएकाले सरकारी स्वास्थ्य सेवा प्रभावकारी हुन नसक्दा पनि समस्या न्यूनीकरण हुन नसकेको उनको भनाइ छ । स्वास्थ्यचौकी भए पनि पायक नपर्ने र भएका स्वास्थ्यचौकीमा पनि दरबन्दी अभावमा स्वास्थ्यकर्मी नहुने भएकाले स्वास्थ्य सेवा सुलभ हुन सकेको छैन ।

राज्यले ग्रामीण भेगमा भएका स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा चुस्त र प्रभावकारी बनाएर समस्या न्यूनीकरणका लागि प्रयास गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । साथै उनीहरूकै भाषामा स्वास्थ्य सन्देश पु¥याउन सके धेरै महिला युवती नहुँदै आमा हुने क्रम रोकिने उनीहरूको धारणा छ । विकट गाविसका चेपाङ महिलाले रोग लुकाएर बस्ने हुनाले पनि समस्या परेको हो । उनीहरू आफूलाई लागेको रोगबारे खुलेर कुरा गर्न नचाहने भएकाले कम उमेरमै जटिल रोगबाट पीडित भइरहन बाध्य छन् । त्यसैले महिला र स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरू तथा सरकारको ध्यान सो क्षेत्रमा जान सके चेपाङ महिला आफैँ रोग निम्त्याउनबाट पछि हट्ने सरोकारवालाको अपेक्षा छ । चेपाङ महिलाको स्वास्थ्यलाई जोखिमपूर्ण बनाउनबाट रोक्नका लागि चेपाङ पुरुष पनि त्यत्तिकै सचेत हुन जरुरी छ ।
Share on :

0 Comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- माथि 'Post a Comment' क्लिक गर्नुहोस् र तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

@ Mobile Version

 
© Copyright अनलाइन खसखस : Rajesh Natamsha's blog 2011 - सम्पूर्ण अधिकार ब्लग लेखकमा | Email me blogs.rajesh@gmail.com.