Saturday, January 14, 2012

पागल–बस्तीमा प्रेम र अहमको युद्ध

सरुभक्तद्वारा उत्पादित उपन्यास ‘पागल–बस्ती’ प्रेम र युद्धको रणभूमि भनिदिए हुन्छ । उपन्यासभरि प्रेम र अहमइतरका कथा, उपकथा, दर्शन, कथोपकथनहरु आइरहन्छन् । उपन्यासमा सिर्जित घटनाक्रमहरुले पाठकलाई त्राहीमाही पारिदिन्छ । वि.सं. २०३९ सालमा रचना आरम्भ गरेका सरुभक्तले करिब ६ वर्षपछि मात्र पूरा गर्न सके, यो उपन्यास । पागल–बस्तीमा एउटा स्वतन्त्र पत्रकार जो काठमाण्डूबाट पोखरासम्मको यात्रामा निस्कन्छ । यात्राबाट फर्किएपछि ऊ यात्रा संस्मरण लेख्ने दाउमा हुन्छ । यात्राको क्रममा उसको भेट मार्थासँग हुन्छ । मार्था कथित पागल–बस्त सभ्यताकी एकमात्र जिउँदी सबूत हुन्छिन् । सुरुमा त उसले पत्रकारलाई केही भन्न रुचाउँदिन तर पत्रकारले हरेक अनुनय–विनय गरेपछि उनी भन्न तत्पर हुन्छिन् । उनी एक सफल चित्रकार पनि हुन्छिन्, उनीसँग चित्रबाटै डायरी लेख्न सक्ने खुबी हुन्छ । यौटा ठूलो क्यानभासमा उनी आफ्नो अन्तिम चित्र कोर्छिन । चित्रबाट नै सम्पूर्ण घटनाक्रमहरु भन्छिन् । अर्थात् यौटा प्रागऐतिहासिक सभ्यताको अभ्यूदय हुन्छ ।

उपन्यासको प्रमुख पात्र प्रशान्त अन्र्तमुखी स्वभावको हुन्छ । ऊ कलेजमा मार्थालाई प्रेम गर्छ । तर किञ्चित् ऊ मार्थाको नजिक पुग्दैन । उसको प्रेम एकतर्फी हुन्छ । यसै पनि किशोरावस्थाको प्रेम अत्यन्त कोमल हुन्छ, भावुक हुन्छ, समर्पण सहितको हुन्छ । अर्थात निश्चलता र पवित्रतामा हुन्छ । अन्ततः उसले मार्थालाई प्रेमपत्र लेख्छ । तर मार्थाले स्वीकार गर्दिनन् । उसको प्रेमप्रस्तावलाई उपेक्षा गरिदिन्छिन् । उनको परिकल्पना भनेको सुन्दर जीवन साथीको हुन्छ, न कि प्रशान्तजस्तो बदसुरत पुरुषमा ।
प्रशान्तसँग उसको सपनाको व्यक्तित्व मिलान हुँदैन । प्रशान्तमा यौटा अहमको सिर्जना हुन्छ । उसको नजरमा प्रेम नै सबथोक थियो । प्रेमलाई नै धन सम्झन्थ्यो । प्रेमलाई नै ऊ आफ्नो चारित्रिक विशेषता मान्थ्यो । मार्थाको उपहासजनक ढङ्गको उपेक्षा पछि ऊभित्र अहम् विकसित हुन्छ । अर्थात ऊ कङ्कालमा परिणत हुन्छ । उसले आफ्नो जीवनको आराध्य, लक्ष्य, मूल्यमान्यता सबै गुमाउँछ । अन्त्यमा गौतम बुद्धको जस्तै अहम ज्ञान प्राप्त गरेर ऊ गृहत्याग गर्छ । अहम् ज्ञानको प्रचार गर्न ऊ यौटा छुट्टै सभ्यताको विनिर्माण गर्छ । ऊ प्रशान्तबाट ‘आदिगुरु’मा परिवर्तित हुन्छ । उसका अनुयायी र चेलाचेली पनि हुन्छन् ।

एकदिन मार्था पश्चतापको अग्नीमा जल्दै, क्षमायाचना गर्ने एक मात्र अभिप्राय लिएर प्रशान्त उर्फ आदिगुरुलाई भेट्न जान्छिन् । प्रशान्तले मार्थाको भेटपछि अचाक्ली सम्मान दिन्छ । सबैले मार्थालाई ‘आदिमाता’ भनेर सम्बोधन गर्छन । मार्थालाई सबैले आदरणीय बनाउँछन् । उनको नाममा छुट्टै सुन्दरकलाकृतिले सजाइएको ‘आदिमन्दिर’मा उनलाई लगिन्छ ।
केहीदिनको सहवासपछि उनीहरुमा वाकपटुता भैरहन्छ । विभिन्न सिद्धान्त, विधिविधान, धर्मसंस्कृति तथा ग्रन्थहरुका वादविवाद भैरहन्छन् । मार्था प्रशान्तलाई प्रेम गर्न थाल्छिन् । प्रशान्तले आदिगुरु र आदिमाताबीच प्रेम सम्भव छैन भन्छ । त्यसपछि विभिन्न घटनासँगै प्रेम र अहमको युद्ध भैरहन्छ, अनेकन वाकयुद्ध ।

एकभेलामा प्रशान्तले मानवीय अहमको परिभाषा दिँदै भन्छ, “अहिलेसम्म पृथ्वीमा अस्तिगत सबै धर्मले प्रेम र अहिंसाको पाठ पढाउने धुनमा अहममुक्तिको कपोलकल्पना गरेको छ । म अहम् विरोधी सबै धर्म र दर्शनको घोर विरोध गर्छु । कारण जीवन अहमयुक्त हुन्छ, अहममुक्त हुन सक्दैन । बुद्ध मेरो दृष्टिमा अहमयुक्त पुरुष हो । महाविर र यिसु अहमवादी व्यक्तित्व हुन्, सिजर, अलेक्जेण्डर, नेपोलियन र हिटलर अहमयुक्त पुरुष हुन् । म मान्छेलाई प्रेम, अहिंसा र यौनमुक्तिको पाठ पढाउन चाहन्न । जसरी धर्म पुरुषहरुले पढाए । विश्व इतिहासमा प्रत्येक धर्मले प्रत्येक महापुरुषको अहङ्कारको शून्यतालाई प्रेमपूर्णता मानको छ, अहिंसात्मक मानेको छ, यौवन विमुखता मानेको छ, तर म महापुरुषहरुको गल्तीलाई दोहो¥याउने पक्षमा छैन । म भन्छु, प्रेम–अप्रेम, हिंसा–अहिंसा, यौन–अयौन अथवा सम्पूर्ण सुखोत्पादक र दुखोत्पादक भवाना अहमसापेक्षित भावना हुन् । सम्पूर्ण मानवीय भावनाहरु र विचारहरु अहमकेन्द्रित हुन्छन् । त्यसैले म अहमवादी हुने शिक्षा दिन्छु, अहङ्कारी हुने शिक्षा दिन्छु, अहम–परीक्षण र विश्लेषण आमन्त्रित गर्छु ।”
प्रशान्तकी चेली मैचाङको विषयमा कुरा हुदाँ मार्था यसो भन्छिन्, “सायद तिमी दुःखी मानवताको सेवा गर्न चाहन्छौ प्रशान्त तर बुद्ध वा जिजसजस्तो हुन प्रेम, करुणा, दया, सहानुभूतिजस्ता मानवीय गुण चाहिन्छन् ।” प्रशान्त आफ्नो स्पष्टीकरण दिन्छ, “आदिमाता, म बुद्ध वा जिसस हुन चाहन्न त्यसैले दुनियाँलाई प्रेम र करुणाको आँखाले हेर्न सक्दिनँ ।”

उपन्यासका घटनापपिच्छे प्रेम र अहमका वाक् युद्ध भैरहन्छन् । सबै आ–आफ्ना तर्कमा अडिग हुन्छन् । एकदिन, प्रशान्तकी प्राणप्यारी कुकुर्नी कसैले मारीदिन्छ । त्यसको वियोगमा प्रशान्त महिनौंदिन एउटा कोठामा थुनिएर मौन एकान्तवास गर्छ । त्यसपछि सम्पूर्ण बस्तीमै खैलाबैला मच्चिन्छ । सबैजना मार्थालाई गुर्हान पुग्छन् । मार्था रोईकराई गर्छिन, मौन एकान्तवास भङ्ग गर्न आग्रह गर्छिन् । त्यसपछि मार्थाले बस्ती छोडेर जान्छु भन्ने धम्की दिएपछि मात्र प्रशान्तले मार्थाको आज्ञालाई मान्छ ।
त्यस्तै केहीदिनपछि प्रशान्त मार्थालाई भेट्न विलम्ब गर्छ । ऊ कुष्ठरोगीहरुका सेवाका लागि जान्छ । डाक्टरहरुले सम्भावित अप्ठ्यारो अवस्था सिर्जना हुने आँकलनले रोगीहरुको नजिक नपर्न आग्रह गर्छन् । तर प्रशान्त यो कुरा मान्न तयार हुँदैन । मार्थाले पनि विनय चढाउँछिन् । सबैजना त्यस्तो घोषणा फिर्ता लिन आग्रह गर्छन् तर अहँ ऊ किञ्चित् टसमस हुँदैन । मार्था भोकहड्तालमा बसेर आत्मनिष्ठूर बन्छिन् । सबैतीर विरहको धुन बज्छ । सबैजना आफ्ना गुरुलाई दबाव दिन्छन्, मार्थाको कुरा मान्नलाई कर गर्छन् । तब मात्र गुरुले मार्थाको मागलाई शिरोधार्य गर्छ ।

यसरी यस्तो घटना परिस्थितिलाई विश्लेषण गर्दा दुवै जना एक–अर्कालाई हेरचाह गर्छन् तर त्यो प्रेममा फुल्न सक्दैन । प्रशान्तको अहम् कहिल्यै ढल्दैन । अन्त्यमा उसले मार्थालाई अरुकसैसँग विवाह गर्न आग्रह गर्छ । मार्था भन्छे, “...म तिमीलाई नै प्रेम गर्छु, त्यसैले सिर्फ तिमीसँग विवाह गर्न सक्छु । तिमीले अरुसित विवाह गर्ने सल्लाह दिएर मेरो प्रेमको अपमान कति ग¥यौ थाहा छ ?” प्रशान्त सोझै जवाफ फर्काउँछ, “आदिमाता, हजुर मलाई प्रेम गर्नुहुन्न, प्रेमको अवधारणालाई मात्र प्रेम गर्नुहुन्छ । हजुरले प्रत्येक शिक्षित व्यक्तिलेझै प्रेमको महानताबारे सुन्नुभएको छ, प्रेमको पवित्राबारे सुन्नुभएको छ, दिव्यताबारे सुन्नुभएको छ । हजुर यही महान, पवित्र, दिव्यप्रेमको अवधारणालाई प्रेम गर्नुहुन्छ । मलाई प्रेम गर्नुहुन्न । हामी प्रेमको नाटक खेल्न सक्छौँ, प्रेम गर्न सक्तैनौँ । कृपया, हृदयको यथार्थ सुन्नुहोस् ।”

अन्तःगोत्वा मार्था त्यो बस्ती छोडेर जान्छिन्, प्रशान्त उसलाई स–सम्मान विदा गर्छ । मार्थाको हृदय छिया–छिया हुन्छ अर्थात चिसो हुन्छ । उनी भन्छिन्, “मलाई एउटै कुराको दुःख छ–मैले प्रेम गरेर तिम्रो अहङ्कार मेट्न सकिनँ...तर मलाई विश्वास छ, एकदिन तिमी पछुताउनेछौ ।” तर प्रशान्तको अनुहारमा अलिकता पनि अहम् कम हुँदैन । न प्रेमको जीत हुन्छ, न त अहमकै ! उपन्यास सकिन्छ तर युद्ध अन्त्य हुँदैन ।
Share on :

1 Comments:

  1. अन्तःगोत्वा मार्था त्यो बस्ती छोडेर जान्छिन्, प्रशान्त उसलाई स–सम्मान विदा गर्छ । मार्थाको हृदय छिया–छिया हुन्छ अर्थात चिसो हुन्छ । उनी भन्छिन्, “मलाई एउटै कुराको दुःख छ–मैले प्रेम गरेर तिम्रो अहङ्कार मेट्न सकिनँ...तर मलाई विश्वास छ, एकदिन तिमी पछुताउनेछौ ।” तर प्रशान्तको अनुहारमा अलिकता पनि अहम् कम हुँदैन । न प्रेमको जीत हुन्छ, न त अहमकै ! उपन्यास सकिन्छ तर युद्ध अन्त्य हुँदैन ।

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- माथि 'Post a Comment' क्लिक गर्नुहोस् र तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

@ Mobile Version

 
© Copyright अनलाइन खसखस : Rajesh Natamsha's blog 2011 - सम्पूर्ण अधिकार ब्लग लेखकमा | Email me blogs.rajesh@gmail.com.