Saturday, January 21, 2012

धरानको रंगकर्म : विगतदेखि वर्तमानसम्म

  • राजेन्द्र रिमाल
गएको वर्ष धरानले नगरपालिका स्थापना भएको स्वर्ण महोत्सव मनायो, अर्थात् धरान नगरपालिकाको पचासौं वार्षिकोत्सव । तर धरानको विगत त्यति मात्र होइन । पौराणिककाल देखि नै यसको अस्तित्व रहेको छ । भारतवर्ष स्थापना हुनुभन्दा अघि रुद्राक्षारण्यको रुपमा दुनियाँमा प्रख्यात रहेको स्कन्द पुराणमा यसका बारेमा लेखिएका श्लोकहरुले त्यहीँ कुरा प्रमाणित गर्दछ । इतिहासमा पनि धरानको उल्लेखनीय स्थान रहेको छ । सेनवंशी राज्य विजयपुरको राजधानीको रुपमा पनि इतिहासमा यसले आफ्नो वर्चश्व राखेको कुरा त हामीले पढ्दै आइरहेका छौं । त्यसो त आधुनिक धरान स्थापना भएको नै सय वर्ष पुगेकोमा धरानले एक दशक अघि नै शतवार्षिक महोत्सव मनाइसकेको छ ।
धरानले रंगमञ्चमा नाटक गर्न थालेको नै झण्डै ७० वर्ष पुग्न लागेछ । तर धरानमा साँस्कृतिक गतिविधि हुन थालेको भने ९० साल भन्दा अघि देखि नै हो । पूर्वी पहाडको मुख्य बजारको रुपमा रहेको धरानमा पहाडका विभिन्न स्थानबाट किन्न र बेच्न आउने मानिसहरुले दिनभरी बजार भरेपछि साँझमा भानुचोकमा बसेर पालम, हाक्पारे, संगीनी, साकेला आदिको भाकामा रात बिताउने गरेको विगत हामीले कथा जस्तै सुन्ने गरेकै हौं । खासगरी चाडपर्वमा साँस्कृतिक गतिविधिहरु हुने गरेको थियो । धरानको प्रसिद्ध लाखे नाच ऊ बेला देखि नै परम्परागत रुपमा गरिदै आएको हो । त्यसैबेला जनैपुर्णिमा देखि कृष्ण अष्ठमी सम्म पुरुषलाई महिलाको भेष लगाएर ‘छौडा नाच’ गर्ने प्रचलन थियो ।

त्यो बेला नेपाली नाटक लेखनको परम्परा नभएको तथा भएको भए पनि उपलब्ध नहुनुले प्रारम्भमा हिन्दी नाटक मञ्चन गरिएको पाइएको छ । जसलाई भारतीय उपमहाद्वीपको प्रभावको रुपमा पनि बुभ्mन सकिन्छ । सात साल भन्दा अघि सम्म धरानमा हिन्दी नाटकहरुको मञ्चन भएको पाइन्छ । वि.सं. २००४ साल देखि धरानमा धार्मिक नाटकहरु हिन्दी भाषामा मञ्चन भएका थिए । जसमा ध्रुव, सत्यवान सावित्री, कलियुग जस्ता नाटकहरु थिए । सातसालको क्रान्तिपछि आएको ‘राष्ट्रवादी चेत’ ले धरानको रंगकर्मलाई पनि असर गरेको पाइन्छ । त्यसो त राजनैतिक दलहरुको अहिले पनि उत्तिकै ताजा विषय रहेको ‘१९५० को सन्धी’ लाई सारा देशले जयजयकार गरिरहेको बेला धरानले ‘दिल्ली सम्झौता धोका हो’ भनेर त्यहीबेला विद्रोह गरेकै हो । त्यसबेला राजा त्रिभुवनलाई कालो झण्डा देखाएर आफ्नो राजनैतिक चेतना र चरित्रको प्रदर्शन गर्दै राष्ट्रको पक्षमा उभिएकै हो ।


सातसालको क्रान्तिपछि धरानमा नेपाली नाटक मञ्चनको परम्परा सुरु भएको हो । २००८ सालमा आएर भिमनिधि तिवारीद्वारा लिखित नाटक ‘जीवन ज्योति’ को मञ्चन भएको थियो । चन्द्रशेखर श्रेष्ठले निर्देशन गर्नुभएको सो नाटकको सफल मञ्चनपछि धरानमा नाटक मञ्चनको बाढी नै आएको थियो । त्यसबेला किसान, सत्य हरिश्चन्द्र जस्ता नाटकहरुको मञ्चन भएका थिए । सातसाल अघिका अग्रज रंगकर्मीहरुमा सूर्यमान पलिखे, मोहन उदास, गुञ्जमान श्रेष्ठ, केदारनाथ श्रेष्ठ, किर्तिमान शाक्य, बाबुकाजी श्रेष्ठ, रमाकान्त खनाल, आदि हुनुहुन्थ्यो ।

सातसाल पछि धरानको रंगमञ्चमा शिलान्यास, भक्त प्रल्हाद, दोभान, जीवन ज्योति, अनमेल विवाह, मसान, भक्त भानुभक्त, पालो आउला, शंकर गर्जना, कृषिबाला, फाँसीबाट, पचास रुपैयाँको तमसुक, नायब राइटर जस्ता नाटक देखाइएका थिए । त्यसबेलाका अग्रज रंगकर्मीहरुमा चन्द्रशेखर श्रेष्ठ, मानबहादुर शाक्य, विष्णुकुमार ठकुरी (बिकेटी), जगदिश नेपाली, गोपालराज खनाल, रामचन्द्र नेपाली, राधा उदास, जगन्नाथ श्रेष्ठ, मोतीराज ताम्राकार, भीमराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, कृष्णबहादुर ताम्राकार, टिकाराज जोशी, यमबहादुर राई आदि हुनुहुन्छ । धरानको रंगकर्मले २००८ सालमै महिला रंगकर्मीहरु प्रस्तुत गरेको थियो । यहीँ अहिलेको भानुचोक मै मञ्च बनाएर गरिएको कार्यक्रममा सर्वप्रथम सुलोचना राई र कलावती राईले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

धरानको रंगकर्मको त्यो गति निकै समय निरन्तर भइरह्यो । त्यसबेला मञ्चन गरिएको ‘शिलान्यास’ नाटक यति चर्चित रह्यो कि बालकृष्ण सम धरान आएर सो नाटक हेर्नुभएको थियो । उक्त नाटकमा महिला कलाकारहरु देवकला शर्मा, नैनकला शर्मा, चन्द्रकला, र सीता शर्माले समेत अभिनय गर्नुभएको थियो । देशमै महिला कलाकारहरुको अभाव भएको बेला धरानमा प्रशस्त महिला कलाकारको सक्रियतालाई बालकृष्ण समले प्रशंसा गर्नुभएको नाटकका निर्देशक चन्दशेखर श्रेष्ठ स्मरण गर्नुहुन्छ । नाटकमा चन्दशेखर तथा मानबहादुर शाक्य, बिकेटी, पुरुषोत्तम खरेल, ईश्वर थापा, विष्णुमोहन पलिखे, हेमन्त अर्याल लगायतले अभिनय गर्नुभएको थियो । उक्त नाटकको चर्चा भएपछि काठमाण्डौमा समेत मञ्चन गराइयो । वि.सं. २०२२ पौष १ गते राष्ट्रिय नाचघरमा मञ्चन गरिएको सो नाटक जहाँ स्वयं राजा महेन्द्र आएर नाटक हेर्नुभएको थियो । त्यसबेला सरकारबाट यस्ता साँस्कृतिक समुहहरुलाई वार्षिक रुपमा १८ सय रुपैयाँ दिने गरिएको सम्झना गर्नुहुन्छ, चन्द्रशेखर श्रेष्ठ ।

त्यसपछि २०२३ साल पछि भने धरानको रंगकर्म सुस्ताएको देखिन्छ । बीचमा गोविन्द विकल, बसन्त थापा, लीला सुब्बा, आदि रंगकर्मीहरुले केही समय नाटक मञ्चनलाई निरन्तरता दिएको देखिन्छ । धराने रंगकर्मको विकास काल मानिएको यो समयमा गंगालालको चिता, मध्यरातको सडक, सारंगीको गीत, बौलाहाकाजीको सपना, मृत्यु पछिको चिहान, दोभान, अभाव र प्रभाव, भिन्नता, लंगडो मान्छे, तुवाँलोले ढाकेको बस्ती आदि जस्ता नाटक भएको पाइन्छ । यसले करिब २०३३ साल सम्म निरन्तरता पाएको देखिन्छ ।

त्यसपछि २०४१ सालमा आएर शारदा सुब्बाद्वारा लिखित नाटक ‘देउरालीमा एक थुंगा पूmल’ मञ्चन भएपछि धरानको रंगकर्मको आधुनिककाल शुरु भएको मानिन्छ । त्यसबेला सम्म असंगठित रुपमा रहेको धराने रंगकर्म २०४४ सालमा अनाम नाट्य जमातको स्थापना पछि भने एउटा गम्भीर ‘टर्निङ प्वाईन्ट’ मा पुगेको देखिन्छ । त्यसपछि रंगकर्मले संस्थागत स्वरुप पाएको थियो भने नाटकमा गम्भीरता, विचारको खोजी गर्न थालिएको थियो । नाटकको शैली, शिल्प, प्राविधिक दक्षता आदि जस्ता कुरामा राष्ट्रिय र अन्र्तराष्ट्रिय अनुभवको खोजी हुन थाल्यो । जसले धरानलाई आजको अवस्था सम्म आइपुग्न मद्दत पु¥यायो । त्यसपछि धरानमा दर्जनभन्दा बढी नाट्य तथा साँस्कृतिक समुहहरुले धरानलाई साँस्कृतिक रुपमा समृद्ध शहरको रुपमा छुट्टै परिचय स्थापित गराएका छन् ।

यो अवधिमा गरिएका म, प्रियसी, नानीहरु मिसाईल .०, नाटकहरुको नाटक, समानान्तर, नीलो पीडा, सारा मेरा सन्तान, दमनको राप, उसको कवितामा अब को रुदैन, रामायणको अर्को पृष्ठ, परिवन्द, सन्ध्या सारस, अतिथि यातना, कालचक्र, आदि विनाको अन्त्य, यिनीहरु देश खोजिरहेका छन्, फेरि अर्को लंका ध्वस्त हुँदैछ, गोलाद्र्धको कालो आकाश, अनादिक्रम, अघोषित, अन्धाको हात्ती जस्ता सयौं नाटकको हजारौं प्रदर्शन गरिएका छन् । यो कालखण्डमा राजकुमार मादेन, प्रेम सुब्बा, राज थापा, मधुकर खडका, दीपक बस्नेत, विसन मानन्धर, तपन सरकार, साज सिंह, जे.बी. सुब्बा, नवीन सुब्बा, राम क्षितिज, मिलन राई, शारदा शाक्य, भुमा सुब्बा, शिवानी राई, सरस्वती राई, मालती राई, शोभा सुब्बा, शारदा सुब्बा, शशी सुब्बा, विनोद श्रेष्ठ, राजेन्द्र रिमाल, विशाल भण्डारी, सन्तोष थेबे, सुवास थापा, अल्पना कर्माचार्य, विजय सुब्बा, वीरेन भुजेल ‘रिकी’, गोपाल देवान, ऋतिका सुब्बा, समीप हाङबाङ, संगीता लामा, संगीता शाही, अप्सरा खड्का, आशा मगराती, सरस्वती महन्त, उषा थापा, प्रवीण राई, सुवास अधिकारी, सोमा अधिकारी, नवीन मेयाङबो, सौगात रिजाल, सुवर्ण पलिखे आदि महत्वपूर्ण छन् । त्यसो त यो नामावली धेरै लामो हुन सक्छ, म सहकर्मी साथीहरुसँग क्षमायाचना गर्न चाहन्छु ।

धरान नगरपालिका ‘खोल्न’ (स्थापना) का लागि भागवतगोविन्द श्रेष्ठको नेतृत्वमा भएको पहलको सहयात्रीहरुमा त्यसबेलाका रंगकर्मीहरुको पनि महत्वपूर्ण योगदान रहेको छ । जसमा विष्णुकुमार ठकुरी (बिकेटी), माणिकलाल श्रेष्ठ, चन्द्रशेखर श्रेष्ठ आदि उल्लेख्य नामहरु हुन् ।
स्थापनाको हिसाबले धराने रंगकर्म धरान नगरपालिका भन्दा प्राचीन हो । अझ कला, साहित्य, संस्कृति, शिक्षा, आदि लगायतको सक्रियताले नै धरानलाई नगरपालिका घोषणा गर्न थप मद्दत मिलेको भन्दा अत्युक्ति नहोला ।

धरानले आफ्नो उन्नति आफै गरेको छ । सफलताको उचाई सम्म पुग्न आवश्यक खुडकिलो आफैँ तयार गरेको छ । यसलाई राज्यको तर्फबाट प्रदान गर्नुपर्ने केही प्राप्त भएको छैन भन्दा पनि हुन्छ । ठीक त्यसैगरि धरानको रंगकर्मले पनि आफ्नो उचाई आफँै प्राप्त गरेको छ । त्यो सफलता प्राप्त गर्नका लागि अगाडि आइपर्ने पीडालाई सर्लक्कै पिएको छ, आगो माथिबाट हिँडेको छ, नदीको सतहबाट बगेको छ । तर त्यसका लागि यहाँका रंगकर्मीहरुले ‘उफ्’ सम्म गरेका छैनन् ।
क्रिस्टोफर कोलम्बस अथवा भास्को डिगामाले जस्तै धराने रंगकर्मले पनि यही भूगोल मात्र होइन धेरै टाढा टाढा सम्म आफ्नो पाइला टेकेको छ । त्यो पाइला सँगसँगै सुवास पनि फैलाएको छ । जसको सुगन्धमा हामी सबै धराने लुटुपुटु हुने गरेका पनि छौं । र सदा गौरव पनि गर्दछौं ।

रंगकर्म, संस्कृतिकर्मको क्यानभास अत्यन्तै विशाल हुने भएकोले त्यसको विशालता, त्यसको गम्भीरता, त्यसको प्रभावकारितालाई धरान नगरपालिका लगायत स्थानीय निकायले बुझ्नै नसकेको भान हुन्छ अहिले सम्म । र, त्यो हामीले होइन वार्षिक रुपमा विनियोजन हुने स्थानीय बजेटले नै जगजाहेर गर्ने गरेको छ । रंगकर्म, कला, साहित्य, संस्कृति नभएको मानिस सिङ र पुच्छर नभएको जनावर बराबर हो भनेर भन्ने गरिएको छ । अतः नीति तथा कार्यक्रम र बजेटले उपरोक्त कुरालाई प्रमाणित नगरोस भन्ने तर्फ सबै सचेत हुन जरुरी छ ।

धरान जानेर नजानेर पूर्वाञ्चलको केन्द्र रहदै आएको छ । कला, संस्कृतिकर्म, रंगकर्म, साहित्यकर्म, चलचित्रकर्म, खेलकुद जस्ता राष्ट्रलाई विश्वसामु गौरवपूर्ण इज्जत दिलाउने क्षेत्रलाई नजरअन्दाज नगर्ने हो भने हाम्रो शहरको उत्कृष्टतालाई कसैले खोसेर लैजान सक्ने छैन ।
(लेखक अनाम धरानको अध्यक्ष हुन् ।)
Share on :

0 Comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- माथि 'Post a Comment' क्लिक गर्नुहोस् र तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

@ Mobile Version

 
© Copyright अनलाइन खसखस : Rajesh Natamsha's blog 2011 - सम्पूर्ण अधिकार ब्लग लेखकमा | Email me blogs.rajesh@gmail.com.