सुरेन्द्र सुवेदी
भृकुटीमण्डपमा १७ वर्षदेखि नाङ्लो र फलफूल पसल चलाउँदै आएकी लक्ष्मी बञ्जाराले तीन बच्चालाई लालनपालनदेखि पठनपाठन गराउँदै आएकी छिन् । १२ वर्षअघि काभ्रेपलाञ्चोकको अनेकोटका राजन सापकोटासँग वैवाहिकबन्धनमा बाँधिएकी लक्ष्मी तीन वर्षदेखि सापकोटाबाट टाढा छिन् । सापकोटा जग्गा कारोबारका नाममा उपत्यकाबाहिर गएपछि लक्ष्मीले ११ वर्षकी रेजिना, १० वर्षका राजीव र दुई वर्षकी रोश्नालाई लालनपालनदेखि पठनपाठनको व्यवस्था गरिरहेकी छिन् । गोरखा माइती भएकी लक्ष्मीका श्रीमान्ले आर्थिक रूपमा सहयोग नगरेपछि उनले नै सुरु गरेको फलफूल पसलको आयले सापकोटाको भर नपरी गुजारा गर्नुपरेको हो । लक्ष्मी बिहान उठेर कालिमाटीको फलफूल तथा तरकारी बजार पुग्छिन् । त्यहाँबाट उखु, केरा, स्याउ, अनार, भुइँकटहर, खरबुजा, मेवासमेतका फलफूल लिएर भृकुटीमण्डप आउँछिन् । फलफूल थन्क्याएर नानीहरूलाई खाजा, खाना खुवाउँछिन् र सुरु हुन्छ उनको व्यापारिक काम । उनको व्यापारिक काम सुरुसँगै बालबच्चा रामशाहपथको पद्मोदय विद्यालय जान्छन् । समाजकल्याण परिषद्को स्वामित्वमा रहेको जग्गामा अस्थायी घुम्ती बनाएर उनले पसल थालेकी हुन् । पसलमा मर्निङवाकदेखि कार्यालय समय र इभिनिङवाकसम्म आउने ग्राहकलाई चियादेखि फलफूलसम्म खुवाउँछिन् । यसरी बिहानदेखि साँझसम्मको व्यापार करिब पाँच हजार रुपैयाँको हाराहारीमा हुन्छ । त्यो व्यापारबाट आएको मुनाफा नै उनका लागि आफू र बालबच्चा पाल्ने/पढ्ने एकमात्र स्रोत हो ।
लक्ष्मीको यो काममा उनका बुबा र आमाले साथ दिन्छन् । बिहान, बेलुका र बिदाका दिन भने छोराछोरीले पनि काम सघाउने गरेको लक्ष्मीले बताइन् । ‘श्रीमान् श्रीमान् जग्गा कारोबार गर्छु भन्दै पोखरातिर लागेपछि यी तीन बालबच्चाको जिम्मा मेरै भएको छ,’ लक्ष्मीले भनिन्, ‘श्रीमान्को भर छैन, आफ्नै बुताले घर चलाएकी छु ।’ संखुवासभाको खाँदबारी– ११ स्थायी घर भएकी बालकुमारी कार्की १२ वर्षदेखि काठमाडौं बस्दै आएकी छन् । उनका पति खड्गबहादुरदेखि दुई छोरी र छोरालाई पाल्ने जिम्मा बालकुमारीकै भएको छ । श्रीमान्ले कुनै काम नगरेपछि ४२ वर्षीया बालकुमारीले कडा परिश्रमले कमाएको रकमबाट पाँचजनाको परिवार पाल्नु परिरहेको हो । उनकी छोरी सपना उमावि पढ्छिन् । छोरा बादल कक्षा नौ र झरना कक्षा सातमा पढ्दै छन् । रामशाहपथको पद्मोदय उमाविमा छोराछोरीलाई पढाउन, खाना, कोठाभाडासमेत बालकुमारीको मासिक खर्च २० हजार रुपैयाँ छ । उक्त रकम बालकुमारी फुटपाथमा फलफूल बिक्री गरेर कमाउने गर्छिन् । रामशाहपथ, राष्ट्रिय सभागृह, भृकुटीमण्डप, भद्रकाली परिसरमा नाङ्ले पसल राखेर उनले काँक्रा, खरबुजा, नासपाती, मेवालगायतका मौसमी फलफूल बिक्री गर्दै आएकी छिन् ।
नाङ्ले पसलबाट उनी दैनिक ५÷७ सय रुपैयाँ मुनाफा गर्छिन् । यही मुनाफाले उनी परिवार पाल्न सक्षम भएकी हुन् । नाङ्ले पसल र त्यो पनि फुटपाथमा भएकोले काठमाडौं महानगरपालिकालाई छल्नुपर्ने बाध्यता पनि छ । नगरपालिकाका सुरक्षाकर्मी आए भने फुटपाथका पसल उठाएर लाने गर्छन् । उनीहरूबाट सामान बचाउन दैनिक मानसिक रूपमा तयार भएर बस्नुपर्ने बालकुमारी बताउँछिन् । हिउँदको समयमा फलफूल गर्मी याममा जस्तो बिक्री हुँदैन । हिउँदको कमाइले परिवार पाल्न कठिन हुन्छ । वर्षाको समयमा कमाएको रकमलाई जोहो गरेर राख्न नसके हिउँदमा त भोकभोकै पर्ने बालकुमारी बताउँछिन् ।
दोलखा स्थायी घर भएकी जानुकादेवी खत्रीको जिम्मामा ६ जनाको परिवार छ । श्रीमान्की बहिनी, छोरी र तीन नाति–नातिनालाई पाल्ने, पढाउने जिम्मा जानुकाको हो । श्रीमान्को मृत्युपछि जानुकामा यो भार आइलागेको हो । उनको कमाउने आधार भनेको भद्रकालीको आकाशेपुलसँगै भृकुटीमण्डप प्रवेशद्वारमा राखिएको अस्थायी पसल भएको छ । मासिक एक हजार रुपैयाँ समाजकल्याण परिषद्लाई भाडा तिरेर राखेको उक्त पसल नै उनको गुजारा चलाउने माध्यम हो । खरबुजादेखि काँक्रासम्म बिक्री गर्न बसेकी उनी दैनिक एक हजार रुपैयाँको हाराहारीमा कमाउन नसके केटाकेटी भोकभोकै पर्ने बताउँछिन् । छोराछोरी पढ्न विद्यालय जान्छन् । विद्यालय बिदा हुँदा उनीहरूले पनि पसल चलाउन सघाउने गर्छन् । २० वर्षदेखि काठमाडौं बस्दै आएकी जानुकादेवीलाई पनि हिउँद याममा समस्या पर्दै आएको छ । हिउँदमा फलफूल बिक्री थोरै हुने गर्छ । यसले नाफा पनि कम नै हुन्छ । नाफा कम भएपछि परिवार पाल्न गाह्रो हुने नै भयो । पैतृक सम्पत्ति नभएपछि दिनदिनै कमाउने र खाने समस्या उनीहरूको छ । ५५ वसन्त पार गरेकी जानुकादेवी भन्छिन्, ‘बन्द, हड्ताल र पानी परेका दिन सामान बिक्री नहुँदा गाह्रो हुन्छ ।’ यस्तै मोरङ केराबारी– ७ की जानुका बस्नेतका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका छन् । श्रीमान् बिदेसिएपछि जानुका आफ्नै बुताले छोरा सौगात र बहिनीलाई पढाउनेदेखिका सबै खर्च जुटाउन सफल भएकी छिन् । विदेशमा बसे पनि श्रीमान्को खासै कमाइ छैन, आफ्नै कमाइले वर्षमा २० देखि ३० हजार रुपैयाँ बचत गर्दै आएकी छिन् ।
विगतमा परिवारले राम्रो नगर्ने भोजपुरकी ताराका अनुसार अहिले कमाउन थालेपछि दाजु, दिदी र आमाबुबाले राम्रो व्यवहार गर्न थालेका छन् । यहाँसम्म कि कहिलेकाहीँ त पैसा सापट पनि माग्न थालेको उनले बताइन् । उनले दैनिक आय गर्न थालेपछि परिवारले विगतमा गर्ने हेयको व्यवहार पूरै हटेको छ । भन्छिन्, ‘पहिले भेट्दा नबोल्ने परिवारका सदस्य अहिले दिनदिनै फोन गरेर सन्चो÷बिसन्चो सोध्ने गर्छन् ।’ ताराको जस्तो अनुभव अन्य श्रमजीवी महिलाले पनि संगालेका छन् । यो कुराले महिलामाथिको हिंसा न्यूनीकरणका र महिला सशक्त हुनका लागि आर्थिक रूपमा दह्रो हुनुपर्ने सङ्केत गर्छ ।
काठमाडौं महानगरपालिकाका एक अधिकारीका अनुसार उपत्यकाका तीन जिल्लामा झन्डै २० हजार महिला आफ्नो कमाइले परिवार धान्दै आएका छन् । भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, कालिमाटी, बसपार्क, चाबहिलजस्ता भीडभाड हुने स्थानमा महिला नाङ्ले पसल राख्छन् । ती स्थान फुटपाथ हुन् । फुटपाथलाई महानगरपालिकाले खाली गराउन दैनिक गस्ती गर्छ । र, गस्तीका क्रममा फुटपाथमा राखिएका पसल हटाउने गर्छ । महानगरपालिकाका अनुसार स्वरोजगार बन्ने जो–कोहीलाई व्यवस्थित गर्न स्थानको अभाव छ । स्थानको अभावकै कारण त्यस्ता साना पसलेलाई व्यवस्थित गरेर राख्न सकिएको छैन । यसको विकल्प सरकारले खोज्नुपर्ने कर्मचारीहरू बताउँछन् । राम्रो विकल्प भएमा सरकारलाई आय पनि हुने उनीहरूको भनाइ छ ।
‘घरले नहेरे माइत जानू, माइतीले पनि नहेरे मुग्लान पस्नू’ यो नेपाली महिलामा लागू हुने पुरानो उखान हो । यी महिला श्रमबाट टाढा गएका भए मुग्लान नै पस्नुपर्ने हुन्थ्यो । सानो व्यवसाय गरेर परिवार पाल्ने बाटो बनाएकाले बिदेसिनु नपरेको अर्थशास्त्रमा दखल राख्ने पाँचथरका सुन्दर सुवेदीको भनाइ छ । सुवेदीका अनुसार, उपत्यकामा श्रम गरेर परिवार पाल्ने महिलाले मासिक झण्डै दुई करोड रुपैयाँ कमाउने गरेका (सबैलाई समेट्दा) छन् र त्यसले राष्ट्रलाई बेरोजगारको समस्याबाट मुक्त गर्न केही टेवा पुर्याएको छ ।


0 Comments:
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- माथि 'Post a Comment' क्लिक गर्नुहोस् र तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!
@ Mobile Version