- टेकनाथ सापकोटा
सहरी क्षेत्रको तीव्र विकास हुँदै गरेको विकासोन्मुख देश नेपालका विभिन्न बजार केन्द्रहरु क्रमशः आज सहरीकरणतर्पm उन्मुख हुँदै गएका छन । यसै क्रममा २०५३ सालको माघ महिनामा तत्ककालीन श्री ५ को सरकारको निर्णय अनुसार नगरपालिकामा रुपान्तरण भएको इटहरीले २०५४ साल श्रावण महिना देखि सहरी सेवा प्रवाहको शुरुवात गरी हाल एक तीव्र सहरीकरण भएको नगरको रुपमा परिचित रहेको छ । ४२ दशमलव ३७ हेक्टर क्षेत्रफलमा पैmलिएर रहेको यो नगर पूर्वाञ्चलको व्यापारिक केन्द्रको रुपमा विकसीत हुँदै गएको छ । २०४८ सालमा २१ हजारको हाराहारीमा मानिस बसोबास गर्ने यस स्थानलाई २०५८ सम्म आइ पुग्दा ४१ हजार मानिसले उचित बासस्थानको रुपमा लिएको र पछिल्लो २०६८ को जनगणनाको आधारमा यो नगर ८० हजार नगरबासीको साझा नगरको रुपमा स्थापित भएको छ ।
भौगोलिक हिसाबले समथर भूमी भएको इटहरी समद्री सतहबाट ११६ देखि १६४ मिटरसम्मको उचाईमा रहेको छ भने यहाँको अधिकांस जमिन कृषि उर्वर जमिनको रुपमा रहेको भए पनि पछिल्लो सहरीकरणको लहरसँगै आवास प्रयोजनका लागि यहाँको भूमी अधिकतम प्रयोग हुन थालेको छ । पूर्वमा बुढी खोला मोरङ जिल्ला, पश्चिममा हर्दिया खोला हाँसपोसा र पकली गाबिस सुनसरी, उत्तरमा चारकोसे झाडी धरान नगरपालिका सुनसरी, तथा दक्षिणमा खनार र एकम्बा गा.वि.स. सुनसरीले घेरिएर रहेको इटहरी पूर्व पश्चिम र उत्तर दक्षिण दौडिएका राष्ट्रिय राजमार्गले आपसमा मिलनविन्दू बनाएर गएको स्थानमा रहेको छ । जम्मा नौ वटा वडामा विभाजित यो सहर भौतिक पूर्वाधार निर्माणमा नै लगानीलाई केन्द्रिकृत गरेको अवस्थामा रहेको छ । विभिन्न २१ जातजातिको बसोबास रहेको इटहरी मिस्रित जातजातिको साझा थलो हो । शिक्षा, स्वास्थ्य, रोजगारको सहज पहुँच भएको सहरको रुपमा पनि यो सहरलाई लिन सकिन्छ । इटहरी बाट १८ किलोमिटर उत्तरमा रहेको धरानमा विज्ञान, इन्जिनियरिंङ तथा व्यवस्थापन लागायत अन्य विषयको स्नातक तथा स्नातकोत्तर सम्मको शिक्षा इटहरीमा नै बसेर लिन सकिन्छ भने २२ कि.मि. दक्षिणमा रहेको विराटनगर पनि स्नात्तकोत्तर सम्मको शिक्षा हासील गर्न सकिने स्थानको रुपमा रहेको छ । त्यसै गरी पछिल्लो विकास क्रमसँगै स्नातक तथा स्नाकोत्तर तह सम्मको उच्च शिक्षा प्रदान गर्ने गरी इटहरीमा नै पनि सामुदायिक तथा निजी शैक्षिक संस्थाहरु सञ्चालनमा रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी अञ्चल अस्पतालको सेवा इटहरीले सहजै लिन सक्दछ भने इटहरीसँगै जोडिएर विराटनगर सम्म पैmलिएको औद्योगिक करिडरले हजारौको संख्यामा रोजगारीको अवसर प्रदान गरिरहेको छ ।
पूर्व पश्चिम तथा उत्तर दक्षिण राष्ट्रिय राजमार्गको मिलनविन्दूमा रहेको सहर इटहरीबाट नेपाल भरी स्थल मार्गबाट यात्रा गर्नका लागि सार्वजनिक यातायातको साधनको सहज पहुँच रहेको छ भने १८ कि.मि.को दूरीमा रहेको विमान स्थलको प्रयोग गरी पूर्वी पहाडका विभिन्न स्थान र काठमाण्डौको यात्रा गर्न सकिन्छ जहाँबाट दैनिक विभिन्न जहाज कम्पनीले लगभग २५ वटा उडान भर्ने गर्दछन । यातायातको सहज पहुँच भएबाट यो सहर बसोबास योग्य सहरको रुपमा स्थापित हुँदै गएको तथ्य यहाँको तीव्र जनसंख्या वृदिदरले पनि पुष्टि गर्दछ । यस आधारमा बसोबास योग्य सहर यसको प्रमुख विशेषता रहेको छ भने विस्तारीत औद्योगिक करिडरले सिर्जना गरेको रोजगारीको अवसरले रोजगार मुलक सहरको रुपमा पनि इटहरीलाई लिन सकिन्छ । त्यसैगरी मिश्रित जातजातिको थलोको रुपमा रहेको इटहरी जन परिचालन र सहभागिताको सहरको रुपमा समेत स्थापित हुँदै गएको छ । यहाँका अधिकांस आर्थिक भौतिक पूर्वाधार विकास कार्यहरु स्थानीयबासीको प्रत्यक्ष र सक्रिय सहभागितामा हुने गरेकाले नै यहाँको भौतिक पूर्वाधार विकासमा तीव्रता रहेको छ । स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले नगरबासीको मागलाई सम्बोधन गर्नका लागि सदैव स्रोत अभाव रहेको कुरा व्यक्त गरिरहेको छ भने जन सहभागितामा सञ्चालन गरिने भौतिक पूर्वाधारका कार्यक्रमहरुको लामै सूची नगरपालिकामा पालो पर्खाइमा बसीरहेका छन । यसरी हेर्दा यातायातको सहज पहुँच, रोजगारीको अवसर तथा सक्रिय जन सहभागिता नगरका प्रमुख विशेषताका रुपमा रहेका छन् । अर्को लुकेर बसेको इटहरीको विशेषतामा पूर्वाञ्चल पर्यटनको आधार क्षेत्रको रुपमा समेत इटहरी रहेको छ । यसको पुष्टि चाहे काव्यको सिर्जनाका लागि तयार गरिएको काव्यवाटिका होस् वा सीमसार तथा पार्कको रुपमा स्थापित गरिएको तालतलैया क्षेत्र होस या त इटहरीमा बढदै गएको होटल व्यवसाय र यहाँबाट यात्रा गर्ने र इटहरीमा रात बसी अन्य क्षेत्रको भ्रमण गर्ने जनसंख्या होस् सबै पर्यटनको विकासले निम्त्याएको पूर्वाधारहरु हुन । इटहरीबाट पूर्वमा इलामको चिया बगान हुँदै भारतको दार्जेलिङ तथा सिक्किम सम्म, उत्तरमा भेडेटार, धनकुटा, तेह्रथुम, संखुवासभा तथा गुराँसको राजधानी तिनजुरे मिल्के सम्मको दृश्यावलोकन गर्न तथा पश्चिममा कोशीटप्पु वन्य जन्तु आरक्षणको अवलोकन गर्न इटहरीमा नै बसेर सम्भव छ । यस आधारमा इटहरी पूर्वको पर्यटकीय आधार क्षेत्रको रुपमा समेत रहेको छ ।
विकासोन्मुख मुलुकहरुको पहिलो विकासको मुद्दा नै भौतिक पूर्वाधार हो भौतिक विकासलाइ नै विकासको प्रमुख सूचक मान्ने हाम्रो समुदायमा अन्य विकासका पाटाहरु ओझलमा पर्ने नै भए किनकी विकास भनेको जनताको माग हो । त्यसैले इटहरीले पनि वर्तमान अवस्थामा भौतिक विकासलाई प्रमुख मुद्दा बनाएको छ । भौतिक विकासमा साझेदारीताको रणनीति नगरपालिकाले अवलम्वन गरेको पाइन्छ भने नगरबासीले पनि यस रणनीतिमा साथ दिएको पाइन्छ । तुलनात्मक रुपमा केन्द्रिय लगानी न्यून रहेको इटहरीमा स्थानीय लगानी उच्चतम् रहेको छ । परिणामतः इटहरीका सडकहरु बिस्तारै उच्चस्तरमा परिणत हुँदै गएका छन चाहे कालो पत्रे निर्माण बाट होस् या त व्यवस्थित उच्च स्तरीय ग्राभेल गर्ने कार्य गरेर नै होस् ।
सहरी सेवाका लागि न्यूनतम आधाभूत पूर्वाधार विकसित हुँदै गएको इटहरी औद्योगिक अवसर पनि बोकेको सहर भए बाटै पनि होला यो सहरलाई वर्षेनी बासस्थानको रुपमा रोज्ने जनसंख्या वृद्विदर उच्च रहेको छ । एकातिर ठूलो सहरको सूचकको रुपमा जनसंख्या धेरै हुनुलाई लिइन्छ भने विकासका दृष्टिकोणले यो नकारात्मक सूचक हो तथापी अधिकतम जनसंख्या वृद्विले इटहरीलाई बसोबास योग्य सहरको रुपमा स्थापित गर्दै गएको छ । यहाँ बाट पूर्वाञ्चलका १६ वटै जिल्लामा व्यवसायिक कारोवार सञ्चालन गर्न सकिने भएकोले पनि यो नगर व्यापारिक तथा बसोबास योग्य नगरको रुपमा आज स्थापित हुँदै आएको छ ।
लगभग डेढ दशकको सहरी विकासको इतिहास बोकेको इटहरीले विकासलाई तीव्र गतिमा अगाडी बढाइरहेको भए पनि यसका सामु केही चुनौतिहरु पनि रहेका छन् । इटहरीको प्रमुख चुनौतिको रुपमा योजनावद्ध विकासको अभाव नै रहेको छ । इटहरीलाई भविष्यमा कुन रुपमा स्थापित गर्ने ? यसको भूउपयोगको स्थित कस्तो हुने ? इटहरीको पहिचान के हुने ? भौतिक पूर्वाधार विकासलाई कसरी अगाडी बढाउने ? नगर र नगरबासीको आयलाई कसरी वृद्धि गर्ने ? नगर बासीको लागि सामाजिक सुरक्षाका कार्यक्रमहरु कसरी सञ्चालन गर्ने ? अधिकतम सहरी सुविधा कसरी प्रदान गर्ने ? जस्ता अनगिन्ती प्रश्नको उत्तर आज पनि इटहरीसँग छैन । हामी इटहरीबासीहरु र इटहरीलाई विकास गर्नका लागि प्रमुख जिम्मेवारी लिएका स्थानीय राजनीतिक दलहरु कसैसँग पनि यसको स्पष्ट जवाफ र कार्यायोजना नभएको स्पष्ट छ । हामी वर्तमानमा जे आउँछ त्यसको समाधान गर्दै अगाडी बढिरहेका छौं जसले योजना वृद्वि–विकासलाई पुष्टि गर्दैन । योजनबद्ध विकास नहुँदा भविष्यको आवश्यकता नहेरी भौतिक पूर्वाधार तयार हुने र भविष्यमा उक्त पूर्वाधार अभाव हुँदा त्यसले आवश्यकता अनुसारको सेवा दिन नसक्ने भइ निकम्मा हुन सक्ने भएकोले आजको लगानी भोलि निरर्थक हुन सक्ने सम्भावना इटहरीको सामु रहेको छ । भावीपिँढीले नधिक्कार्ने गरी पूर्वाधार निर्माण गर्न सकिएमा मात्र दिर्घकालीन र दिगो हुने भएकोले इटहरीले योजनाबद्ध विकासलाई अँगाल्नु पर्ने समय सीमा आरम्भ भइसकेको छ । पछिल्लो कालमा विकसित भएको सहर भएकोले पनि यो सहर योजनाबद्ध सहर हुन आवश्यक छ । इटहरीको प्रमुख समस्या या चुनौतिको रुपमा योजनाबद्ध विकास प्रणाली नहुनु नै रहेको छ ।
इटहरी पूर्वको उदियमान नगर हुनुको साथै यो उत्तरमा धरान र दक्षिणमा विराटनगर जस्ता पूराना सहरहरुकोबीचमा रहेको नवसहर पनि हो यो यथार्थतालाई इटहरीले महसुस गर्नै पर्छ । त्यसैगरी पूर्वाञ्चलको आवागमनको प्रमुख स्थलको रुपमा समेत इटहरी रहेको तथ्यलाई हृदयङ्गम गरी इटहरीले आफ्नो पहिचान स्थापित गर्नेतर्पm आजैका मितिबाट कार्य थालनी गर्नु जरुरी छ । जुन कुरा इटहरीको योजनाबद्ध विकासले आगाडी सारोस् र कार्यान्वयनको सफलता समेत मिलोस । यसरी योजना निर्माण गर्दा वर्तमानमा इटहरीले सोचेको बसोबासयोग्य नगर होस् वा पर्यटनको आधार क्षेत्र, या त व्यापारिक केन्द्र वा कृषि–गैर कृषि उद्यमीको सहर वा साँस्कृतिक विविधताको सहर के बनाउने हो त्यसतर्पm ध्यान जान जरुरी छ । इटहरीले आपूmलाई समुन्नत सहर निर्माण गर्ने हो भने आर्थिक विकासका क्षेत्रमा अत्यधिक कार्य गर्नुपर्ने हुन्छ । फलफूल तथा जडिबुटीको भण्डार साथै जैविक उत्पादन क्षेत्रको रुपमा रहेको पूर्वी पहाड र हिमालसँग इटहरीको सहज पहुँच रहेको अवस्थामा त्यसतर्पm योजनाबद्ध ढङ्गले लाग्ने हो भने इटहरीको विकासमा छिटो र उल्लेख्य कार्य गर्न सकिन्छ ।
वर्तमानमा इटहरी अव्यवस्थित सहरको रुपमा दिन प्रतिदिन परिचित हुने सूचकहरु बृद्धि हुँदै गएको अवस्था एकातर्पm रहेको छ भने अर्को जटिलताको रुपमा योजनाबद्ध विकासको पूर्ण अभाव इटहरीमा रहेको छ । यी दुवै कुराहरु इटहरीको भविष्यका लागि नकारात्मक, अव्यवस्थित र चुनौति पूर्ण विषय हुन । वास्तवमा इटहरी भौगोलिक रुपमा सहज स्थान, स्थानीयबासीको विकास प्रतिको तीव्र चाहना भएको सहर भए पनि यसले त्यस्ता विकासका संवाहकलाई पूँजीको रुपमा उपयोग गर्न सकेको छैन । पछिल्लो समयमा विकास भएको राजनैतिक अस्थिरताको असर स्थानीय निकायहरुमा सोझै परेको अवस्था छ । सिद्धान्तः जनप्रतिनिधीले सञ्चालन गर्नुपर्ने निकाय विगत दश वर्ष देखि जन प्रतिनिधीविहीन अवस्थाबाट गुज्रिरहेको छ । यसको परिणाम पनि योजनाबद्ध विकास प्रणालीको स्थापना हुन नसकेको हो तथापी समयले कसैलाई पनि पर्खदैन स्थानीय स्तरमा गर्न सकिने कार्यहरु सञ्चालनमा सबैको ध्यान जान जरुरी छ ।
सुशासनको एक आधारको रुपमा योजनाबद्ध विकास पनि हो । योजनाबद्ध विकासले नगरको भविष्यलाई वर्तमानमा नै चित्रण गर्ने भएको हुनाले कार्यसम्पादन प्रति उच्च मनोबल सिर्जना गर्दछ साथै मापन योग्य विकास हुने भएकोले यसले नगरबासीमा थप उर्जा र उत्साह समेत थप्दछ परिणामत विकासका मार्गहरु अझ प्रशस्त भएर जाने भएको हुनाले यसलाई इटहरीले प्राथमिकतामा राख्नै पर्दछ ।
इटहरीले आधारभूत सहरी सेवा खानेपानी, ढल, सरसफाईका क्षेत्रमा कार्य गर्दै आर्थिक सक्रियताको सहरको रुपमा आफूलाई उभ्याउनको लागि उद्यमशीलताको सहरको रुपमा विकसित गराउन जरुरी छ । किनकी इटहरीले अब शैक्षिक संस्था वा अस्पतालको सहरको रुपमा आफूलाई निर्माण गर्न कठिन छ । यसले त व्यापारिक र व्यवसायिक सहरको रुपमा आफूलाई स्थापित गर्नेतर्पm ध्यान दिन सकेको अवस्थामा नगरले चाडै विकास गर्न सक्नेछ । यसका लागि नगरपालिकाको योजनाहरु पनि औद्योगिक विकासतर्पm उन्मुख गराई नीजि तथा सामुदायिक लगानीलाई समेत यस तर्पm लान जरुरी छ । यसले समग्र इटहरी र इटहरी बासीको उज्यालो भविष्य स्थापित गर्न सहयोग गर्न सक्छ ।



0 Comments:
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- माथि 'Post a Comment' क्लिक गर्नुहोस् र तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!
@ Mobile Version