Friday, January 06, 2012

ब्वाइफ्रेण्ड र तिनका मानसिकताहरु

निर्जला कक्षपति

केही महिना पहिले सिराहाको एक सामुदायिक रेडियोमा कार्यरत महिलासँग यौनसम्बन्ध राखेको भिडियो दृश्य उनकै प्रेमीले सार्वजनिक गरे । मोबाइलमा खिचिएको त्यो तस्बिर सिराहाका धेरैजसो सञ्चारकर्मीको मोबाइलमा देख्न सकिन्थ्यो । सिराहामा मात्र सीमित नभएर त्यो तस्बिर राजधानीमा काम गर्ने केही सञ्चारकर्मीको मोबाइलसम्म आइपुग्यो । एकले अर्कालाई गर्दै एसएमएस गरिएपछि त्यो घटना यति चर्चित भयो कि सबैले भन्न थाले, ‘हेर केटीले कस्तो गति छाडेको ।’ तर, त्यो मोबाइलको दृश्य हेरेर त्यसरी गति छोडाउने पुरुष को रहेछ र कस्तो बद्मास लोग्नेमानिस रहेछ ? भनेर कसैले भनेनन् । सबैले आरोप महिलालाई नै लगाए । कुरा बुझ्दै जाँदा जो व्यक्तिले ती महिलासँग यौनसम्बन्ध राखेको थियो, ऊ नै उसको ‘प्रेमी’ रहेछ । दुवैजना सिराहाको एक सामुदायिक रेडियोमा कार्यरत थिए । काठमाडौंमा रेडियोसम्बन्धी तालिम लिन आएका बेला अरू केटासाथीसँग बोलेको भन्दै उनकै प्रेमीले यौनसम्बन्ध राखिएको त्यो भिडियो तस्बिर मोबाइल र कम्प्युटरबाट सार्वजनिक गरेका रहेछन् । प्रेमको नाटक गर्दै सर्वस्वहरण गरिसकेपछि प्रेमिकाको चरित्रमाथि प्रश्न उठाउँदै आफू संलग्न यौनसम्बन्धका बेला नाङ्गो तस्बिर खिचेर एसएमएस गर्दै हिँड्ने प्रेमीलाई के भन्ने ? मोबाइलको जमानामा अहिले महिलामाथिको हिंसाको यो रूपले निकै प्रश्रय पाइरहेको छ । प्रेमका नाममा राखिएका सम्बन्धहरू रेकर्ड गर्ने ‘प्रेमी’को आपराधिक मानसिकताप्रति महिलाहरू भने सचेत भएको पाइँदैन ।


केही समयअगाडिसम्म हिंसा भन्नेबित्तिकै गाली–गलौज र कुटपिटलाई लिने गरिन्थ्यो । तर, हिजोआज हिंसाका रूपहरू फेरिएका छन्, तौर–तरिकाहरू बदलिएका छन् । जुन कुराबाट महिलाले शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि यातना भोग्नु परिरहेको छ । विशेषगरी सहरी इलाकामा मध्यम र उच्च घरानिया परिवारमा हुने गरेका हिंसाका घटना त्यति धेरै बाहिर आउन सकेका छैनन् । बाहिर आएका धेरै घटनाका प्रकृतिलाई हेर्दा निम्नवर्गीय परिवारका बढी छन् । उजुरी हेर्दा धेरैजसोको लोग्नेले कुटपिट गरेपछि आफ्नो बचावटका लागि प्रहरीसमक्ष उजुरी दर्ता गर्न गएका देखिन्छन् । ती दर्ता भएका मुद्दाहरूमध्ये धेरै घरेलु हिंसासँग सम्बन्धित छन् । कतिचाहिँ घरभित्रको कुरा भनेर आफूमाथि जति दुव्र्यवहार भए पनि बाहिर ल्याउन चाहँदैनन् । नेपाल प्रहरीको महिला सेलमा एक वर्षको अवधिमा ११ सयवटा उजुरी परेका छन् । जनसङ्ख्या र बढ्दो हिंसाको आधारमा भन्नुपर्दा यो त्यति ठूलो संख्या होइन । अझ राष्ट्रिय मानव अधिकार आयोगमा त एक वर्षको अवधिमै जम्मा २९ वटा मात्र उजुरी दर्ता भएका छन् ।

महिलामाथि हुने हिंसा नेपालमा मात्र नभई विश्वभर छ । तर, यसको रूप भने फरक–फरक हुन सक्छ । नेपालको कुरा गर्दा, महिला हिंसा भन्नेबित्तिकै घरेलु हिंसा नै प्रमुख समस्याको रूपमा आउँछ । दाइजो प्रशस्त नल्याएको आरोपमा होस् या त छोरो नपाएको आरोपमा हजारौँ नेपाली महिला हिंसाबाट पीडित छन् । तराईको कुरा गर्ने हो भने केही समय पहिलेसम्म एउटा डाक्टरसँग विवाह गरिदिनका लागि केटा पक्षले दुई लाख दाइजो माग्थ्यो भने अहिले आएर २० लाख माग्न थालेका छन् । समयको परिवर्तनसँगै तराईमा दाइजो उन्मूलन होला भन्ने ठानिएकोमा झन्झन् बढ्दै गएको छ । 

हाम्रो सामाजिक संरचनाअनुसार, घर–परिवारमा पुरुष बढी शक्तिशाली हुने गरेका छन् । कमाउने होस् या नकमाउने, शिक्षित होस् या अशिक्षित प्रायः सबै पुरुषले घरमा हैकम जमाउने गरेका हुन्छन् । कामकाजी श्रीमती र बेरोजगार पति भएको घरमा झनै हिंसा हुने पाइएको छ । महिलालाई सम्मान र इज्जत नदिने परम्पराले गर्दा हिंसाका घटना बारम्बार दोहोरिने गरेका हुन् । समाजमा महिलालाई हेर्ने दृष्टिकोण तथा पुरुष र महिलाबीचको असमानताले महिला बढी हिंसापीडित हुने गरेका छन् । शिक्षित महिलामा मानसिक हिंसा बढी हुने गरेको छ । बलात्कार तथा वैवाहिक बलात्कारबाट पनि महिला त्यत्तिकै पीडित हुने गरेका छन् ।

सन् २००८ को तथ्याङ्कअनुसार, हरेक वर्ष ६ लाख केटी स्कुल जाँदा बाटोमै यौन दुव्र्यवहारको चपेटामा पर्ने गरेका छन् । यस्तै, हरेक वर्ष ५३ लाख महिला दुव्र्यवहारबाट पीडित हुन्छन् र तीमध्ये वर्षको १२ सय ३२ महिला उनीहरूका आफन्तबाटै मारिन्छन् । ती आफन्त भनेका श्रीमान् र ‘ब्वाइफ्रेन्ड’ हुन् । यो तथ्याङ्क यूएसएडका विभिन्न अध्ययनले देखाएको हो । जब एउटा पुरुषले आफ्नो धैर्य गुमाउँछ या उसलाई रिस उठ्छ, उसको पहिलो निशाना उसकी स्वास्नी या प्रेमिका हुन्छे । घरमा पुरुष नै मुख्य व्यक्ति मानिने भएकाले महिलालाई जे गरे पनि हुन्छ भन्ने मान्यता पनि त्यत्तिकै छ । सन् २००५ को एउटा विवरणअनुसार इङ्ग्ल्यान्ड र वेल्समा पनि सरदर हप्ताको दुईजना महिला आफ्ना हिंस्रक पति या ‘पार्टनर’बाट मारिने गरेका थिए । यसरी हेर्दा के भन्न सकिन्छ भने महिलामाथि हुने हिंसा नेपालमा मात्र नभई विश्वभर छ । तर, नेपालका धेरै हिंसाका घटना लुकेरै रहेका छन् ।

हाम्रो समाजको कुरा गर्दा, महिलाभन्दा पुरुष बढी शक्तिशाली छन् । किनभने महिलाभन्दा पुरुष बढी साक्षर छन् । यसैगरी महिलाले भन्दा पुरुषले बढी कमाउँछन्, महिलालाई घर हेर्ने जिम्मेवारी दिइने हुँदा स्वाभाविक रूपमा परनिर्भर हुनुपर्छ । त्यसैले घरमा जसले कमाएर ल्याउँछ, छोराछोरीले पनि त्यसैअनुरूप आफ्ना अभिभावकलाई प्राथमिकतामा राख्ने गर्छन् । अधिकांश घरमा पुरुषले नै कमाइ गरी ल्याउने हुँदा महिलालाई भन्दा पुरुषलाई बढी इज्जत दिने गरिन्छ । त्यति मात्र नभई समाजमा महिलाको भन्दा पुरुषको बढी सुनुवाइ हुन्छ । महिलामाथि हुने हिंसा भनेको महिला र पुरुषबीचको असमान शक्तिको परिणाम हो । जबसम्म यो असमान शक्ति समान हुँदैन, तबसम्म यस्ताखाले हिंसाका घटना दोहोरिइरहन्छन् । त्यसैले महिला हिंसा हुन नदिन महिला स्वयम् आर्थिक रूपमा आत्मनिर्भर र मानसिक रूपमा सशक्त हुनु जरुरी छ ।
Share on :

0 Comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- माथि 'Post a Comment' क्लिक गर्नुहोस् र तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

@ Mobile Version

 
© Copyright अनलाइन खसखस : Rajesh Natamsha's blog 2011 - सम्पूर्ण अधिकार ब्लग लेखकमा | Email me blogs.rajesh@gmail.com.